पर्खाल निर्माणको काम रोक्न अदालतको अन्तरिम आदेश

पर्खाल निर्माणको काम रोक्न अदालतको अन्तरिम आदेश

काँक्रेविहार संरक्षित वन क्षेत्रको निर्माणाधीन कम्पाउण्ड वालको काम रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ । अदालतका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले आज अन्तरिम आदेश दिएको हो ।

डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमाभन्दा ५–७ मीटर बाहिर पर्खाल निर्माण गरेको समाचार प्रकाशन भएपछि अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले निवेदकको मागदावीबमोजिम नै आदेश गरेको हो ।

आदेशमा हाल निर्माणाधीन पर्खाल रिट निवेदनको टुंगो नलाग्दासम्म स्थगित गर्न भनिएको छ । त्यस्तै, १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश पनि दिइएको छ।‘निवेदकले अन्तरिम आदेश माग गरेको तर्फ हेर्दा निवेदनमा उल्लेखित विषयवस्तु तथा निवेदनमा संलग्न फोटोहरु पत्रिकाका प्रतिलिपि समेतका कागजात प्रमाणबाट पर्खाल निर्माणको कार्य जारी रहेको देखिँदा निवेदकलाई पर्न जाने अपुरणीय क्षति तथा सुविधा र संतुलनको दृष्टिले प्रस्तुत निवेदन अन्तिम टुंगो नलाग्दासम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम काँक्रेविहार संरक्षित वन क्षेत्रभित्रको जग्गा छोडी ‘कम्पाउण्ड वाल’ (पर्खाल) निर्माण गर्ने कार्य नगर्नु, नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारि गरिदिएको छ’, आदेशमा भनिएको छ ।

यसअघि रिट निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, अधिवक्ता विद्याभूषण मानन्धर र निवेदक अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता भूषणकुमार र अधिवक्ता विद्याभूषण वीरेन्द्रनगर नगरपालिका –९ का स्थानीयसमेत हुन् ।

टिप्पणीहरू