बालुवाटारको फाइल कता बेपत्ता
छलफल र तर्कका अनेकन कोणहरु मिल्न नसक्दा अन्ततः एउटै मापदण्डको आधारमा सत्तारुढ नेकपाले भूगोलतर्फ ७७ जिल्ला कमिटी घोषणा त ग¥यो, तर फेरि गाँठो परेको छ, एकताकै ।
शनिबार चीनबाट फर्किएका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिकातिर लागेपछि अब २१ गतेसम्मका लागि बाँकी एकता टरेको छ । सोमबार बिहान बालुवाटारमा एकताका बाँकी काम टुंग्याउने एजेण्डासहित सचिवालय बैठक त बस्यो, तर एकमत नहुँदा फेरि केही समयका लागि त्यो काम टरेको छ । पोलिट्व्युरो गठनका क्रममा पूर्वएमालेबीचको विवादका कारण निश्कर्षमा नपुगेपछि बालुवाटार जग्गा प्रकरणमा अनौपचारिक छलफल गर्दै बैठक टुंगिएको एक नेताले जनआस्थालाई बताए । पूर्वएमालेका तर्फबाट एकीकृत पार्टीमा तत्कालिन पोलिट्व्युरोका सबै सदस्य पर्ने भएका छन् । तर, समस्या छ, थपिनुपर्ने २० प्रतिशतका नाममा । टुप्पोबाट पलाएका पूर्वकेन्द्रीय सदस्यको नाम पनि पोलिट्व्युरोमा देखेपछि माधव पक्षले ‘बरु पोलिट्व्युरो नै नबनाउँदा राम्रो हुन्छ’ भन्ने स्थिति आएको बताइन्छ ।
सात प्रदेश र ७७ जिल्ला कमिटीको एकता टुंगिएपनि प्रवास, पेशागत–बुद्धिजीवी प्रदेश कमिटीसहित मजदुर, विद्यार्थी, उद्योग बाणिज्य र पेशागतका जिल्ला कमिटीहरुको एकता बाँकी नै छन् । केन्द्रीय कमिटीको कार्यविभाजनमा सचिवालय प्रवेश नै गरेको छैन । जनसंगठनको एकता टुंग्याएपछि केन्द्रीय सल्लाहकार, विभाग र आयोग बनाउने तयारी छ । जनसंगठनमा मजदुर, किसान, विद्यार्थीसहित १२ वटा पूर्वएमाले, युवा, महिला, जनसाँस्कृतिक, प्रेससहितका नौमा पूर्वमाओवादी केन्द्रको भागबण्डा लागिसकेको छ । स्रोतका अनुसार, केही विषयमा वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष केपी ओलीबीच सहमति भइसकेको कारण माधव फर्किनुअघि नै निर्णय हुने सम्भावना पनि छ । पोलिट्व्युरोलाई थाती राखेर अरु काम अगाडि बढाउनेबारे पनि छलफल भइरहेको बताइन्छ । यदि त्यस्तो भएन भने २१ गते माधव अमेरिकाबाट फर्किएपछि २२ गते बैठक बसेर बाँकी एकता सम्पन्न गरिनेछ ।
तर, सबभन्दा बढी विवाद आएको केही प्रदेश कमिटी सदस्यका कुराहरु अब नउठ्ने गरी टुंग्याइएको छ । गत मंसिरमा घोषित प्रदेश कमिटी नै आधिकारिक हुने गरी जिल्लाको एकता अगाडि बढ्ने निर्णयपछि यस्तो भएको हो ।
आइतबारको बैठकमा बालुवाटारको विवादास्पद जमिन खरिद प्रकरणबारे कुरा उठ्यो, तर एजेण्डाको रुपमा हैन । अनौपचारिक रुपमा कुरा उठेपछि प्रधानमन्त्री केपी ओलीले भन्नुभयो, ‘अध्ययन गरिँदैछ, त्यत्तिकै बोल्ने कुरा होइन । महासचिव जोडिएका कारण अलिक हल्ला भयो, उहाँले खण्डन गरिसक्नुभयो ।’ बैठकमा रहेका सबैजसो नेताले सबै कागजपत्र झिकाएर अध्ययन गर्नुपर्ने र जनतामा स्पष्ट पार्नुपर्ने कुरा उठाए । तर, समस्या रहेछ, अहिलेसम्म ललिता निवासको जग्गासम्बन्धी सम्पूर्ण फाइल नै गायव हुनु ।
टिप्पणीहरू