माओवादीले छान्यो राष्ट्रियसभाका पाँच उम्मेदवार

माओवादीले छान्यो राष्ट्रियसभाका पाँच उम्मेदवार

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा निर्वाचनका लागि पाँच जना उम्मेदवार टुंगो लगाएको छ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि माओवादीले उम्मेदवार टुंगो लगाएको हो ।

राष्ट्रियसभामा रिक्त १९ सीटमा हुने निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन मिलेर प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि गठबन्धनका पाँचै वटा दलले सिट भागबण्डा गरिसकेका छन् । भागबण्डामा माओवादीले पाँच सीट पाएको छ ।

सोहीअनुसार माओवादीले उम्मेदवार छानेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार प्रदेश २ बाट महिलातर्फ उर्मिला अर्याललाई उम्मेदवार बनाउने सहमति भएको छ । केही वर्षअघि एमाले छाडेर माओवादी बनेकी उनी पूर्वमन्त्री पनि हुन् । नेपाली कम्युनिष्ट आन्दोलनमा अर्याल परिचित नाम हो ।

त्यस्तै, गण्डकीबाट अन्य समूहमा सुरेश आले मगर उम्मेदवार बनेका छन् । बौद्धिक नेताको छवी बनाएका उनी प्राध्यापक पनि हुन् । २०६४ सालमा संविधानसभाका सदस्य रहेका उनी माओवादीमा रामबहादुर थापा बादल निकट भनेर चिनिएका नेता हुन् । पछिल्लो समय बादल एमालेमा जाँदा उनले माओवादी छाडेनन् । माओवादीको आठौँ महाधिवेशनबाट आले केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

गण्डकीबाटै दलितमा भुवन सुनारलाई माओवादीले उम्मेदवार बनाएको छ । कर्णालीबाट नरबहादुर विष्ट र सुदूरपश्चिमबाट जगत पार्की उम्मेदवार बनेका छन् । विष्ट अल्पसंखयक र पार्की दलित समूहबाट उम्मेदवार बनेका हुन् ।

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यक्रम छ ।

टिप्पणीहरू