केही मान्छेको हाइफाइ देख्दा दिक्क लाग्छ

  • चन्दा थापा (चन्द्रिका), प्रबन्ध सम्पादक, ऐक्यबद्धता मासिक पत्रिका

काठमाडौंमा बसेर समाजसेवा गर्ने कुरा त राम्रो हो, तर त्यही नाममा ढोँग रच्ने क्रियाकलाप पनि हुँदोरहेछ भन्नका लागि एउटा प्रमाण बन्यो, कञ्चन रेग्मी प्रकरण । भएको भन्दा बिल्कुलै फरक ढंगले प्रस्तुत गरिदिएर जसरी दीक्षा चापागाईंले कञ्चनको स्याहार वा उनको न्यायका लागि याचना गराइन्, परिणाम उल्टो भयो । नभएको विषय र प्रसंगलाई मिडियामा उछालेर कञ्चनको नाममा मिडियाबाजी चलाइँदा वर्षौंको मेहेनतले आर्जित सञ्चारकर्मी सुमन खरेलको उच्चप्रतिष्ठित छवि ध्वस्त बनेको छ । कान्तिपुरको कुरै भएन, बेला–बेला यस्ता सन्दर्भलाई चाहिनेभन्दा बढी उछाल्दै आएका घटना छन् । खासमा कञ्चनलाई शुरुमा भेट्ने र दीक्षाकहाँ पठाइदिने व्यक्ति हुन्, ऐक्यबद्धता मासिककी प्रबन्ध सम्पादक चन्दा थापा (चन्द्रिका) । उनले मर्निङवाकका क्रममा सडकपेटीमा भेटेकी, दीक्षासँग सम्पर्क भएपछि उनको साथ लगाएकी थिइन् । तर, स्वयं चन्दा अचम्ममा परिन्, जब उनै महिलालाई कुनै फोहोरको डंगुरमा लगेर फोटो खिचिएको र त्यहाँबाट दीक्षाले भेटेर लगेकोजस्ता बनावटी सन्दर्भ प्रचारमा ल्याइयो । हुँदाहुँदा उनको ‘सेन्टिमेन्ट’ भन्दै सुमन खरेललाई प्रभावित पारी कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता प्रशारण गराइन् । अर्कैले लेखेको कविता आफँैले लेखेको भनी वाचन गर्न लगाएर, अनि पूर्वपति र परिवारसँग भएको भन्दा फरक ढंगले सम्बन्धको बयान गराइयो ।

कथाहरु मान्छेपिच्छे फरक–फरक हुन्छन् । चन्दा थापा (चन्द्रिका) पनि असिमित पीडाका कथाले भरिएकी महिला हुन् । पति यही धर्तिमा जीवित हुँदाहुँदै उनी पनि एकल महिला हुन् । उनी ‘एकल महिला’, ‘बेसहारा’, ‘हिंसा’, ‘यातना’ जस्ता शब्द आफ्ना हकमा प्रस्तुत गर्न रुचाउँदिनन् । अर्थात्, गर्न सके कोही एकल हुँदैन, कोही बेसहारा हुँदैन भन्ने मान्यतासाथ चन्दाको जीवनको यात्रा जारी छ । पाल्पाबाट बम्बई हुँदै खाडी मुलुक ओमन, फेरि पाल्पा, काठमाडौं हुँदै उनले गरेका संघर्षका कथा पनि कम दर्दनाक छैनन् । उनी ‘कृषि व्यवसायिकरणको राष्ट्रिय जागरण, समृद्ध नेपालको लागि’ भन्ने नाराका साथ स्थापित ‘अष्ट ज अभियान’ की सचिव पनि हुन् ।
० कञ्चनलाई कसरी भेट्नुभएको ?

– हाम्रो सम्पादक मीना तिवारी र म सधैँ मर्निङवाक जान्छौँ । त्यही सिलसिलामा भेटेको हो ।

० कस्तो अवस्थामा ?

