​कता हराए यी ‘होनहर’ कमरेडहरु !

मान्छेले समयलाई बुझेन भने समयले पनि मान्छेलाई ‘हेरौँला–पखौँला’ नभन्दो रहेछ ! यदि त्यस्तो हुन्थ्यो त नेपाली राजनीतिमा उदाएका केही पात्र अहिले पनि उही रफ्तार र गतिका साथ हामीसामु हुन्थे । तर, समयले तिनलाई नराम्रोसँग बढारिसकेको छ ।

भर्खरै माओवादी शान्तिप्रक्रियामा आएको बेला वाइसिएलको कत्रो जग्जगी थियो, कसैले बिर्सेका छैनन् । त्यसमा पनि उपत्यका इञ्चार्जको रुपमा गुल्मीका चन्द्रबहादुर थापा (सागर) बोलेपछि प्रचण्ड बोलेसरह हुने दिन थियो । ०५५ सालसम्म एमाले हुँदै माले अखिलमा काम गरेर माओवादीमा प्रवेश गरेका उनी ०६४ को पहिलो संविधानसभामा आफ्नै गुरु तथा साथीका दाइ गोकर्ण विष्टसँग चुनाव लडे । गोकर्णहरुलाई गाउँ छिर्नै नदिई एकतिहाई बहुमतका साथ जिते पनि । र, प्रचण्डको भर बने, वाइसिएलका नवप्रवेशी युवाको आडमा । एउटा घटना बिर्सन नसकिने खालको छ । पुष्पकमल  दाहालले प्रधानमन्त्री रहेकै बेला प्रधानसेनापति रुक्माङ्द कट्वाललाई बर्खास्त गरी कूलबहादुर खड्कालाई सो पदमा नियुक्त गरे । यसपछि नेपालको राजनीतिमा ‘यसो होला कि उसो होला’ भन्दै अनिश्चय र संकटको बादल मडारिन थाल्यो । सेनाले सिंहदरबार, बालुवाटार र पुल्चोकमा घेरा हाल्दै छ भन्ने सूचना पाएका थिए, प्रचण्डले । उनैले मन्त्रीबाहेक सबैलाई उपत्यका छाडेर सुरक्षित हुन भनेबमोजिम सबैजसो केन्द्रीय नेता हिँडे । बाहिर जति फूर्तिफार्तिसँग बोले पनि प्रचण्ड आफैँचाहिँ बालुवाटारभित्र बन्दी हुन्छु भन्ने त्रासमा थिए । वाइसिएलका उपत्यकास्थित सबै शिविरमा सेना परिचालित हुने सूचना पनि थियो । यस्तो भएपछि उनले सागरलाई फोन गरेर ‘के गर्न सक्नुहुन्छ ?’  भनी सोधे । सागरले ‘तपाईं आरामले सुत्नुस्, हामी केही हुन दिँदैनौँ’ भने । उपत्यकाभरका शिविरबाट वाइसिएलका झण्डै २५ सय कार्यकर्ता रातभर सडक गस्तीमा निस्किए । शिविरमा कोही बसेनन् । बालुवाटारभित्रमात्रै ५० भन्दा बढी र बाहिर अर्को ५० जनाको घेराबन्दी, सिंहदरबार र पुल्चोक भित्र–बाहिर त्यति नै संख्यामा, सेनाका विभिन्न व्यारेक–व्यारेक वरिपरि बाँकी कार्यकर्ता सागरले परिचालित गरे । यस्तो भएपछि एकजना जर्नेलले प्रचण्डलाई अनुरोधको शैलीमा राति खबर पठाए, ‘त्यस्तो केही हुँदै छैन । त्यसकारण, वाइसिएलको गस्ती बन्द गराइदिनुप¥यो ।’ त्यतिबेला काठमाडौं वाइसिएलका अध्यक्ष शिव कोइराला (ज्वाला) र उपाध्यक्ष मानबहादुर तामाङ (शिशिर) सहितको ठूलो जत्था भैरवनाथ गणको बाहिरी भाग घेरेर बसेको थियो । त्यहीँ अर्को टोली बस्यो भैरवनाथ गण भित्रबाट निस्कने प्रत्येक गाडी कहाँ–कहाँ पुग्छ भनेर रेकी गर्दै । यही देखेर जंगी अड्डामा खबर पुगेको रहेछ । प्रचण्ड आफैँले फोन गरेर गस्ती बन्द गर्न भने । तर, सागरले मानेनन् । ‘तपाईं हुन्छ भनिदिनुस्, तर हामी कमाण्ड छाड्दैनौँ । हामीलाई पार्टी र क्रान्तिको चिन्ता छ । त्यसैले किन छाडेनन् भनेर सोधे भने साथीहरुले टेरेनन् भनिदिनुस्…’ उनले भने । भयो पनि त्यही । भोलिपल्ट विहान प्रचण्डले सागरलाई बोलाएर धन्यवाद मात्र दिएनन्, ‘तपाईं नभएको भए हिजोको रात एकजुनी बराबर हुने रहेछ’ भनेर हर्षको आँशु नै बगाए । 

