बल्ल भेटियो बगाएको बन्दुक

  • अम्बिका भण्डारी 

जनमुक्ति सेनाको डिभिजन १ मा रहेको एकमात्र अत्याधुनिक हतियार एम–१६ खोलाले बगाएको १६ वर्षपछि थोत्रिएको अवस्थामा फेला परेको छ । 

०६० असार २० गते प्रथम डिभिजनअन्तर्गत कम्पनी कमाण्डर लेन्जोको नेतृत्वमा रहेको टोलीले बोकेको हतियार बगाएपछि माओवादीमा ठूलै बवण्डर मच्चिएको थियो । 

लिम्बू थरका ताप्लेजुङे लडाकुले सो हतियार बोकेका थिए । कम्पनी कमाण्डरले हतियार लिएर बाढी आएको खोलामा नजा भन्दाभन्दै अटेर गरी ती जनसेना खोला तर्न तम्सिएका थिए । हतियार बगाएपछि लेन्जोले ‘बरु तँ बगेको भए चित्त बुझ्थ्यो तर एम–१६ बगाएर बर्बाद गरिस्’ भन्दै बेस्सरी गाली गरेको बताइन्छ । डिभिजनको एक मात्र अत्याधुनिक हतियार बगाएपछि धेरै दिनसम्म जनमुक्ति सेना खटाएर बक्राहामा खोजिएको भए पनि पत्तो लागेको थिएन ।

बेनोज–प्रभात स्मृति अभियानअन्तर्गत मोरङ जिल्लाको तत्कालीन मधुमल्ला गाविस– ७, चखटेमा रहेको ३ बिघा जग्गामा सामुहिक धान रोपाइँ सकेर बक्राहा खोला तर्ने क्रममा हतियार बगाएको हो । अभियानकी टोली नेता रचनाको नेतृत्वमा रहेको टोलीले ३० छापामारसहित १ सय ३३ पुरुष र ७४ महिला खटाएर ३ बिघामा रोपाइँ सकेको थियो । तत्कालीन माओवादीका एक नेताका अनुसार सो खेतीका लागि ७४ हल गोरु प्रयोग गरिएको थियो । मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी–बक्राहा खोलामा वैशाख १५ गते पुरिएको अवस्थामा एम–१६ फेला परेको हो । 

नेपाली सेनाले मात्रै चलाउँदै आएको एम १६ ए टु हतियार फेला परेको मोरङ प्रहरीले जनाएको छ । जसमा प्रोपर्टी अफ युएस गभरमेन्ट लेखिएको छ । सो हतियार क्यालिबर ५.५६ एमएम र ७४६२५६२ नम्बरको हो । 

प्रथम डिभिजनअन्तर्गत तत्कालीन माओवादीका हतियार बगाएका, हराएका वा लिएर भागेका धेरै उदाहरण छन् । तर, अरू हतियार एम–१६ जति शक्तिशाली थिएनन् । इलाम सदरमुकाम आक्रमण गरेर फर्कने क्रममा ५ जना लडाकु लुभु घाटको झोलुंगे पुल तर्न लाग्दा सेनाले आक्रमण गरेपछि २ जना हतियारसहित तमोर नदीमा बगेर गायब भएका थिए । मिलन, दीपक, विश्वास, विजय र वर्षा सो टोलीमा रहेको बताइए पनि त्यसबेला को, को बेपत्ता भए भन्ने यकिन गर्न खोज्दा सोही क्षेत्रमा रहेका माओवादी कार्यकर्ताले पुष्टि गर्न सकेनन् । 

०६० चैत २२ गते मकवानपुरको राक्सीराङ खोलाकिनारमा समेत एउटा एसएलआर भेटिएको थियो । ३ सय थान गोलीगठ्ठासहित भेटिएको सो हतियारबारे स्थानीयले सूचना दिएपछि प्रहरीले उठाएर लगेको थियो ।

०६०/६१ सालतिर मोरङकै चिसाङ खोला तर्ने क्रममा सुष्मिता नामकी एक हतियारधारी माओवादी कार्यकर्ता झण्डै बगेकी थिइन् । त्यसैताका भोजपुरस्थित जनमुक्ति सेनाको टोलीबाट उम्किएर एक छापामारले हिलेस्थित नेपाली सेनाको बाहिनीमा आई एसएलआर बुझाएका थिए । २०६० सालमै धनकुटाको राजारानीमा रहेको जनमुक्ति सेनाको टोली र कमाण्डरलाई छक्याएर भागेका एक छापामारले झण्डै एउटा एसएलआर सुरक्षाकर्मीलाई बुझाएका थिए । भागेका छापामारलाई पछ्याउँदै आएर माओवादी कार्यकर्ताले मोरङको केराबारी बजारमा सो हतियार खोसी लगे । 

टिप्पणीहरू