पुर्पक्षमा रविलाई यसरी जेल पुर्याइँदै छ
प्रहरीले रवि लामिछानेका सबै बैंक खाता र चल–अचल सम्पत्ति रोक्का गरिसकेको छ । तर, निकिताको भने रोक्का गरिएको छैन । सम्वद्ध कसूरमा प्रतिवादी नभएकाले उनको खाता र चल–अचल सम्पत्ति रोक्का गर्न नसकेको प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धानको जिम्मा दिएको छ । लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदनमा यो सबै विषयसमेत खुलाइनेछ ।
जिबी राई समूहले देशका मुख्य शहरमा सहकारी खोलेर हजारौँ बचतकर्ताको अर्बौ रकम कुम्ल्याएको प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेविरुद्ध तीन वटा कसूरमा मुद्दा चलाउनेगरी जिल्ला प्रहरी कार्यालय कास्कीले प्रारम्भिक अनुसन्धान टुंग्याएको छ । तीन महिना लामो अनुसन्धानपश्चात् प्रहरीले सोमबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोग ठहर हुने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएसँगै एक चरणको अनुसन्धान निश्कर्षमा पुगेको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाका साढे १८ हजार बचतकर्ताको निक्षेप अपचलनमा लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि हुने प्रमाणसहितको निश्कर्ष समेटिएको प्रतिवेदनमा तीनवटा कसूर स्थापित हुने आधार र कारण खुलाउँदै सोहीबमोजिम मुद्दा अभियोजन गर्न सरकारी वकिललाई सुझाव दिइएको छ । तीन कसूरमा छुट्टा–छुट्टै कैद सजायँसहित २८ करोड बिगो र सो बराबर जरिवाना असुल गर्न मागसहित मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरी पुस ५ गतेभित्र मुद्दा दर्ता गर्ने बताएको थियो । किनभने सम्पत्ति शुद्धीकरण मुद्दामा आरोपित पक्राउ परेको ९० दिनभित्र मुद्दा चलाउनुपर्ने कानुनी व्यवस्था छ । यही प्रकरणमा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडिआइजी छविलाल जोशी असोज ६ गतेदेखि प्रहरी नियन्त्रणमा छन् । लामिछाने कात्तिक २ गते पक्राउ परे पनि छविलाल समातिएकै मितिबाट हदम्याद लागू हुने भएकाले ढिलोमा पुस ५ गते मुद्दा अभियोजन गर्ने भनिएकोमा आइतबार मात्र दर्ता हुने भएको छ ।
सरकारी वकिलले चाहँदा लामिछानेविरुद्ध मुद्दा नचल्न पनि सक्छ । तर, हजारौँ सहकारी पीडित प्रत्यक्षरूपमा जोडिएको यत्रो ठगी काण्डमा सत्ता जोगाउन यसअघि २ पटक न्यायाधिवक्ताको कार्यालयले राहदानी र सहकारी ठगी प्रकरणमा काइते खेल रचेजस्तो परिस्थिति विद्यमान नरहेको हुँदा सरकारी वकिलले यस पटक भने मुद्दा नचलाउने निर्णय लिने सम्भावना देखिँदैन । सरकारी वकिल र प्रहरीले आपसी समन्वयमा सँगसँगै अनुसन्धान गरेकाले प्राप्त प्रतिवेदनकै आधारमा मुद्दा अभियोजन हुने प्रधानमन्त्री कार्यालय स्रोतको दावी छ ।’ मुद्दा नचलाउने वा कमजोर बनाउन अर्को दफा लगाउने स्थिति रहँदैन’, स्रोतले भन्यो,’ अनुसन्धान प्रहरी र सरकारी वकिलले मिलेर गरेको हो ।’