– हामी वाकिङबाट फर्किंदै थियौँ । सम्पादकजी कालोपुलबाट ओरालो लाग्दै आफ्नो कोठातिर जानुभयो । म पनि मेरैतिर जाँदै थिएँ । तर, ज्ञानेश्वरको ग्लोबल र बैंक अफ काठमाण्डू भएको ठाउँको मुनि पुग्दा कोही महिला सडक पेटीमा बसिरहेको देखेँ । पानी परिरहेको, चिसो मौसम । मैले नजर लगाएपछि उहाँ पनि मलाई देखेर मुसुक्क हाँस्नुभयो । यसबाट मभित्र भएको मानवीयता पलायो । सोचेँ, ‘यस्ती महिलाका लागि केही त गर्नैपर्छ ।’ अनि सोधेँ, ‘चिया पिउनुहुन्छ ?’ उहाँले ‘हुन्छ’ भन्नुभयो र छेउमै चिया बेच्न बस्नुभएकी दिदीलाई चिया अर्डर गरेँ । चिया पिउँदै कुरा गरेँ । उहाँको कुरा सुन्दै गएँ । पेशाले नर्स, सडकमा आउनुभा’छ, कुरा सुन्दै जाँदा अचम्म लाग्दै गयो । उहाँजस्तो स्थितिको मान्छे सडकमा आएको घटना कमै सुनेको छु । राम्रै बोल्नुहुन्छ, सबै कुरा सम्झिनुहुन्छ, तर बास छ सडकमा † यसपछि उहाँलाई यस्तो सडक पेटीमा बस्न दिनुहुँदैन भन्ने लाग्यो ।

० अनि के गर्नुभयो त ?

– काठमाडौंमा असहाय महिला र बालबालिकाको राहत, पुनस्र्थापनाको काम गर्ने थुप्रै संस्था छन् भन्ने सुनेकी थिएँ । तर, सम्पर्क खासै थिएन । फेसबुकमा दीक्षा चापागाईंका अपडेटहरु हेर्थें । मानवीयताका कामहरु गर्ने फोटोले आकर्षित गरेको थियो । तर, मसँग नम्बर थिएन । कसैलाई सोधुँ, मेरो नोकिया मोबाइलको सेट एकदमै काम नलाग्ने भएको थियो । पुरानो, त्यसमाथि कतैबाट फोन नआई डिस्प्ले अन पनि नहुने । अफिसको नम्बरमा फोन गरेँ । फर्सुराम भुर्तेल भाइ हुनुहुँदोरहेछ । उहाँसँग दीक्षाको नम्बर मागेँ । उहाँले फेसबुकबाट हेरेर दिनुभयो र फोन गरेँ ।

० के भन्नुभयो ?

– उहाँलाई अलिकति काउन्सिलिङको आवश्यकता छ । भोलि ठीक हुनुभयो भने तपाईंकै आश्रममा बच्चाहरुको रेखदेख पनि गर्नुहोला, अथवा यत्तिको शिक्षित मान्छे हुनुहुन्छ, त्यसैले केही न केही उपाय निस्किहाल्छ भनेँ । उहाँले भन्नुभयो, ‘हुन्छ, म एकछिन बिजी छु । पछि आउँछु !’ साढे सात बजे घर पुगिसक्नुपर्ने थियो । किनभने, भदालाई स्कुल पठाउनुपथ्र्यो र दूध लिएर सबैलाई चिया खुवाउनुपथ्र्यो । दीक्षाले एक घण्टाजति लाग्छ भन्नुभयो । मैले घरमा फोन गरेर ढिलो हुन्छ भनेँ, अनि दीक्षालाई त्यहीँ नै कुरेँ । त्यसबीच मैले चिया पसले दिदीलाई मेरो मोबाइलमा फोन गर्न लगाएर डिस्प्ले अन गरेँ र कञ्चन दिदीको फोटो खिचेँ । तर, त्यसबीचमा पनि उहाँ ‘म जान्छु । एकछिन त्यहाँ जानुछ’ भन्दै भाग्न खोज्दै हुनुहुन्थ्यो । मैले दीक्षालाई बोलाइसकेको थिएँ । त्यसैले ‘नजानुस्’ भनेँ । पछि कुरा बुझ्दा उहाँलाई सिगरेट पिउन मन लागेको रहेछ । अलि परको पसलमा गएर सिगरेट माग्नुभयो । तर, सबैले चिन्ने र खिसी गर्दा रहेछन् । किनभने, जहाँ बस्यो, त्यहीँ पिसाब फेर्ने, फोहोर गर्ने गर्नुहुँदोरहेछ । चुरोट किनिदिएँ । उहाँले पिउनुभयो । पकौडा किनिदिएँ, त्यो पनि खानुभयो । ७०–८० रुपैयाँको चकलेट पनि किनिदिएँ । किनभने, दीक्षाकहाँ त केटाकेटी बस्छन् । बाँकी रहेको चक्लेट त्यहाँ बाडिदिनुस् भनेर किनेकी । ग्लोबल बैंकको गार्ड दाइसँग कलम मागेर कञ्चन दिदीको बारेमा अलिकति जानकारी टिपेँ । त्यसबीचमा ट्याक्सी चढेर दीक्षा आइपुगिन् । उनले ‘मसँग त ट्याक्सी भाडा पनि छैन’ भनिन् । उनले त्यसो भन्छिन् भन्ने मलाई थाहा थियो । मर्निङवाक हिँड्दा खासै पैसा बोक्ने गरिँदैन । तर, मैले चाहिँ त्यसदिन दूध र सागसब्जी पनि किनेर लैजानुपर्ने थियो । त्यसैले पाँच सय बोकेकी थिएँ । खर्च भएर बचेको सबै पैसा दीक्षालाई दिएँ ।
० त्यसपछि सम्पर्क भएन ?

