निर्वाचन आयोग पुग्यो पत्र
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पार्टीका तीन जना नेतामाथि गरेको कारबाहीसम्बन्धी पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। कांग्रेस संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
सो निर्णयको जानकारीसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरिएको छ । कारबाहीमा परेका गगन–विश्व पक्षधर नेताहरूले भने महाधिवेशन प्रतिनिधिहरूको बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै कारबाहीको औचित्य नरहेको बताएका छन्।
यता, काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनस्थलबाट आजै नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्दसत्र हलबाट गरिएको निर्णय नै अन्तिम र वैधानिक हुने बताएका छन्।
कांग्रेस विभाजन रोक्ने उद्देश्यले विभिन्न चरणमा नेताहरूबीच छलफल भए पनि सहमति जुट्न सकेको थिएन । बिहान महामन्त्रीद्वयले सभापति देउवासँग गरेको छलफलसमेत निष्कर्षविहीन भएपछि पार्टी विभाजनको अवस्थामा पुगेको हो ।
टिप्पणीहरू