​पुलिसको फुली, देउसी–भैलोमा भुली

प्रहरीका दुःख पनि कतिवटा भए भने, हिजोआज आइजिपीको मथिंगल अष्टमीका खसी–बोकाको झैँ, कसले कतिबेला मार हान्ला भनेर सजग हुनुपर्ने ! गर्दा सुख छैन, नगर्दा त झन् हुने कुरै भएन । 

महालेखाले सरकारी बेरुजुमध्ये फास्र्याेटमा राम्रो प्रगति गरेको भनी नेपाल प्रहरीलाई ठहर ग¥यो । आइजिपी सर्वेन्द्र त्यसबापत आफ्नो विभागीय मन्त्रालयबाट पुरस्कृत पनि भए । तर, विभागभित्रै खुट्टा तान्ने, होच्याउने र सुखले काम गर्न नदिने तत्व सल्बलाउँदा उनी हैरान छन् । अहिले प्रहरीसँग एक–एक एआइजी र डिआइजीको दरबन्दी खालि छ । आकांक्षी दर्जन बढी छन् । शक्तिकेन्द्रमा पहुँच नराख्ने कोही छैनन् । संगठन आइजिपीले चलाउनुपर्ने तर आफ्नै डिआइजीले कुराचाहिँ शक्तिकेन्द्रमा टावर खडा गरेर हल्ला पिटाउने भएपछि उनको मथिंगल खराब भएको हो । जसरी सर्वेन्द्र खनाल र उनीअघिका प्रकाश अर्यालले डिआइजीबाट एकैचोटि आइजिपी हुनुपर्ने परिस्थिति आयो, यसपछि पनि त्यस्तै अवस्था विद्यमान छ । यदि, अहिलेका डिआइजीहरू शैलेस थापाक्षेत्री, निरजबहादुर शाही, हरिबहादुर पालमध्ये एकजना अहिल्यै एआइजी भएनन् भने उनीहरूले पनि आउने माघमा डिआइजीबाट आइजिपीमा हाम्फाल्नुपर्ने स्थिति छ । 

यसमध्ये डिआइजी बढुवाका एक नम्बरका शैलेसलाई रिक्त एआइजी बनाउने विभागको चाहना तर शक्तिकेन्द्रमा फिट गरिएका टावरहरू कराउँदै छन्, ‘याद राख, दायाँ–बायाँ गरे ठीक हुन्नँ †’ शैलेस उपत्यकास्थित मेट्रो प्रहरी कमाण्ड गरिरहेका छन् र अहिले बढुवा गर्न मिल्ने एउटा एआइजी पद पनि मेट्रो कमाण्डरकै लागि हो । भइरहेको कमाण्डरलाई बढुवा गर्ने विभागीय तयारीलाई केही डिआइजीले यसरी तुहाउँदै आएका छन् कि, सुन्दा पत्याउन पनि मुस्किल । एआइजी हुने खेलोमा लागेका छन्, केदार रिजाल, तरिणी लम्साल, ठाकुर ज्ञवालीदेखि हरि पालसम्म । केदार आइजीकै व्याची हुन्, तारिणी र ठाकुर ०४७÷०३÷२५ का भर्ना, शैलेस, निरज, हरि ०४९÷०१÷१९ का भर्ना हुन् । पाए निरज शाहीले पनि किन छाड्थे र, तर उनी नेताकहाँ देउसी–भैलो खेल्न जान्दैनन् । शैलेस पनि देउसी–भैलेमा कमजोर हुन् । यसमा बलियो मानिने केदार र हरि पाल हुन्, जहाँ जे भन्दा, जे गर्दा हुन्छ, उनीहरूले त्यस्तो कला जानेका छन् । हरिबारे प्रश्न उठ्ने गरेको छ, भारतीय शैक्षिक प्रमाणपत्रको । तर, ती सबै सक्कली हुन् । 
अर्को लफडा छ, डिआइजीको । पद एउटा खाली, आकांक्षी अनेकन । एआइजीमा तर्कसहित जुन युनिटका लागि दरबन्दी स्वीकृत भएको हो, बढुवा त्यहीँबाट गर्ने भन्न सकिन्छ । तर, डिआइजी बनाउनचाहिँ ब्याचकै भविष्य निर्धारित हुने कारण समस्या परेको बताइन्छ । अहिले प्रहरी प्रवक्ताका रुपमा प्रभावकारी भूमिका निभाएका उत्तमराज सुवेदीलाई डिआइजी बनाउन आइजी इच्छुक भए पनि त्यही ब्याचका धीरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, विश्वराज पोखरेल, अरुण बिसीहरूलाई अन्याय हुन नदिन उत्तिकै सजग छन् । त्यसमाथि शैलेसहरूकै व्याची बसन्त पन्त, प्रकाशजंग कार्की, गणेश ऐरहरू अझै पनि एसएसपीमै अड्किएका छन् । तल्लो व्याच तान्दा त्यहाँ पनि समस्या छ । उत्तम, धीरजहरू ०४९/१२/११ का भर्ना हुन् ।