– दीक्षाले १०–१५ दिनपछि ‘त्यो दिदी त कहाँ जानुभयो–कहाँ’ भनेर फोन गरिन् । मलाई त थाहा भएन भनेँ । पछि भेटेर ल्याएँ भनिन् ।
० तर, उहाँलाई त दीक्षाले फोहोरको डंगुरबाट उठाएको प्रचार गरियो नि !

– उहाँलाई शुरुमा मैले भेटेकी हुँ । मैले भेट्दा उहाँ सडकको पेटीमै हुनुहुन्थ्यो । त्यो पेटीमा कुनै फोहोरको डंगुर पनि थिएन । सफा थियो । कतिपय साथीहरुले ‘पेटी पनि कहीँ सफा हुन्छ ? महलमा बस्नेलाई के थाहा ?’ भनेर मेरो खिस्सी उडाए । तर, पछि फोहोरको डंगुर–संगुर के–के भनियो, यसबारे मलाई केही थाहा छैन ।

० किन त्यस्तो भनियो होला ?

– समाजसेवाको नाममा अरुलाई भ्रममा पार्नु हुन्थेन । उनले गरेको समाजसेवाप्रति हाम्रो सम्मान छ । घरमा एउटा मान्छे बिरामी भयो भने त हामी यथेष्ट सेवा गर्न सकिरहेका हुँदैनौँ भने उनले त कहाँ–कहाँको मान्छेलाई लगेर सेवा गरेकी छन् भनेर उनको प्रशंसा गथ्र्यौं । तर, हाम्रो विश्वासभन्दा अलिक फरक रहेछ ।

० सुमन खरेलजस्ता दिग्गज सञ्चारकर्मी पनि कसरी भ्रममा पर्नुभएछ त ?

– मैले कञ्चन दिदीलाई भेटेर सोध्ने मौका पाएको छैन, कि किन यस्तो गरियो भन्नेबारे । तर, हामीले सुनेअनुसार सुमन खरेल सरको पनि आफ्नो पीडा छ । उहाँकी छोरी स्मारिकाको अवस्था अलिक फरक किसिमको छ । शायद, यस्तै–यस्तै सेन्टिमेन्टका कुरा गरेर उहाँलाई छिटो प्रभावित पारियो होला । तर, उहाँले पनि यति छिटो कञ्चन दिदीको अन्तर्वार्ता वा उहाँको बारेमा कान्तिपुर टेलिभिजनजस्तो सबभन्दा बढी हेरिने च्यानलमा कुनै विषय प्रस्तुत गर्नु हुन्थेन । उहाँ बढी नै भावुक हुनुभयो र हतारो गरेर बाहिर ल्याउनुभयो । त्यसबाट कञ्चन दिदीको श्रीमान् र उहाँको परिवारमा पनि समस्या प¥यो । म त्यता जान्नँ । तर, हाम्रो काम राम्रो गर्ने हो । एउटालाई राम्रो गर्दा अर्कोलाई नराम्रो बनाउने काम कसैले गर्नुहुँदैन । त्यसैले जे कुरा पनि गर्नुअघि त्यसको राम्रो र नराम्रो, सही वा गलत के हो भन्ने कुराको निक्र्यौल गर्नुपर्छ । यो कामचाहिँ सुमन सरजस्तो मान्छेले गर्नुभएन कि जस्तो लाग्छ ।
कञ्चन दिदीको एकतर्फी कुरा सुनेकै भरमा मैले पनि त मेरो मिडिया, अनलाइनहरुमा त्यो कुरा ल्याएर भाइरल बनाउन सक्थेँ होला । तर, त्यसो गर्दा के हुने रहेछ ? जुन कुरा कान्तिपुरले गरेपछि के भयो भन्नेबाट पनि बुझ्न सकिन्छ ।

० यस्तो घटनाको प्रचार, त्यो पनि गलत किसिमले गर्दा फाइदा कहाँ हुन्छ ?