सागरले यो सम्बन्धलाई आर्थिक लाभमा उपयोग गरे । पैसा यति कमाए कि, राख्ने ठाउँ नभएर चिनेजतिका मान्छेलाई चलाउन दिए । त्यसमध्ये धेरैले पैसा खाइदिए । पार्टीले पटक–पटक सोध्यो । जवाफ दिएनन् । बरु, नेतृत्वले क्रान्तिलाई धोका दियो भन्दै अन्तर्वार्ता दिन थाले । हिजोका सेल्टरदाताहरु सम्झिँदै विभिन्न गतिविधि चलाए । तर, भित्री रुपमा पार्टी र संगठनको नाममा आर्थिक लाभ जुटाउन नै सक्रिय भए । वाइसिएल पुनर्गठन हुने भयो । सागरको माग थियो, केन्द्रीय अध्यक्ष बनाइनुपर्ने । तर, सम्भव भएन । क्याबिनेट मन्त्री मागे । त्यो त झनै सम्भव थिएन । यसपछि निरन्तर प्रचण्डलाई धम्क्याउन र घुक्र्याउन थाले । प्रचण्डले पनि पूरै बाइपास गर्ने नीति लिए । फलतः उनले पार्टी छोडे । अहिले ‘देशभक्त राष्ट्रवादी पार्टी’ खोलेका छन् । उक्त पार्टीमा पूर्वमाओवादी कोही छैनन्, सागरबाहेक । पहिला ४०–५० जना कार्यकर्ता अघिपछि नलागेको दिन हुँदैन थियो । तर, अहिले कहाँ छन्, के गर्दैछन्– जनता बेखबर छन् । 

पूर्वएमालेमा रुपनारायण श्रेष्ठ यस्तै थिए । ०४६ पछि प्रत्येक आन्दोलन, झडपमा उनलाई नदेख्दा नेताहरु अत्तालिन्थे । किनभने, उनीसँग खुकुरी जत्था परिचालन गर्ने तागत र साहस पनि थियो । तर, ती बाहुबलीलाई पार्टी र आन्दोलनको पक्षमा हैन, व्यक्तिगत आयआर्जनका लागि प्रयोग गर्दा उनी क्रमशः पार्टी जिम्मेवारीबाट विमुख हुँदै गए । बबरमहलमा अहिले बनिरहेको आर्कब्रिजसँगै मेगा कलेज भएको घर हेर्नुस्, २० वर्षअघि रुपनारायणले हात पारेको । अहिले महिनाको झण्डै आठ–दश लाख रुपैयाँ घरभाडा उठाउँछन् । तर, भएको आम्दानीमा चित्त नबुझाउँदा र अझै पैसाको लोभ गर्दा ०७४ मा स्थानीय चुनावअघि मोरङ, मिक्लाजुङ गाउँपालिकाको टिकट काण्डमा फँसेर फेरि अप्ठेरोमा परे । यसबाहेक पैसाका अनेकन काण्डबारे पार्टीदेखि प्रहरी कार्यालयसम्म उजुरी पर्ने काम भइरह्यो । फलतः पूर्वएमालेका केन्द्रीय सदस्य, मोरङ सहइञ्चार्ज रहेका उनी गत वर्षको पार्टी एकीकरणपछि बनेको चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीभित्र परेनन् । 

यी त प्रतिनिधिपात्र भए । पार्टी र व्यक्तिगत लोकप्रियतालाई आर्थिक आर्जनमा दुरुपयोग गर्ने यस्ता अनगिन्ती पात्रलाई समयले छाडेर हिँडेका अनेकन दृष्टान्त छन् । अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली आर्थिक मामिलामा निक्कै कडा र अनुशासित हुनुहुन्छ । तर, उहाँको नाममा बजारमा अनगिन्ती नयाँ–नयाँ ‘सागर’ हरु छरिएका छन् । दरबारमार्ग, लैनचौर, लाजिम्पाट, टंगाल र नक्सालतिरका क्याफे, लाउञ्जबारहरु छाँद मार्ने हो भने एक साँझ दर्जनभन्दा बढी ‘सागर’ हरु फेला पर्छन् । सांसदको फुली भिरेकादेखि युवा, विद्यार्थी, वकिल, पत्रकार र झापालीका नातासम्म देखाएर यस्तो धन्दा चल्ने गरेको छ । नाम किटान गरिदिएर कसैको रोजिरोटी बिगार्ने उद्देश्य जनआस्थाको नभएको हुँदा अहिल्यै नाम नतोकौँ । तर, ‘बा’ भन्दै लखनौं लुट मच्चाउने यस्ता पात्र घटेनन्, बरु बढेका छन् ।

गिरिजाप्रसाद कोइराला शक्तिमा हुञ्जेल अमरेशकुमार सिंहहरुले देशै आफूले चलाएजस्तो मानिसहरुसँग विभिन्न सौदाबाजी गरे । एउटा बैठकमा गिरिजाले मुखै खोलेर भन्नुप¥यो, ‘अमरेश, तिमी केही पनि होइनौ, कोही पनि होइनौ †’ सुशील कोइराला प्रधानमन्त्री हुञ्जेल निक्कै चल्तिफिर्तीमा थिइन्, मृदुला कोइराला । उनी पनि हराइन् । कांग्रेसकै नाममा ‘पावर ब्रोकर’ बनेकी निर्जला राउत दक्षिण भारतीय पतिलाई विदेशतिरै राखेर अहिले शरद्सिंह भण्डारीसँगै राजपामा पुगेकी छन् । अहिले शेरबहादुर देउवा प्रधानमन्त्री छैनन् । तर, उनको नाममा साला भूषण राणाहरुको बजारभरि जग्जगी नै चलेको छ । 

०३६ सालको विद्यार्थी आन्दोलनमा नाम कहलिएका नेता थिए, कैलाश कार्की, शरणविक्रम मल्लहरु । तर, यी विभिन्न पात्रहरु धुम्रकेतुजस्तो कताबाट आए, कता गए । यस्ता प्रबृत्तिका मानिसहरुको नियति नै हो, छिटो कमाऊ, बदनाम होऊ र गुमनाम होऊ !

टिप्पणीहरू