एमसीसी कार्यालय तत्काल हटाउन विप्लव माओवादीको चेतावनी
नेकपा विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसीको कार्यालय हटाउन लिखित आग्रह गर्दै चेतावनी समेत दिएको छ । पाल्पाको रामपुरमा रहेको एमसीसीको शाखा कार्यालयका प्रमुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा कार्यालयलाई तत्काल हटाएर देशको स्वाभिमान र सार्वभौमिकताको संघर्षमा सहयोग गर्न ज्ञापनपत्रमा आग्रह गरिएको हो ।
आज दिउँसो रामपुर नगरपालिका ५, स्थित श्याम श्रेण्ठको घरमा रहेको एमसीसी परियोजनाको कार्यालयमा विप्लव समूहका आठ जना पुगेर उक्त पत्र बुझाएका हुन् । एमसीसीको बिरोध गर्दै रामपुर कार्यालयमा पुगेकाहरुमा विप्लव समूहको पाल्पा जिल्ला जनसरकार प्रमुख मिनबहादुर आले, मगर मुक्ति मार्चाका केन्द्रीय महासचिव इन्द्र घर्तीमगर, नरमबहादुर सार्कीसहित थिए ।
पत्रमा एमसीसी सम्झौता नेपालको सार्वभौमिकता, स्वाधिनता, संविधान, कानुन, सुरक्षा अन्तर्राष्ट्रिय मैत्रीसम्बन्ध विपरित रहेको उल्लेख छ । ‘नेपाल सरकारले समेत संसदबाट अनुमोदन गर्न नसकेको उक्त सम्झौतालाई जबरजस्ती लाद्ने कुचेष्टा नगर्न हामी चेतावनी दिन चाहन्छौं,’ पत्रमा भनिएको छ ।
टिप्पणीहरू