– विभिन्न सामाजिक सञ्जालहरुको प्रयोगबाट यस्ता सेन्टिमेन्टल घटनालाई प्रचारमा ल्याउँदा मान्छेलाई प्रभावित पार्न सकिन्छ र त्यसो गर्दा केही पैसा आउँछ भन्ने पो हो कि !

आजभोलि  यस्तो पत्रकारिता धेरै हुन थालेको छ । दुबै पक्षका कुरा नबुझी लेख्दा अर्को पक्षलाई समस्या पर्छ । सकेसम्म दुबै पक्षलाई ल्याएर समाचार दिँदा दुबैतिर न्याय हुन्छ । पछिल्लो पटक धादिङकी कुसुम श्रेष्ठ, अनुजा काण्ड, यस्तै–यस्तै । तरकारीवाली  भनेर कुसुमलाई मनोरञ्जनको रुपमा मात्र लिइयो । रातारात उनलाई तरकारीवालीबाट मोडलवाली बनाइयो । मोडल बन्नु नराम्रो होइन, तर कुन क्षेत्रको मोडल बनाएर प्रस्तुत गर्दा समाजलाई सकारात्मक सन्देश जान्छ भनेर ध्यान पु¥याउन जरुरी छ ।  कुसुमलाई हामीले कृषिप्रधान देश नेपालको कृषि क्षेत्रको मोडलको रुपमा प्रस्तुत गर्न जान्नुपथ्र्यो । जहाँ देशमा मात्र नभएर संसारमै पनि कृषि पेशालाई बालक, युवा र वृद्धहरुले सम्मानित पेशाको रुपमा हेर्नुपर्ने सन्देश जान्थ्यो । कलेज पढ्ने छोराछोरीले आमा, बुबाले समाउने कोदालो र हँसियालाई समाएर कृषिकर्म गर्नमा गर्व गर्नसक्ने सन्देश दिन जान्नुपथ्र्यो ।

० वाहवाहीको पनि लोभ हो कि ?

– भर्खरै पुष्पा बस्नेत सिएनएन हिरो घोषित हुनुभएको छ । मैले उहाँलाई व्यक्तिगत रुपमा वा फेस टु फेस चिनेको छैन । उहाँले त्यत्रो समाजसेवा गरिसक्नुभएको रहेछ, दुई–दुईचोटि सिएनएनजस्तो विश्वव्यापी सञ्जाल भएको संस्थाले सम्मान गरिसकेको रहेछ । तर, मैले कहिल्यै पनि उहाँलाई सामाजिक सञ्जाल वा कुनै मिडिया प्रोपोगण्डामा देखेको, भेटेको छैन । दीलशोभा दिदीको पनि त्यति धेरै अपडेट मैले देखेको छैन । नेपालको पहिलो सिएनएन हिरो अनुराधा कोइराला त्यति पुरानो समाजसेवी हुनुहुन्छ, तर कुनै हाईफाई देखिँदैन । तर, केही–केही मान्छेहरुको प्रचार हेर्दा आजकल एकदमै दिक्क पनि लाग्छ । हो, काम गरेपछि प्रचार पनि हुन्छ, हुनुुपर्छ । तर, नभएको कुरा बनाई–बनाई प्रचार गर्नु त राम्रो होइन नि !

० त्यस्ता संस्थाले विदेशी सहयोगका रकम दुरुपयोग गरेको कत्तिको सुन्नुहुन्छ ?

– अहिले ४८ हजार अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् रे । ७५ जिल्लालाई बाँड्यो भने पनि एउटा जिल्लाको भागमा सात सयदेखि आठ सय वटा संस्था पर्छ । तर, त्यत्रो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) भएको देशको दुर्गति के छ ? भन्नै पर्दैन, सबैले देखेका छौँ । उनीहरु पारदर्शी पनि छैनन् । जनताका लागि भनेर पैसा ल्याउने, तर के काम गरे भन्ने कुराको अनुगमन नहुने ।

० के सरकारले एनजिओ, आइएनजिओहरुलाई पारदर्शी बनाउनुपर्ने होइन र ?

