असार मसान्तसम्म मनसुनबाट ४८ जिल्ला प्रभावित,६३ जनाको मृत्यु
यस वर्षको मनसुनबाट असार मसान्तसम्म ४८ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । मनसुनबाट हालसम्म ६३ जनाको मृत्यु भएको छ भने ३५ जना अझै बेपत्ता छन् । यसबीचमा ६३ जना घाइते भएका छन् ।
प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार ५ सय ६५ निजी आवास पूर्णरुपमा क्षति भएका छन् । त्यसैगरी १ सय ५५ घर आंशिक रुपमा क्षति भएका र ३७ सरकारी भवन एवम् १२ वटा सामुदायिक भवन तथा विद्यालयमा पनि क्षति पुगेको उहाँले बताउनुभयो ।
निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका २५ वटा जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेबल पुल र २५ वटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको उहाँले जानकारी दिनुभएको छ ।
अघिल्लो आर्थिक वर्षको मनसुनबाट क्षति भएका २२ जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीको लागि २९ करोड ९९ लाख २६ हजार २ सय ५० रुपैयाँ आवास निर्माण, पुनर्निमाण,पुनर्स्थापना र प्रवलीकरणका लागि निकासा गरिएको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा भने विभिन्न ८ जिल्लाका ५ सय ७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ तत्काल अस्थायी आवास निर्माण गर्न सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा निकासा गरिसकिएको पनि अर्यालले बताउनुभएको छ ।
हालसम्म चर्को विपदमा परेका जिल्लाहरुमा सिन्धुपाल्चोक, मनाङ, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, धादिङ, ताप्लेजुङ र पाँचथर देखिएका छन् । ती जिल्लामा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग र मागअनुसारका अत्यावश्यक सामग्रीहरु पठाइएको प्राधिकरणले जनाएको छ ।
टिप्पणीहरू