राज्यको सम्मानमा पत्नीको शान

राज्यको सम्मानमा पत्नीको शान

संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको पदक हाकिमले आफ्नो खल्तीबाट दिएजसरी पत्नी, समशेरगञ्ज ब्यारेक बिद्रोह काण्डका भगौडा र सरकार प्रमुखको पिएका ज्वाइँलाई उफ्रीमाथि पाफ्री हुनेगरी दिइएपछि सीमा सुरक्षाको जिम्मेवारीप्राप्त फौजमा असन्तुष्टि चुलिएको छ ।

कार्यक्षेत्रमा सक्रिय प्रहरी कर्मचारीलाई बाहेक गरेर आइजीपी सैलेन्द्र खनालले श्रीमती र आफूनिकटलाई सिफारिस गर्दा कारवाहीमा परेर भर्खरै छुटेका, छानविनका लागि मुख्यालयमा तानिएका, विदेशमा रहेका र स्टाफ कलेजमा अध्ययन गरिरहेकाहरुको खुदो पल्टिएको छ ।

पदक पाउनेमा केही विवादित अफिसर पनि छन् । यही मेसोमा होमनाथ पन्थीले पनि पदक हात पारेका छन् । पन्थी पटक–पटक विवादमा परेर हालै मुख्यालय तानिएका डिएसपी हुन् । सशस्त्रमा हरेक वर्ष साउनको अन्तिम वा भदौको पहिलो साता सरुवा हुने गरेकोमा यसवर्ष विभिन्न कारणले रोकिएको छ । सरुवा रोकिएका बेला पन्थीलाई भने छानविनका लागि मुख्यालय तानिएको हो ।

यता, सशस्त्रको इतिहासमै कलंक मानिएको बाँकेको समशेरगञ्ज ब्यारेक विद्रोहका बेला त्यहाँको राशन कमाण्डर रहेका हाल डिएसपी शेरबहादुर अधिकारी पनि पदक पाउनेमध्येका हुन् । त्यतिबेला अफिसरका विरुद्ध तल्लो तहका प्रहरी कर्मचारीहरुले विद्रोह गर्दा यिनी ज्यान जोगाएर भागेका थिए ।

फौजमा बिद्रोहलाई अक्षम्य अपराधका रुपमा लिइन्छ । समशेरगञ्जको सिको गर्दै पछि बाङ्लादेशमा पनि त्यस्तै बिद्रोह गरेर कमाण्डरहरुलाई मारिएको थियो । उक्त बिद्रोहमा जोडिएका अधिकारीलाई समेत पदकका लागि योग्य बनाइएकोमा सशस्त्र वृत्तमा चर्को असन्तुष्टि फैलिएको छ ।

सशस्त्रमा भाग्यमानी अफिसर भनेर चिनिएका प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाईं एसपी दिपेन्द्र कुँवरले पनि पदक पाएका छन् । उनले पहिला पनि दुई पटकसम्म पदक थापेका थिए । सशस्त्र स्रोतका अनुसार छिटो–छिटो प्रमोशन पाउने निकै थोरै अफिसरमध्यमा पर्छन् उनी । आफ्नो ब्याचमा सबैभन्दा अन्तिममा रहेर पनि उनले बढुवा र मालदार पोष्टिङ्ग पाउने गरेका छन् ।

सशस्त्रमा थुप्रै एसएसपी खालि भएको झण्डै १ वर्ष भैसकेको छ । तर, बढुवा गरिएको छैन । बढुवा रोकिनुमा समेत उनैलाई कारण मानिएको छ । एसपीबाट एसएसपीमा बढुवा हुन निश्चित अवधि पूरा गर्नुपर्ने हुन्छ । बढुवा नहुँदासम्म कायम मुकायम दिने प्रचलन छ । कायममुकायम दिँदा वरियताको क्रम मिच्न नपाइने नियम छ ।

वरियतामा तल रहेका कुँवरलाई अनुकूल हुने गरी बढुवा गर्न खोजिएकाले नियमित बढुवा प्रक्रिया अवरुद्ध भएको सशस्त्र स्रोत बताउँछ । एक महिनापछि रिटायर्ड हुन लागेका एसपी भेषबहादुर शाहको ठाउँमा ११ नम्बरमा पारेर उनलाई बढुवा गर्न खोजिएको आशंका छ । हाल उनी आर्मी कलेजमा अध्ययन गरेर राष्ट्रलाई अतुलनीय योगदान दिँदैछन् ।

पहिलो पटक तालिम गर्न नसकेर दोहो¥याएका देवराज जोशी पनि पदक पाउनेमा परेका छन् । अहिले मिसनका लागि विदेशमा रहेका उनको पदक पाउने योग्यतालाई लिएर प्रश्न उठेको बताइन्छ ।

पदक पाउनेमा आइजीपीका भतिजा शंकर खनाल पनि छन् । उनीसमेत कार्यसम्पादन र बोलीको प्रष्टताका आधारमा पदकका लागि योग्य नरहेको अधिकारीहरुको दावी छ । पदक हात पार्नेमा आइजीपी शैलेन्द्रकी श्रीमती सरिता पनि हुन् ।

टिप्पणीहरू