– पक्कै पनि हो । तर, एनजिओ र आइएनजिओहरुलाई पारदर्शी बनाउने सरकारले शुरुमा एनजिओ सञ्चालकहरुलाई पारदर्शी बनाउनुपर्छ । जनतामा नेताप्रतिको विश्वसनीयता जबसम्म बढ्दैन, तबसम्म देशको प्रगति हुँदैन । यहाँ त राजनीतिक दलका ठुलठूला नेताले कसरी पैसा कमाएका छन् ? त्यसैले शुद्धता हुनु जरुरी छ, तर त्यो शुद्धता माथिदेखि नै हुनुपर्छ । मैले कसैलाई राम्रो बन भन्नुअघि आफू राम्रो हुनुपर्छ । हेर्नुस् त, गाविस सचिवले पनि एनजिओको भत्ता लिएर काम गरेका छन् । यो भन्दा दुर्भाग्य के हुनसक्छ ?

० पत्रिकामा कहिलेदेखि काम गर्नुभएको ?

– ०६३ सालदेखि ।

० कसरी ?

– त्यसअघि ६ वर्ष ओमनमा बसेँ ।

० किन ?

– घरायसी समस्याले गर्दा ।

० कस्तो समस्या थियो ?

– बुबा डायबिटिजको बिरामी हुनुहुन्थ्यो । उहाँको उपचार गर्न समस्या थियो । एउटा औषधीलाई दुई–तीन सय पथ्र्यो । एउटा सानो चिया पसल थियो । बुबा पहिला इण्डियामा काम गर्नुहुन्थ्यो । उहाँले उतैबाट सुगर बोकेर आउनुभएको । मेरो औपचारिक शिक्षा पनि पूरा भएन । घरबाट चाँडै नै विवाह गरिदिनुभयो । पाल्पामा हामी अरुकै घरमा डेरा बस्थ्यौँ ।

० वैवाहिक स्थिति कस्तो रह्यो ?

– म नबुझ्ने हुँदै विवाह भएका कारण वैवाहिक जीवन सफल भएन । छोरा जन्मिएपछि श्रीमान्सँग राम्रो सम्बन्ध रहन सकेन । उता, बुबाको उपचारको समस्या छँदै थियो । देशमा माओवादी जनयुद्ध चलिरहेको बेला । कहीँ केही काम गरेर खाने अवस्था थिएन । त्यसैले ४ वर्षको छोरालाई छोडेर ओमन जानुपर्ने बाध्यता भयो ।

० ओमन कसरी पुग्नुभयो ?

– दलालमार्फत । साथीहरु पनि थिए, जानेमा । उनीहरुले बम्बई हुँदै जानुपर्छ भनेका थिए । बाध्यताको अगाडि के लाग्थ्यो र ? दलाललाई ४० हजार दिएर गएँ । त्यहाँ ६ वर्ष बसेँ । बाबाकै पीडाले गर्दा सानैदेखि सामाजिक काममा चासो थियो । हाम्रा आफन्त एकदमै धनी पनि थिए । तर, बाबालाई औषधी खुवाउन पैसा चाहिने बेलामा उनीहरुले केही सहयोग गर्दैनथे । दुःख एकातिर थियो, सेवाको भावना अर्कातिर । चार वर्ष बसेपछि म फर्किंए । जुन बुबाको उपचारका लागि ओमनमा दुःख गर्थें, म फर्किंदा बुबा परलोक भइसक्नुभएको थियो । बुबा ५० वर्ष पनि पुग्नुभएको थिएन । म ओमन जाने बेलामा बुबाले अंगालो हालेर बिदा गर्नुभएको । तर, फर्किएर आउँदा बुबाको अंगालो सम्झेर रुनुमात्र प¥यो ।

० फर्किएर जानुभयो, तर फेरि दुई वर्षमै फर्किनुभयो ?

