ओलीको निम्तो अस्वीकार गर्दै भुसालले भने ‘त्यस्ता कुरामा रुची छैन’
नेकपा एमालेका निवर्तमान उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अस्वीकार गर्नुभएको छ । स्रोतका अनुसार भेटका लागि ओलीको सन्देश लिएर पुगेका अर्का निवर्तमान उपमहासचिव विष्णु पौडेलमार्फत भुसालले भेटघाटका लागि इच्छुक नभएको जवाफ पठाउनुभएको हो ।
चितवनमा जारी एमालेको दशौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा आफू निर्विकल्प नेता रहेको सन्देश दिने ओलीको चाहना छ । तर, भुसालले भने उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । भुसालसँग भेटेर त्यसबारे थप छलफल गर्न ओलीले पौडेलमार्फत् सन्देश पठाउनुभएको बुझिएको छ ।
बताइएअनुसार भुसालसँगको भेटमा पौडेलले सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको प्रयासमा साथ दिन आग्रह गर्नुभएको थियो । भुसालले भने आफूले विधि, पद्धति र प्रक्रियामा मात्र विश्वास गर्ने भन्दै अन्य कुरामा आफ्नो कुनै रुची नभएको जवाफ फर्काएउनुभएको बताइन्छ ।
हिजो अबेर रातिसम्म चलेको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मका सबैजसोको नाम घोषणा गर्ने अधिकार ओलीलाई दिएको थियो । अध्यक्षका उम्मेदवार रहेका भीम रावल र भुसाल भने उक्त निर्णयलाई लिएर असन्तुष्ट हुनुहुन्छ । उहाँहरुले बन्दसत्रको हलभित्रै प्रतिवाद गर्नुभएको थियो ।
टिप्पणीहरू