एमाले बैठकका झाँकी,कोही खसालिए,कसैका जिम्मेवारी बाँकी

एमाले बैठकका झाँकी,कोही खसालिए,कसैका जिम्मेवारी बाँकी

एमाले केन्द्रीय समितिको दुई दिने दोस्रो बैठक हिजो सकिएको छ । अस्तिबाट शुरु भएको बैठक विभिन्न १५ वटा एजेण्डामा छलफल गरेर अहिलेलाई सकिएको निर्णय सुनाइएको थियो ।

केन्द्रीय समिति,पोलिटब्युरो र स्थायी समितिमा मनोनयन,प्रदेश इञ्चार्ज र पदाधिकारीको चयन,कार्यविभाजन लगायतका विषयमा निर्णय गरिएको छ । तर,बैठकमा उपस्थित पदाधिकारीहरुसमेत अध्यक्ष केपी शर्मा ओलीले वाचन गर्नुभएको नाम सुन्ने स्रोता मात्रै भएको सहभागी एक जना केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

उनले भने, ‘अस्ति पेश गरिएका सबै १५ वटा एजेण्डाको निर्णय अध्यक्षले पढेर सुनाउनुभयो । कसैको आपत्ति सुनिएन । कसै कसैले सामान्य गुनासोरुपी सुझाव दिएका थिए । बाहिर आएजस्तो बैठकमा चर्को कसैले बोलेनन् ।’ उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले नजिकै रहनुभएका अध्यक्षले सुन्नेगरी यसो गरेको भए अझ राम्रो हुन्थ्यो कि ! भन्ने आशयले कुरा राख्नुभएको बताइन्छ ।

बैठकमा सहभागी कतिपयले पोलिटब्युरोमा नपरेकोमा भित्रभित्रै दुःखेसो पोखे तर सतहमा छताछुल्ल पार्ने आँट गरेनन् । कतिपयले वरिष्ठतामा चित्त नबुझाएको भनियो तर तिनका समेत मुखबाट कुनै बोली निस्केन । त्यसैले उनीहरुको आवाज बैठकमा कसैले सुन्ने कुरै भएन ।

एक जना स्थायी समिति सदस्यले भनेका छन्, ‘कतिपयले स्थायी समितिमा गरिएको मनोनितको नामलाई लिएर आफ्ना कुरा राख्नुभयो । उहाँहरुले विशेषगरी अध्यक्षज्यूलाई जानकारी गराउने उद्देश्यले फलानो भूगोलबाट छुट्यो,फलानो व्यक्ति छुट्यो भन्नुभएको हो । फरक मत राख्नुभएको होइन ।’

हिजो मनोनयनमा छुटेको नाम उल्लेख गर्दै जाँदा एक सय जनाभन्दा बढीको नाम लिइएको थियो । उनीहरुले आफ्नो भूगोल, जिल्ला र क्षेत्रका कमरेड छुटेको बारे सुझाव दिइएको बताएका छन् । एक जनाले जनाआस्थासँग भने, ‘हामीले रिस पोखेका होइनौं है !’

पोलिटब्युरोको नाम प्रस्ताव गर्दा विशेषगरी केही सदस्यले पुराना केन्द्रीय सदस्य छुटेको भन्दै स्मरण गराउने उद्देश्यले बोलेका थिए । तर, त्यो आग्रहलाई नेतृत्वले ‘मैले बुझेँ’ भन्ने आशयले बडी ल्याङ्वेजबाट जवाफ दिएको थियो । सहभागीहरुको आशय चाहिँ , ‘उहाँहरु नछुटेको भए हुन्थ्यो भन्ने’ मात्रै थियो ।

अर्को कार्यविभाजनसम्बन्धी एजेण्डाको निर्णयमा कसैको पनि टिप्पणी नसुनिएको एक जना नेताले जानकारी दिएका छन् । त्यसबारे कसैलाई केही भन्नुपर्ने लागेको छ भने जसको सुझाव हो लेखेर दिनु भनेर निर्देश गरिएको थियो ।

स्थायी समिति मनोनयन प्रस्तावको नाम विना अवरोध वा असहमति अनुमोदन भएको थियो । बैठक सकिएपछि कसै कसैले भनेको विषयले कुनै अर्थ नराख्ने अध्यक्ष ओली निकटस्थ कमरेडहरुले बताएका छन् ।

टिप्पणीहरू