मुद्दा दर्ता भएपछि जिल्ला अदालत कास्कीमा थुनछेक बहस शुरु हुनेछ । अदालतले लामिछानेलाई साधारण तारिख, धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने कुनै एक आदेश दिनेछ । तर, उनी तारिखमा छुटे पनि तत्काल हिरासतमुक्त भने हुने छैनन् । किनभने उनीविरुद्ध सहकारी ठगीमै कास्कीबाहेक थप चार जिल्लामा अनुसन्धान चलिरहेको छ । बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानोपाइला सहकारी घोटालामा संलग्न रहेको आरोपमा चारवटै जिल्लाबाट पक्राउ अनुमति लिई प्रहरीले सरकारी वकिलको रोहबरमा बयान लिइसकेको छ । २८ करोड बिगो र अघिकै जरिवाना तिरेर धरौटीमा छुट्न त सम्भव छैन । त्यसमाथि यो त हजारौँ सर्वसाधारण हाकाहाकी ठगिएको काण्ड हो ।
यस्तो स्थितिमा कथं कास्की अदालतले धरौटीमा छोड्न आदेश गर्यो भने लामिछानेलाई तत्काल पक्राउ गरी बुटवल लैजाने तयारी छ । कास्कीमा जस्तै त्यहाँ पनि प्रहरीले मुद्दा चलाउन माग गर्दै सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने छ । त्यसपछि मुद्दा अभियोजनको प्रक्रिया शुरु हुन्छ । यदि रूपन्देही अदालतले पनि धरौटीमा छोड्न आदेश गर्यो भने फेरि काठमाडौँ, चितवन हुँदै पर्सा पु¥याउनेछ । थुनछेक बहसमा प्रतिवादीलाई इजलासमा उपस्थित गराउनुपर्ने भएकाले एउटा जिल्लाबाट छुटकारा पाउँदैमा लामिछाने थुनामुक्त नहुने यस प्रकरणको अनुसन्धानमा संलग्न एक सरकारी वकिलले बताए ।
क्रिप्टो र रास्कोट हस्पिटलको रकम घोटालामा अनुसन्धान हुँदै
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) स्रोतका अनुसार लामिछानेमाथि क्रिप्टो (भर्चुअल मुद्रा) कारोबारमा पनि अनुसन्धान भैरहेको छ । अमेरिकामा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत नेपालबाट क्रिप्टो गरी रकम ओसारेको भरपर्दो विवरण फेला परेपछि अनुसन्धान अघि बढेको हो । यसबारे थप तथ्य खोज्न सिआइबीसँग जोडिएर सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान टोली भित्रभित्रै सक्रिय छ ।
मोहनजंगमार्फत नेपालमा हुण्डी गरी करोडौँ रकम अमेरिका पठाएको तथ्य खुलिसकेको स्रोतको दाबी छ । तर, यसरी बाहिरिएको रकमको यकिन विवरण र यसमा संलग्नहरूबारे भने प्रहरीले थप खोजबिन गरिरहेको छ ।’ मोहनजंगमार्फत पैसा गएको त लगभग निश्चित भैसक्यो, तर अहिले नै सबै कुरा आइसकेको छैन । सम्पत्ति शुद्धीकरण कसुरमा जोडेर सूक्ष्म अनुसन्धान भैरहेको छ’, सिआइबीका एक उच्च अधिकारीले भने ।
जनाइएअनुसार रवि–जिबी समूहको आर्थिक कारोबारबारे मोहनजंगसहितको टोलीले गरेको भर्चुअल कुराकानीको रेकर्ड प्रहरीले हात पारिसकेको छ । ह्वाट्सअप ग्रुपमा भएको कुराकानीमा उनीहरूले नेपालबाट विभिन्न मितिमा १० लाख डलर अमेरिका पुर्याएको खुलाउँदै रवि र जिबीको नाम जोडेका छन् । यसमा विपिन आचार्य पनि संलग्न रहेको देखिन्छ । ग्रुप संवादमा मोहनजंग र जिबीको कारोबार हेर्ने व्यक्तिबीच सोझो कुराकानी भएको समेत खुलाइएको छ । अर्को प्रसंगमा मोहनजंगले १ लाख ३० हजार अमेरिकी डलर आफूले लिएको र ‘रवि दाइ’सँग कुरा भैरहेको जानकारी गराएका छन् । अर्को मितिमा भएको कुराकानीमा उनले ‘जिबीलाई भनेर यो विषय हामीभित्रै मिलाउनुपर्यो’ भनेका छन् ।