– हामीले त्यहाँ नेपाली सम्पर्क समिति ओमानको क्षेत्रीय समिति सलह खोलेका थियौँ । त्यहाँका काम गर्ने सन्दर्भमा धेरै पीडित नेपाली दिदीबहिनीलाई सहयोग गरियो । त्यसक्रममा एकजना झापाको बहिनी आएर रोइन् । मलाई अरब भाषा आउँथ्यो । उनी कुटिएको बारे सोध्यौँ । पछि प्रहरीमा उजुर ग¥यौँ । पुलिसले बहिनीलाई अस्पताल लग्यो । म पनि सँगै गएँ । त्यसो गर्दा मेरो कामको समय ढिला भयो । एक घण्टा रेस्टको समय पाइन्थ्यो । तर, त्यसदिन झण्डै दिन बित्यो । मालिकले कहाँ गएकी थिइस् भनेर सोधे । मैले नढाँटी सबै कुरा भनेँ । ‘तँलाई नेपालीको सेवा गर्नु छ भने यहाँ नबस्’ भने । उनीहरुको जति सेवा गरे पनि आफ्नो हुन नसकिने रहेछ । त्यसैले फर्किने निधो गरेँ । तर, झापाको बहिनी एक्लै पर्लिन् भन्ने पीर थियो । मैले सँगै लैजान्छु भन्ने अवस्था थिएन । तर, उनलाई मैले खबर पठाएँ, कोही मान्छे यो–यो तारिखमा जाँदैछ, म पनि सँगै जान्छु भन भनेर । त्यसपछि हामी सँगै फर्कियौँ । मस्कट एयरपोर्टमा उनको डकुमेन्ट मिलेको रहेनछ । रोकिइन् । म यहाँ आउँदा १९ दिने जनआन्दोलन सकिएर लोकतन्त्र बहाली भएको थियो ।

० ओमनबाट फर्किंदा कति पैसा ल्याउनुभयो ?

– कमाएको पैसा घरमा पठाउनुपथ्र्यो । त्यसैले मसँग नेपाली पैसा १०–१५ हजारमात्र थियो । महिनामा दुःख गरेर एक लाख २० हजार कमाइ हुन्थ्यो । पकेट खर्च राखेर सबै घर पठाउँथेँ ।

० पत्रिकामा कसरी जोडिनुभयो ?

– ओमनमा त्यतिबेलै ‘ऐक्यबद्धता’ पत्रिका पुग्थ्यो । पत्रिका पढेर हामी देश सम्झिन्थ्यौँ र रुन्थ्यौँ । ‘नेपालीका कथा, व्यथा’ भनेर म आर्टिकल लेख्थेँ । एउटा न्युज छाप्ने क्रममा काठमाडौंमा ‘ऐक्यबद्धता’ मा सम्पर्क भयो । मेरो कुरा सुनेर उहाँहरुले इन्टरभ्यु छाप्नुभयो । त्यसपछि म यसैमा जोडिएँ । शुरुमा पत्रिका बेच्ने काम गरेँ । कालिमाटीतिर बढी बेच्थेँ । भर्खर शान्तिप्रक्रिया शुरु भएर माओवादी बाहिर आएका थिए । मलाई सबैले छापामार भन्थे । त्यसैले पत्रिका किनिदिन्थे । पछि मैले आफूसँग भएको १० हजार रुपैयाँलाई शेयरको रुपमा राखिदिनुहोला भनेर पत्रिकामा बुझाएँ । त्यहाँदेखि म यसको शेयरहोल्डर पनि बनेँ ।

० पत्रिकामै काम गरेर बाँच्न पुगेको छ ?

– दुःख र संघर्ष गर्न सक्यो भने बाँचिदोरहेछ । ओमनमा घर सफा गरेपछि मालिकले सफा गरेको टेबुल हातले चेक गथ्र्यो, फोहोर देख्नासाथ पैसा काटिदिन्थ्यो । तर, मैले कहिल्यै पनि लापरवाही गरेर काम गरिनँ । अहिले पनि विहान ७ बजे अफिस आउँछु । हाम्रोमा काम गर्ने अरु साथी पनि विहानै आउनुहुन्छ । हामी अफिसमै खाना पकाउँछौँ । आफैँ अफिस सफा गर्छौं ।

० के–के काम गर्नुहुन्छ ?

– लेख्छु, मार्केटिङमा पनि जान्छु । त्यसबाहेक परिआएको सबै काम गर्छु ।

० पत्रिका कहाँ–कहाँ पुग्छ ?

