सर्वोच्चको इजलास फेरि बहिष्कार

सर्वोच्चको इजलास फेरि बहिष्कार

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आजका लागि तोक्नुभएको इजलास न्यायाधीशहरुले फेरि बहिष्कार गरेका छन् । आन्दोलनरत न्यायाधीशहरुसँग भएको सहमति विपरित सबै खालको मुद्दा पेसीमा तोकिएका कारण इजलास बहिष्कार गरिएको भनिएको छ ।

उनीहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक अरु नहेर्ने जनाउँदै आएका छन् । प्रधानन्यायधीश राणाले आज आफूसहित १० वटा इजलास २ सय ९८ वटा मुद्दा सुनुवाइका लागि राख्नुभएको छ । जसमा एउटा मात्र बन्दीप्रत्यक्षीकरणको मुद्दा पेशीमा चढेको छ ।

आज सर्वोच्चका १६ जना न्यायाधीशका लागि तोकिएका अन्य मुद्दाको इजलास न्यायाधीशहरुले बहिष्कार गरेका छन् । सर्वोच्चमा आज न्यायाधीशहरु तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासमा दिलबहादुर भण्डारी, कारागार कार्यालय झुम्का सुनसरी समेत रहेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ भएको छ । बाँकी १२ वटा मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।

सो बाहेकका अन्य इजलास भने न्यायाधीशहरूले बहिष्कार गरेका छन् । प्रधानन्यायधीश राणाले आजका लागि न्यायाधीशहरु दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासमा १५ वटा, मीरा खड्का र कुमार रेग्मीको इजलसमा १७ वटा, हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा १२ वटा, विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा १२ वटा मुद्दा तोक्नुभएको छ ।

त्यसैगरी न्यायाधीशहरु आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको संयुक्त इजलासमा एउटा, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा १२ वटा मुद्दाको पेशी तोकिएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको अर्को संयुक्त इजलासमा २४ वटा, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको संयुक्त इजलास पनि तोकिएको छ भने तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलास तोकिएकोमध्ये बन्दीप्रत्यक्षीकरणका बाहेक मुद्दा हेर्न न्यायाधीशहरुले इन्कार गरेका हुन् ।

टिप्पणीहरू