काङ्ग्रेस विभाजनले सर्छ त चुनाव ?

काङ्ग्रेस विभाजनले सर्छ त चुनाव ?

आठ दशक लामो इतिहास बोकेको मुलुककै सबैभन्दा ठूलो दल नेपाली काँग्रेस दुई फ्याक भएको छ । पार्टी सत्तामा को हावी हुने भन्ने दुईपक्षीय टकरावसँगै उत्पन्न विवादका बीच संस्थापन पक्षले अनेकौं चरणको छलफलमा सहमति जुट्दै टुट्दै गर्दा महामन्त्री गगनकुमार थापा,विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्ला मन्सुरमाथि कारवाहीको डण्डा बर्सिएसङ्गै काँग्रेस औपचारिक विभाजनतर्फ धकेलिएको हो । 

पार्टी कार्यालय सानेपामा दिउँसो बसेको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो । उता,गगन-विश्वले नेतृत्व गरेको विशेष महाधिवेशन पक्षधरले उक्त कारवाही खारेजीको घोषणा गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनबाट गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्ने उनीहरूको तयारी छ । 

राजनीतिक रूपमा टुक्रिएको काँग्रेसमा कानुनी लडाइँ शुरु भएको छ । दुवै पक्षले आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेका छन् । 

"निर्वाचन घोषणा भैसकेको र समानुपातिकको बन्दसूचीसमेत आयोगमा बुझाइसकेको अवस्थामा विवाद थप पेचिलो हुने देखिएको छ ।"

संस्थापन पक्षले गगन,विश्व र फर्मुल्लालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पेश गरेलगत्तै विशेष महाधिवेशन पक्षधरले आफूहरू नै आधिकारिक कांग्रेस भएको दावीसहितको पत्र पठाएका छन् । बहुमत प्रतिनिधि भृकुटीमण्डपमा रहेकाले पार्टीको नाम,चुनाव चिन्ह र झण्डा आफूहरुले पाउनुपर्ने जिकिर उनीहरूको छ ।

विशेष पक्षले हिजै देउवा नेतृत्वको कार्यसमिति भंग भएको जानकारी आयोगलाई गराएको थियो । योसँगै अब कांग्रेसको आधिकारिकता कसले पाउँछ भन्ने कुरा निर्वाचन आयोगको निर्णयमा भर पर्ने भएको छ । 

निर्वाचन घोषणा भैसकेको र समानुपातिकको बन्दसूचीसमेत आयोगमा बुझाइसकेको अवस्थामा विवाद थप पेचिलो हुने देखिएको छ । किनभने फागुन २१ गतेको चुनावका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा काँग्रेस दर्ता भएको छ र समानुपातिक सांसदको बन्दसूची पनि उनकै हस्ताक्षरमा बुझाइएको छ । त्यसकारण देउवाको हस्ताक्षर भएको व्यक्तिले नै रुख चिन्हको उम्मेदवारको आधिकारिकता पाउने सम्भावना बढी हुनसक्छ । 

कानुनका जानकारहरू कांग्रेसको वैधानिकतासम्बन्धी विवादको निरुपण जटिल हुनसक्ने बताउँछन् । यस्तो अवस्थामा अबको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा एकजना पूर्व कानुन मन्त्री भन्छन्, 'आयोगले नियमावलीको व्यवस्थाबमोजिम पार्टीको आन्तरिक विवाद निर्वाचन अवधिभर हेर्न नमिल्ने व्यहोरा जानकारी गराउँछौँ भनेर दुवै पक्षलाई चिठी लेखिदिनसक्छ । त्यसपछि यो विषय अदालत पुग्छ । अदालतले मार्गप्रशस्त गरिदियो भने तदनुसार हुन्छ अन्यथा गगन-विश्वहरू पार्टीविहीन हुने खतरा छ ।'

उनका अनुसार अदालतले अन्यथा निर्णय गरेन भने पुरानै समितिले वैधानिकता पाउने र त्यसैको नेतृत्वमा चुनाव हुने अवस्था रहन्छ । किनकि देउवाको नेतृत्वमा नेपाली कांग्रेस दर्ता भैसकेको र आयोगले सोअनुसार मतपत्र छपाईको काम सम्पन्न गरिसकेको अवस्था छ ।

टिप्पणीहरू