विवेकशीलमा लफडा, चर्चित नेतृद्वारा पार्टी परित्याग

विवेकशीलमा लफडा, चर्चित नेतृद्वारा पार्टी परित्याग

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । अध्यक्ष रवीन्द्र मिश्रले पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको भोलिपल्टै दर्शनाले विवेकशीलबाट अलगिने निर्णय गरेकी हुन्।

उनले आज सार्वजनिक गरेको विज्ञप्तिमा अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने पनि भनेकी छिन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको दर्शनाको आरोप छ । जसका कारण पार्टी छोड्नुपरेको उनको भनाइ छ । ‘फोहोर सफा गर्ने जुन मैले कोसिस पनि गरेँ तर पूर्णरूपले सफा गर्न असमर्थ रहेँ । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन’, उनले भनेकी छिन् ।

अध्यक्ष मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीसहितको राजनीतिक प्रस्ताव पारित गराएपछि दर्शना असन्तुष्ट रहँदै आएकी थिइन् ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको मेयरमा उम्मेदवार रहेकी दर्शना युवा पुस्तामाझ चर्चित छिन् ।

टिप्पणीहरू