– नेपालीको बसोबास रहेको ८० देशको एक सय ७०–८० जति शहरमा पुग्छ । यो पत्रिकाबाट विदेशमा बस्ने नेपालीमा देशप्रतिको ऐक्यबद्धता सिर्जना गर्ने काम गरिरहेका छौँ । एउटा सोलिडारिटी ट्रष्ट पनि बनाएका छौँ । त्यसबाट समस्यामा परेका नेपालीको उद्धारमा पहल गर्छौं । रसुवाको बहिनी लुसान तामाङ ओमनमा ६ वर्षसम्म फसेर बस्नुभएको थियो । हामीले यहाँ उहाँको बुबालाई खोजेर, पत्रकार सम्मेलन ग¥यौँ । श्रमिक हितका विभिन्न संघसंस्थामार्फत उहाँको फिर्तीको लागि पहल ग¥यौँ । यस्तो काममा पनि अग्रसर छौँ ।

० तपाईं एक्लै बस्नुहुन्छ ?

– आमा हुनुहुन्छ, छोरा छ, भाइको परिवार पनि सँगै छन् । छोरा अहिले व्याचलर गर्दैछ । भाइ दुबईको अबुधावीमा रेष्टुरेण्ट चलाउँछ ।

० एक्लै घर चलाउनुभएको छ ?

– एक्लै त सक्दिनँ । बाबुको पढाइखर्च जसोतसो जुटाउँछु । अरुचाहिँ भाइले सहयोग गर्छ ।

० श्रीमान्सँग सम्बन्ध बिच्छेद भइसक्यो ?

– सम्बन्धबिच्छेद नै त भएको छैन । तर, हामी सँगै छैनौँ । श्रीमान्सँग सँगै नबसेको, नभेटेको र कुराकानी पनि नभएको १७ वर्षभन्दा बढी भयो । अब त डिभोर्स त्यसै हुन्छ होला नि ! फेरि उहाँले अर्को बिहे गरिसक्नु भएको छ ।

० श्रीमान्बिना पनि बाँच्नसक्छु भन्ने आत्मविश्वासले हो, यहाँसम्म आइपुग्नुभएको ?

– बाँच्नुपर्छ । कञ्चन शर्माकै कुरा गर्नुस् न, उहाँले किन त्यसो गर्नुभयो भन्ने मलाई लाग्छ । नेपाली समाजमा उहाँले आफूभन्दा बाहिर को–को छन् भनेर हेर्नुभएन । यहाँ महिलाहरु गिट्टी कुटेर, बालुवा चालेर पनि बाँचेका छन् । श्रीमान्बिना असंख्य महिलाले एक्लै बाँचेका छन्, संघर्ष गरेका छन् ।

० गाह्रोसाह्रोमा एउटा जीवनसाथीको आवश्यकता महसूस हुँदैन ?

– कहिलेकाँही विरामी हुँदा झगडै परे पनि तातोपानी त दिन्थ्यो होलाजस्तो लाग्ने † कहिलेकाँही आर्थिक रुपमा गाह्रोसाह्रो हुँदा यस्तो प¥यो, दिनु न भन्न हुन्थ्यो होला । तर, मैले यी कुरालाई ठूलो मानिनँ । आफ्नै संघर्षले पु¥याउनसक्छु भन्ने आत्मविश्वास लिएँ ।

० छोराको नागरिकता बन्यो ?

– अलिक गाह्रोसँग बन्यो । उसको बुबाको नागरिकता मसँगै थियो । जिल्ला प्रशासन कार्यालयमा गएर मैले मेरो (आमाको) नाममा बनाउन अनुरोध गरेँ । तर, कानुनमा लेखेर आए पनि त्यो लागु नभएको जवाफ पाएँ । त्यसपछि बुबाको नागरिकता दिएर बनाएँ । नागरिकतामा मेरो नाम पनि उल्लेख छ ।

० यस्तो हुँदा दुःख लागेन ?

– मैले यति गरेर छोरो हुर्काएँ, बढाएँ, तर आजसम्म उसलाई मेरो बाउको यस्तो, आमाको अवस्था भन्ने कुराको कुनै महसूस नै हुन दिएको छैन । म आफैँ उसको बाबु बनेँ, आमा पनि बनेँ । नागरिकता बनाइदिएँ, बाबुकै नाममा । तर, उसलाई यो नागरिकता लिएर बाउसँग अंश लड्न जा’ भन्नलाई होइन । उसलाई बाबु छैन भन्ने कुराको महसूस नहुनलाई र कतिपय कानुनी समस्याहरु फुकाउनका लागि मात्र हो ।

टिप्पणीहरू