​भ्वाङ त कति हो कति !

जुनियरहरूले अवसर पाउने तर सिनियरहरू गह्रौं मन बनाउँदै प्रदेशतिर धाउनुपर्ने ! यस्तै गाइजात्रा छ कर्मचारी समायोजनको नाममा ।

अनि प्रश्न उठ्न थालेको छ कि योग्यलाई पाखा अयोग्यलाई काखा च्यापेपछि कसरी पूरा होला समृद्धिको यात्रा ? अयोग्य र भ्रष्टाचारको बात लागेका सहसचिवलाई मालदार महाशाखाको ताला चाबी पाउने र वरिष्ठ सहसचिवलाई प्रदेशतिर खेदिएसँगै कृषि मन्त्रालयका कर्मचारीले उठाउन थालेको प्रश्न हो । आर्थिक चलखेलमा माहिर कनिष्ठ सहसचिव तेजबहादुर सुवेदीलाई सचिव युवकध्वज जिसीको इच्छाअनुसार कृषि मन्त्रालयको योजना महाशाखाको प्रमुख बनाइएको छ, सिनियर सहसचिव योगेन्द्रकुमार कार्कीलाई ३ प्रदेशतिर धकेलिएको छ । जबकि कर्मचारी समायोजन गरिँदा ज्येष्ठताको आधारमा गर्ने भनिएको छ । अर्थात् सिनियरलाई संघमा राख्ने र जुनियरलाई प्रदेशमा खटाउने तर कर्मचारी समायोजनको धज्जी उडाउँदै सचिव युवकध्वज जिसीले मन्त्रालयको योजना महाशाखामा आफू अनुकूलको ‘एसम्यान’ ल्याउन चाहन्थे । सहसचिवमा छड्के प्रवेश गरेका जिसीले पेन्सन पाउँदैनन् । त्यही कारण सचिव हुँदै उनी आफ्नो उठ्ती–पुठ्ती पूरा गर्न चाहन्छन् र त्यो योजना साकार पार्ने पात्रका रूपमा विगतमा कृषि तथा खाद्य सुरक्षा आयोजनाको आयोजना प्रमुख हुँदा थुप्रै काण्डमा मुछिएका जुनियर तेजबहादुरलाई च्यापेर योजना शाखामा तानिएको छ । 

मन्त्रालय कतिसम्म भद्रगोल ढंगले चलेको छ भने आधा दर्जनभन्दा बढी निकाय प्रमुख बेगर चलिरहेका छन् । त्यहाँ प्रमुखसमेत नियुक्त गर्न सकिएको अवस्था छैन् । जस्तोः नेपाल कृषि अनुसन्धान परिषद्को वाइ आर पाण्डे रिटायर्ड भएसँगै वैद्यनाथ महतोले केही समय कामु चलाए । तीन महिनादेखि टेकबहादुर गुरुङले कामु चलाइरहेको अवस्था छ । त्यहाँ प्रमुख नियुक्त गर्न सकिएको छैन । उस्तै हाल छ दुग्ध विकास संस्थानमा । गंगाप्रसाद तिमिल्सिनाले उमेर हदका कारण अवकाश पाएसँगै महाप्रबन्धक पद रिक्त रहेको ६ महिना बढी भइसक्यो त्यहाँ ईश्वरीप्रसाद न्यौपानेले कामु चलाइरहेका छन् । उनी पनि यही १९ गते घर जाँदै छन् ।

उस्तै गाईजात्राबीच एक वर्ष निमित्त चलाएर अम्मरराज खैर कृषि सामग्री केन्द्रबाट अस्तिदेखि उमेदहदका कारण घर फर्किएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डमा उस्तै अवस्था छ । कैलाश ढुंगेल प्रदेशको निर्वाचनमा लड्न गएदेखि त्यहाँ पद रिक्त छ । त्यहाँ डेढ वर्षदेखि बाबुकाजी पन्तले निमित्त कार्यकारी खाइरहेका छन् । यस्तै, चिया तथा कफी विकास बोर्डका प्रमुख शेषकान्त गौतम केही सातापछि घर जाँदै छन् । उता, मन्त्रालय मातहतकै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डिजी छन् सञ्जीव कर्ण । उनी त्यही व्यापारीरूो स्वार्थअनुसार काम गरिरहेका कारण तीन वर्षदेखि त्यहीँ टिकिरहेका छन् । डिजी बन्ने लाइनमा छिन् उपमहानिर्देशक मतिना जोशी वैद्य । तर, रमाइलो कस्तो भने मन्त्रीले कर्णलाई फालेर मतिनालाई महाप्रबन्धक बनाउन खोज्दै छन् तर राज्यमन्त्री रामकुमारी चौधरी सञ्जीव कर्णको पक्षमा उभिँदा त्यहाँ पनि लफडा देखिएको छ । यही लफडाका कारण त्यहाँ ३ महिनादेखि डिजी कर्ण र मतिनाबीच बोलचाल बन्दको स्थिति छ ।

टिप्पणीहरू