अनाथ केटाकेटीलाई माइतीले हेर्दै

अनाथ केटाकेटीलाई माइतीले हेर्दै

– अजय गोर्खाली

घरमूली नै खत्तम भएपछि केटाकेटीको भविष्य कस्तो होला ? उही लथालिङ्ग, भताभुङ्ग नै त हुने हो । बाबु जँड्याहा, दिनरात रक्सी धोक्ने, कामै नगर्ने । त्यसो भएपछि घर चलाउन धौ–धौ भएर आमा वैदेशिक रोजगारीमा लागिन् । तर अरब पुगेर आमा बेपत्ता भएकी छिन्, वर्षाैं बित्दासमेत सम्पर्क हुुन सकेको छैन ।

अहिले बालक अपाङ्गता भएकी हजुरआमाको साथमा छ । तिनै हजुरआमाले गणेशस्थानको सुकुमवासी बस्तीमा रहेर जसोतसो नातिलाई पाल्दै आएकी छन् । आठ वर्षीय बालक सहयोगी दाताहरूको सहयोगमा स्थानीय सिद्धि विनायक विद्यालयमा पढेर कक्षा ४ पास भएका छन् । उसले चाहेमा आफूहरूले डिप्लोमा सम्मै पढाउन सक्ने माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरी बताउँछन् ।

अभिभावकत्व गुमाएका केटाकेटी प्रायः बिग्रन्छन् पनि । त्यसैले यस्ता बालबालिकाको संरक्षणमा माइती नेपालले नयाँ प्रोजेक्ट अघि सारेको छ । यसअघि विशेषगरी हिंसामा परेका महिला लक्ष्यित पाँचवर्षे प्रोजेक्ट थियो ।

त्यो सकिएपछि अहिले झण्डै तीन महिनादेखि खासगरी १८ वर्षमुनिका बालबालिका केन्द्रित कार्यक्रम माइती नेपालले सञ्चालनमा ल्याएको हो । तर अहिले पनि हिंसा पीडित महिलालाई परेको खण्डमा सहयोग गर्न नछोड्ने र पहिले पनि जोखिममा परेका बालबालिकाको उद्धार गरिएको गिरीको भनाइ छ ।

अहिले भरतपुर–११, गणेशस्थानका ती बालकलाई आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था मिलाउन लागेको बताइएको छ । माइती नेपाल केन्द्रीय कार्यालयको स्वीकृतिमा माइती नेपाल मकवानपुरसँगको समन्वयमा बालकलाई हेटौंडास्थित मामाघर नेपाल नामक संस्थामा राख्न लागिएको ईश्वरले बताए । त्यहीँबाट उसको खाने, लाउने, बस्ने प्रबन्ध हुनुका साथै पढाइलेखाइको व्यवस्था हुने उनी बताउँछन् ।

अब वडाबाट गरिब, विपन्न भएको सिफारिस लगायत प्रक्रिया पूरा गरेर उसलाई छिट्टै मामाघर नेपालमा पठाउने तरखर भइरहेको उनले जनाए । गणेशस्थानमै बसे बालक कुलतमा फस्ने सम्भावना छ । केहीअघि स्थानीय टोल विकास संस्थाका महिला समूहलाई भेला गरेर सचेतना कार्यक्रम चलाउँदा उक्त बालकबारे जानकारी पाएपछि आफूहरूले संरक्षणको प्रक्रिया अघि बढाएको उनले बताए ।

यस्तै, आफ्नो कार्यालय नजिकै भाडाको कोठामा बस्ने दुईजना बालिकाको अवस्थाले पनि माइती नेपाल चितवनलाई बिझाइरहेको छ । १८ वर्षीया बालिकाको बाबु साथमा छैनन्, अर्कै महिला टिपेर लापता भए बाबु । आमा पनि अर्कैै पुरुषसँग पोइल आएर अरुको घरमा काम गर्दै छिन् । बालिकाले पढाइ छोडिसकेकी छिन् ४ पढेर । अहिले उनी भोला, बियरलगायत नसालु पदार्थ सेवन गर्ने पनि भएकी छन् ।

अर्की १४ वर्षीया बालिकाको हालत पनि उस्तै छ । बुबा सानैमा बितेका रे ! बोल्न नसक्ने आमालाई ललाईफकाई विभिन्न पुरुषहरूले लिएर हिँड्ने हुँदा बच्ची आमाको पनि आमा (हजुरआमा)सँग बस्छिन् । उनी पनि पढ्दिनन्, भोला, बियर आदि नसालु पदार्थ सेवन गर्ने भएकी छन् ।

यो देखेर माइती नेपाल चितवनले उनीहरूको पठनपाठनमा निकै जोड गरिरहेको छ । तर, किशोरीहरू नै मानिरहेका छैनन् । यदि १८ वर्ष कटेर भए विभिन्न सीपमूलक तालिमका साथै रोजगारीको व्यवस्था गरिदिएर उनीहरूको जीवन सुधार्न सकिन्थ्यो, दुवै १८ नकटेका हुँदा समस्या भएको ईश्वरले सुनाए ।

टिप्पणीहरू