अबदेखि अस्थायी सवारी लाइसेन्स, दुई महिनापछि सबैलाई स्मार्ट

अबदेखि अस्थायी सवारी लाइसेन्स, दुई महिनापछि सबैलाई स्मार्ट

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको छ ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राहीले वर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको हो ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकले क्युआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभएको छ । उहाँले अहिले काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसकेको र क्रमशः मुलुकका सबै यातायात कार्यालयहरुमार्फत वितरण गरिने समेत बताउनुभयो ।

अहिले ७ लाख सेवाग्राही स्मार्ट लाइसेन्स लिने पर्खाइमा छन् । उनीहरु महिनौंदेखि लाइनमा बस्न बाध्य छन् । भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम पनि शुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी केही महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी दिँदै कार्ड आएलगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने छ ।’

कोरोना महामारीका कारण स्थगित सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आउँदो भदौ २० गतेबाट सञ्चालन हुने जानकारी दिइएको छ ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि छ लाखको आवेदन परेको छ । विभागले लाइसेन्स आवेदन अनलाईनबाटै लिने गरेको छ ।

टिप्पणीहरू