आन्दोलित न्यायाधीश, कर्मचारी र वकिलको विवरण संकलन जारी, अख्तियारमा उजुरीको तयारी
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीहरुको विवरण गोप्य तवरले संकलन गर्न थालिएको छ । सर्वोच्चको मुल गेटमा बसेर आन्दोलन गर्दै आएका वकिल, केही कर्मचारी र इजलास बहिष्कार गरेका न्यायाधीशहरुको शुक्ष्म विवरण संकलन गरेर उजुरी हाल्न लागिएको हो ।
राज्यकोषको तलब र सुविधा बुझेका न्यायाधीश, कर्मचारी र संविधानको वकालत गर्ने भनिएका कानुन व्यवसायीले सर्वसाधारणलाई न्यायबाट विमुख गराएकाले उनीहरुविरुद्ध उजुरी हाल्ने प्रयोजनको लागि यथार्थ विवरण संकलन गरिएको स्रोतले दाबी गरेको छ ।
अस्तिदेखि हुँदै आएको उक्त विवरण संकलन कार्य आज पनि सर्वोच्चमा गरिने प्रधानन्यायाधीश पक्षधर वकिल, सामाजिक अभियन्ताहरुले बताएका छन् । आज बिहान ९ बजेदेखि १० बजेसम्म सर्वोच्चको गेटमा बसेर आन्दोलन गर्नेहरुको थप विवरण संकलन र अनुगमन गर्न लागिएको हो ।
त्यसैगरी १० बजेपछि सबै कर्मचारीको कार्यकक्ष पुनः अनुगमन गरिने, इजलासमा नबस्ने न्यायाधीशको विवरणलाई अद्यावधिक गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्ने तयारी गरिएको हो । त्यहि तयारी र उजुरीबारे उनीहरुले आज दिउँसो गर्ने जनप्रदर्शनमा सार्वजनिक गर्ने बताएका छन् ।
टिप्पणीहरू