नारायणीको तीरमा चोपलिएको कम्युुनिस्ट आदर्श र निष्ठा
हेर्दा सामान्य नै लाग्नसक्छ तर बुझ्दा यो असामान्य हो । नारायणीको तीरमा उपस्थित मान्छे सामान्य मान्छे थिएनन् । उन्नति र बिकासको चाहना नराख्ने त यो दुनियाँमा को होला र ? तर यी मान्छेहरु योभन्दा पनि ठूलो आदर्शको चाहना राख्ने, सबैको निम्ति न्याय र समानता हुनुपर्छ र त्यो दिलाउने काम कम्युनिस्ट पार्टी र त्यसको सरकारले मात्रै गर्नसक्छ भनेर बिश्वास राख्ने मान्छेहरु थिए ।
ती खेतमा हलो जोत्नेहरु थिए, गाईभैंसीको दूध दुहुने थिए ,घरको गाह्रो उठाउने, कपडा सिलाउने मान्छेहरु थिए र यस्तै यस्तै पौरख गरेर खाने मान्छेहरु थिए । तर जब नारायणीको सम्बोधन सकियो र त्यो भीड सौराहातिर प्रस्थान गर्यो पौरख गरेर खाने ती सबै मान्छेहरु बिचल्लीमा पारिए।तिनले सौराहा कहाँ पर्छ र कस्तो छ भनेर भेउसमेत पाउन सकेनन् । ती सौराहा जान पाएनन् । तिनले महाधिवेशन हल देख्न पाएनन् ।
क्याटरिङ्गको खाना खान पाएनन् अर्थात तिनीहरु सौराहा नगई घर फर्किए। तर नेतृत्वको सिङ्गो पंक्ति,राजकीय ओहोदामा रहेका र छ करोडको गाडीमा शयर गर्नसक्ने क्षमता भएका कामरेडहरु भने सर्लक्कै उठेर सौराहाका फाइभ स्टार होटलहरुको वातानुकूल कोठामा पुगे। एउटा कम्युनिस्ट पार्टीको महाधिवेशनमा यो हदसम्मको विभेद र असमान ब्यवहार न हिजो कतै भयो र न भविष्यमा हुनेछ ।
आजको एमाले बिज्ञानलाई छोड्ने र भावनात्मक कुरालाई अँगाल्नेतर्फ अग्रसर देखिन्छ। धर्म ब्यक्तिको निजी मामिला हो । ऊ आफ्नो हिसाबले मन्दिर , मस्जिद ,चर्च वा गुरुद्वारा जहाँ पनि जानसक्छ। कम्युनिस्ट पार्टी त्यसरी जान सक्दैन । तर एमालेको वर्तमान नेतृत्वले सुविचारित ढंगले खास धर्मको प्रचारमा, त्यसको संरक्षणमा पार्टीलाई लगाउन खोजेको देखिन्छ। मालेवादमा हिन्दुत्ववादलाई प्रबेश गराउने जमर्को गरिरहेको देखिन्छ।
के कम्युनिस्ट पार्टीको नेतृत्व आफ्ना कार्यकर्ताहरुलाई बाटोमा अलपत्र छोडेर आफू फाइभ स्टार होटलको वातानुकूलित कोठामा ऐस गर्दै महाधिवेशनको हलमा प्रवेश गर्न सुहाउने कुरा हो ? तर यो तीतो यथार्थ हो,ठ्याक्कै यहि भयो । यो कम्युनिस्ट चरित्र होइन हुँदै होइन । हेर्दा केही होइन जस्तो लाग्ने यो कार्य ज्यादै नै डरलाग्दो बिचलन हो तर यसप्रति कसैले पनि ध्यान पुर्याउन सकेको देखिन्न।
कम्युनिस्ट पार्टीले धर्म,राष्ट्रवादजस्ता ब्यक्तिको निजी तर भावनात्मक बिषयलाई चुनाव जित्ने हत्कण्डाको रुपमा प्रयोग गर्नै सक्दैन र गर्दैन । एमालेले यस्तो बिषयबाट आफूलाई अलग राख्नुपर्छ । कम्युनिस्ट पार्टीको सिद्धान्त मालेमावाद नै हो । बिज्ञानले सहि मानेका कुराहरु नै मालेवादीहरुले मान्ने हो ।
तर आजको एमाले बिज्ञानलाई छोड्ने र भावनात्मक कुरालाई अँगाल्नेतर्फ अग्रसर देखिन्छ। धर्म ब्यक्तिको निजी मामिला हो । ऊ आफ्नो हिसाबले मन्दिर , मस्जिद ,चर्च वा गुरुद्वारा जहाँ पनि जानसक्छ। कम्युनिस्ट पार्टी त्यसरी जान सक्दैन । तर एमालेको वर्तमान नेतृत्वले सुविचारित ढंगले खास धर्मको प्रचारमा, त्यसको संरक्षणमा पार्टीलाई लगाउन खोजेको देखिन्छ। मालेवादमा हिन्दुत्ववादलाई प्रबेश गराउने जमर्को गरिरहेको देखिन्छ।
एउटा कम्युनिस्ट पार्टीले धर्मको प्रवर्द्धन गर्नु आफैमा ठूलो सैद्धान्तिक बिरोधाभाष त हो नै साथसाथै यस्तो कामले अन्धबिश्वास र अन्धभक्ततालाई जन्म र बढावा दिन्छ। कम्युनिस्ट क्रान्तिकारी हुँ भन्ने एकजनाले पनि यस्तो प्रबृत्तिको बिरोध वा असहमति प्रकट गरेको थाहा पाइएन । उग्र वा अन्ध राष्ट्रवादले पनि देश र जनताको हितभन्दा पनि अहित गर्दछ।