उता, मन्त्रीस्तरीय निर्णयबाट केही प्रदेश प्रमुखहरू फेर्ने तयारी भइरहेको छ । त्यसअनुसार प्रदेश १ मा प्रद्युम्न कार्की, २ मा तारिणी लम्साल, ३ मा विनोद शर्मा घिमिरे, ४ मा कमल जिटी वा नारायणसिंह खड्कामध्ये पठाउन आइजिपी इच्छुक छन् । यद्यपि, ‘देउसी–भैलो’ टोलीले यही विषयलाई पनि भित्रभित्रै ‘क्रोनिक’ बनाइरहेका छन् ।

त्यस्तै, चितवनको इप्रका टाँडीबाट हेडक्वार्टरका लागि काज सरुवा भएका दयानिधि ज्ञवाली केही दिनका लागि त्यहीँ बस्ने भएका छन् । उनले गरेको कमाण्डबाट प्रभावित भएर जिल्लाका नेताहरूले अहिले सरुवा नगर्न भनी गरेको अनुरोधस्वरुप उनी त्यहीँ बस्ने भएका हुन् । त्यहाँका लागि हेडक्वार्टरबाट काज सरुवा भएका डिएसपी सन्तोष आचार्यलाई जेठ लागेपछि टाँडीमा हाजिर गराइने हेडक्वार्टरको तयारी छ ।
उता, डिएसपी बिदा बसेको मौका छोपेर पाँच लाख रुपैयाँ आम्दानी गर्ने इन्स्पेक्टर अन्ततः जागिर जोगाउने झण्झटमा फँसेका छन् ।

इप्रका बुटवलमा डिएसपी वीरबहादुर मल्ल बिदामा भएको मौका छोपी निमित्त इञ्चार्ज चलाएका ऋषिराम घर्तिमगर यस्तो लफडामा परेका हुन् । कुरा यस्तो छ, बेलवासका कृष्ण पौडेलले जग्गा दलालीबाट कमाएको पैसाले हातमा आठ–दश तोलाको ब्रासलेट लगाउने भएका छन् । भर्खरै ओपनिङ भएको एक पार्टी प्यालेसमा भोज चलिरहँदा त्यसका सञ्चालकमाथि कृष्णले हातपात गरे । सिसा फुटाल्न खोज्दा आफ्नो पनि हातमा चोट लाग्यो । सय नम्बरमा खबर गयो, प्रहरीले उनलाई समातेर लग्यो । उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा लगे । उपचारका लागि लैजाँदा सिपाहीलाई ड्युटीमा राखियो ।

कृष्णलाई बर्दघाटमा कार्यरत सशस्त्रका डिएसपी नवीन खड्का भेट्न पुग्दा ड्युटी बसेको सिपाहीलाई त्यहाँबाट धपाए । त्यो कुरा प्रदेश प्रहरी कार्यालयमा पनि खबर भयो । इन्स्पेक्टर ऋषिरामले पीडितसँग कुरा मिलाउने भनेर पाँच लाखमा कुरा मिलाइसकेका थिए । पछि पीडित कृष्णले चित्त बुझाएनन् । मुद्दा दर्ता गर्छु भनेअनुसार दर्ता पनि भयो । पीडित घर फर्किए तर पाँच लाख पचाउन इन्स्पेक्टरलाई हम्मे प¥यो । १० नम्बर डायरीमा मुद्दा दर्ता गरेपछि सिद्धार्थ होटलमा कोठा लिएर थुनुवालाई राखे । बारमा बसेर इन्स्पेक्टर, पीडित भएर मदिरामा मग्न भए । राति १० बजे इन्स्पेक्टर पुगे । राति थुनुवालाई युवतीहरू सप्लाई पनि भएको छ । हिरासत हुँदाहुँदै मुद्दा चलेको मान्छेलाई होटलमा राख्ने, रक्सी खुवाउने, युवतीसँग रमाइलो गराउने अधिकार प्रहरीलाई छैन । अहिले ऋषिरामलाई स्पष्टिकरण सोधिएको छ ।

टिप्पणीहरू