अमेरिकामा लिलाम हुनै लागेको लामिछानेको घर निखन्न यताबाट रकम पठाइएको जानकारहरूको दावी छ । रविका लागि जिबीसँग पैसा लिने म्याग्दीका मोहनजंग आफैँमा विवादित पात्र हुन् । सन् २००३ मा उनलाई बाल्टिमोर जिल्ला अदालतले नक्कली आइडी कार्ड बनाउने धन्दा चलाएको अभियोगमा सजायँँ सुनाएको र हेलिकोप्टरबाट लखेटी लखेटी गिरफ्तार गरेको थियो । २५ वर्षदेखि अमेरिकामा रहेका उनीविरुद्ध ५० भन्दा बढी मुद्दा चलेको छ । अधिकांश मुद्दामा दोषी ठहर भएका उनले अमेरिकामा फर्जी लाइसेन्स र परिचयपत्र बनाएको घटनामा अमेरिकाको एफबिआईले अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सोही अभियोगमा दोषी ठहर भई २ वर्षभन्दा बढी जेल बसेका थिए । उनीविरुद्ध अहिले पनि ६ वटा आपराधिक मुद्दा चलिरहेको छ । रवि गृहमन्त्री हुँदा यिनी नेपाल आएर प्रहरीको सरुवा–बढुवामा मज्जैले संलग्न रहेका प्रमाण सुरक्षित छन् ।
त्यस्तै, लामिछाने र उनकी श्रीमती निकिता पौडेलको बैंक खातामा अस्वाभाविक कारोबार देखिएको सम्बन्धमा पनि थप अनुसन्धान भैरहेको छ । प्रहरी स्रोतका अनुसार सन् २०१६ यता रवि र निकिताको पाँच वटा बैंकका फरक–फरक खातामा २१ करोड ट्रान्जेक्सन देखिएको छ । त्यसमध्ये केही रकम विदेशबाट समेत आएको छ । अहिले लामिछाने दम्पतीको खातामा रकम नरहेकाले क्रिप्टो र हुण्डीमार्फत मोहनजंगको नाममा अमेरिका पुर्याएको अनुमान छ ।
त्यसैगरी, कालिकोटको रास्कोटमा अस्पताल बनाउँदा रवि लामिछाने फाउण्डेसनमार्फत भएको भनिएको आर्थिक अनियमिततातिर पनि अनुसन्धान सोझिएको छ । कुनै बेला रविको दाहिने हात भएर काम गरेका तर अहिले रास्वपाको कारवाहीमा परेका डा. मुकुल ढकालको अगुवाइमा देश–विदेशबाट करोडौँ चन्दा उठाएर हस्पिटल बनाइएको थियो । गैरनाफामुलक भनिएको उक्त फाउण्डेसनका नाममा पैसा उठाएर अस्पताल बनाएको भनिएकोमा फाउन्डेसनले अहिलेसम्म खर्च विवरण सार्वजनिक नगरेपछि अनियमितताको आशंका गरिएको हो । सरकारी ५ करोड रकमसमेत लगानी भएको अस्पताल बनाउँदा आर्थिक पारदर्शिता नदेखिएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत यसमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
यता जिबी राईकी प्रेमिका तथा सहकारी ठगीको अभियोगमा छविलाल र रविसँगै कास्की प्रहरीको हिरासतमा रहेकी लीला पछाईको २४ करोड बैंक कारोबार देखिएको छ । पक्राउ पर्नुअघि मलेसिया पुगेर जिबीलाई भेटेकी उनी क्रिप्टो कारोबारमा समेत संलग्न रहेको प्रहरीको दावी छ । त्यसैले जिबी र उनको हकमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँगै बैंक ऐनअन्तर्गत मुद्दा चलाउने तयारी छ । पूर्वराष्ट्रसेवक कर्मचारी भएकाले छविलालमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गर्नेछ ।
कास्की जिल्ला अदालतमा मुद्दा दायर हुनासाथ जिबीलाई नेपाल ल्याउने प्रक्रिया पुनः अघि बढाउने प्रहरीको तयारी छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूर’ ट्रान्सनेशनल क्राइम’ भएकाले मलेसिया सरकारले सहजीकरण गरिदिने विश्वास प्रहरीको छ । त्यसनिम्ति जिबीको राहदानी रद्द गराई पारस्पारिक सहायता ऐनअन्तर्गत म्युचुअल लिगल एग्रिमेन्ट (एमएलए) गरिनेछ । हजारौँ सर्वसाधारणको अर्बौं रकम कुम्ल्याएर भागेका जिबी लामो समयदेखि मलेसियामा छन् । ऊसँग सुपर्दगी सन्धि नभएका कारण उनलाई नेपाल फर्काउन कानुनी कठिनाइ छ ।
टिप्पणीहरू