बरण्डाबाटै कुर्लिएपछि कोठामा बात मार्नुको अर्थ के ?

बरण्डाबाटै कुर्लिएपछि कोठामा बात मार्नुको अर्थ के ?

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली समूहका नेता तथा प्रवक्ता प्रदीप ज्ञवालीलाई तुलनात्मक रुपमा वैचारिक नेताको रुपमा लिइन्छ । तर,पार्टी विवाद मिलाउने सन्दर्भमा उहाँको भूमिकालाई लिएर एमालेकै अर्काथरि नेताहरू असन्तुष्ट हुने गरेका छन् ।

ज्ञवालीले एमालेको आन्तरिक एकता कायम राख्न गठित विघटित कार्यदलका सदस्यहरुसँगको छलफलमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालका कारण पार्टी एकता भाँडिएको दाबी गर्नुभएको थियाे ।

उहाँले एमालेको आन्तरिक एकता कायम राख्न गठित विघटित कार्यदलका सदस्यहरूसँगको छलफलमा नेता नेपालले पार्टी एकताको विपक्षमा धारणा राखेको बताउनुभएको हो । ‘माधव नेपाल पार्टी एकताका निम्ति तयार देखिनुभएन । उहाँ अर्कै विन्दुमा पुगिसक्नु भएको बुझियो,’ ज्ञवालीले भन्नुभएको छ ।

तर,नेता नेपाल समूहले भने ज्ञवालीले कोटेश्वर छलफललाई ट्वीष्ट गरेर भ्रमपूर्ण प्रचार गरेको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिनेबारे आफ्नो समूहमा देखिएको दुई धारमाथि ज्ञवालीलगायत संस्थापन पक्षले खेल्न खोजेको उनीहरूको आरोप छ ।

बाहिर जतिसुकै वैचारिक तर्क गरे पनि अध्यक्ष ओलीका सामू ‘चुँ’ गर्न नसक्ने ओलीपक्षीय नेताहरूले अहिले नेपाललाई एकता विरोधी देखाउनु कुतर्क बाहेक केही नहुने नेपाल पक्षका एक नेताले बताउनुभएको छ । माधवले एकता चाहेनन् भन्दै गर्दा त्यसअघि ओलीले बालकोट निवासको बार्दलीमा कुर्लिएको भाषण र वाक्य स्मरण गर्न उहाँले ज्ञवालीलाई आग्रह गर्नुभएको छ ।

ज्ञवालीले सार्वजनिक खपतका लागि त्यस्ता आधारहीन तर्क अघि सारेर झुटको खेती गर्न नहुने बताउँदै उहाँले भन्नुभयो, ‘तीन दिनअघि कौशीबाट तथानाम भनेर कुर्लिएपछि कोठामा बात मार्नुको के अर्थ ?’

टिप्पणीहरू