अधिवेशन रोक्न काँग्रेस नेताको भोक हड्ताल
लामो समय क्रियाशील सदस्यता विवादमा फसेको नेपाली काँग्रेस महोत्तरीमा फेरी अर्को लफडा शुरु भएको छ । एकपक्षीय रुपमा जिल्ला अधिवेशनको मिति तोकिएको भन्दै एउटा समूह असन्तुष्ट बनेपछि लफडा निम्तिएको हो ।
असन्तुष्टि बढ्दै जाँदा भोक हड्तालसम्मको अवस्था बनेको छ । पूर्वजिल्ला सचिव बजरंग नेपाली आमरण अनसनमा बसेका छन् । क्षेत्रको अधिवेशन सम्पन्न नभई २७ पुसमा जिल्ला अधिवेशनको मिति तोकिएको भन्दै उनी आज बिहान ८ बजेदेखि अनसनमा बसेका हुन् ।
सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेपालीको अनसनमा ऐक्यबद्धता जनाएको छ ।
मंगलबार जिल्ला कार्यसमितिले केन्द्रलाई पत्र लेख्दै नेता नेपालीको भोक हडतालबारे ध्यानाकर्षण गराइसकेको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षड्यन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।
विवादकै कारण अझै महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन हुन सकेको छैन । संस्थापन र संस्थापन इतरबीच विवाद हुँदा क्षेत्र यसअघि अधिवेशन स्थगित भएको थियो । विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु आपत्तिजनक रहेको पूर्वमहासचिव नेपालीको भनाइ छ ।
मंगलबार नै नेता नेपालीले जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाउँदै विवादित ठाउँहरुको विवाद नटुङ्ग्याएसम्म भोक हड्ताल गर्ने चेतावनी दिएका थिए । नेता नेपालीको हड्ताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछि मात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्न काँग्रेस महोत्तरीले पनि माग गरेको छ ।
टिप्पणीहरू