आफूसंग असहमत हुने जोसुकैलाई यसखाले सोचले राष्ट्र बिरोधी ,गद्दार भनेर लान्छना लगाउनु ,मान्छेलाई असहिष्णु बनाउनु र समाजमा द्वन्द जन्माउनु अन्ध राष्ट्रवादको चरित्र हो । यस्तो बिचारले एकल भाषा,एकल धर्म,एकल जाति, एकल संस्कृति र एकल नेतृत्वलाई प्रवर्द्धन गर्दछ।यसखाले अन्धराष्ट्रवाद कस्तो हुन्छ भन्ने कुरा मोदी नेतृत्वको आजको भारतलाई हेर्दा थाहा पाइन्छ । अन्ध राष्ट्रवादले देश र जनताको हित कहिले पनि गर्न सक्दैन । यो कुरा बुझ्नु जरुरी छ।
कम्युनिस्ट पार्टी भनेको न्याय ,समानता र भाइचारालाई प्रवर्द्धन गर्ने पार्टी हो ।कम्युनिस्ट पार्टीभित्र हाम्रो समाजको चरित्र प्रदर्शित हुनुपर्दछ।हाम्रो सामाजिक बनावटको प्रतिनिधित्व त्यहाँ झल्किनु पर्दछ।सबै प्रकारका फूलहरु फुल्ने वातावरण हुनुपर्छ अर्थात बिचारहरु बन्ने र बिकसित हुने वातावरण हुनुपर्छ । सारमा भन्दा कम्युनिस्ट पार्टी भनेको सप्तरङ्गी इन्द्रेणी जस्तो हुनुपर्छ । यस्तो भयो भने मात्रै कम्युनिस्ट पार्टीले समाजको, सबै जातजाति , सम्प्रदाय ,लिङ्ग र वर्गको सहि प्रतिनिधित्व गर्नसक्छ।
तर आजको कम्युनिस्ट पार्टी एकल पहिचानवाला जस्तो,तानाशाही जस्तो ,दक्षिणपन्थी जस्तो बन्दै गइरहेको देखिन्छ। बिचार जन्मिन नपाउने, असहमति राख्न नपाउने, फरक भनाइ नसुनिने यस्तो अवस्था कम्युनिस्ट पार्टीभित्र उत्पन्न हुने कुरा सामान्य होइन,यो असामान्य हो । बरु कम्युनिस्ट पार्टीहरु भन्दा त बुर्जुवा पार्टीहरुले आफूलाई बढी समाबेशी, बढी लोकतान्त्रिक र बढी सहिष्णु भएको देखाएका छन् र अब्बल भएको प्रमाण पेश गरिरहेका छन्।
सामान्य हिसाबकिताब गरौं । टंक कार्की,घनश्याम र भीम रावलले ल्याएको मतमा कति प्रतिशत प्रतिनिधिहरुको भोट परेको होला ? ती मतदाताहरु जसले यिनीहरुलाई मतदान गरे तिनले तल कति प्रतिशत कार्यकर्ताको प्रतिनिधित्व गर्लान् ? ती कार्यकर्ताले जनताको प्रतिनिधित्व त गर्छन् नै । के ती जनता,ती कार्यकर्ता र ती प्रतिनिधिहरुको प्रतिनिधित्व केकमा, पोलिट ब्युरोमा र स्थायी कमिटीमा भयो त? के तिनको आवाज यी विभिन्न कमिटीहरुमा मुखरित हुने अवस्था छ त ?
यस्तो प्रकारको मोनोलिथिक कमिटीहरुले के साँच्चै नै डाइनामिक कामहरु गर्न, सबैको नेतृत्व गर्न संभव होला ? कम्युनिस्ट पार्टी भनेको त सामुहिक नेतृत्वद्वारा चल्ने, सामुहिक निर्णयमा चल्ने र सबैको नेतृत्व गर्ने पार्टी हो । आफ्नै दलभित्र एकले अर्कालाई बिपक्षी दलको प्रतिद्वन्द्वी जस्तो हेर्नुपर्ने र बिपक्षीलाई पराजित गर्न विभिन्न हथकण्डा र उस्तै परे षड्यन्त्रै गर्नुपर्ने परिस्थिति निर्माण हुनु ठूलो खतराको, यसकारण चिन्ताको बिषय हो ।
यो शताब्दीको पहिलो दशकमा जन्मिएर राजनीतिमा लागेकाहरुमा कट्टरता,जडता,दम्भ,इख पाइन्छ भनेर मान्न सकिन्छ। विभिन्न किसिमका यातना खेपेका, जेल नेल भोगेका र खुला वातावरणमा राजनीति गर्न प्रतिबन्ध लागेकाहरुमा यस्तो हुन्छ होला सायद, मनोबैज्ञानिकहरु के भन्छन् कुन्नि ।
तर एक्काइसौं शताब्दीको खुलापन र बिकसित प्रविधिको भरमार फाइदा लिएका, कहिल्यै यातना भोग्न नपरेका, जेलनेल भनेको के हो ,भूमिगत जीवन कस्तो हुन्छ भन्ने कुराको कुनै अनुभव नभएका युवा नेता तथा कार्यकर्ताहरुले पनि एकल पहिचानवाला राजनीतिलाई अँगाल्न पुगेको देख्दा भने अचम्मै लाग्छ र भबिस्यमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्ला भनेर चिन्तासमेत !
धन्यवाद ।
टिप्पणीहरू