बिग्रेको मारुती सिमेन्टले थुप्रैको जिन्दगी बर्बाद
-सटेन्द्र जवेगु
इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने माइखोला दुधाङको पक्की पुल निर्माणमा चरम लापरबाही भएको पाइएको छ । दुई वर्षमा सम्पन्न हुने गरी ठेक्का दिइएको सो पुल आठ वर्ष बित्न लाग्दा पनि सकिएको छैन । २५ प्रतिशतभन्दा बढी काम बाँकी नै छ ।
पुल निर्माणमा गुणस्तरहीन काम भएको स्थानीयले बताएका छन् । अहिले इलाम नगरपालिकातर्फ पुलको भित्तामा पर्खाल लगाउने काम भइरहेको छ । खोलाबाट पुललाई जोगाउनका लागि लगाउँदै गरिएको पर्खालमा दुई वर्षअगाडि बिग्रिएर चट्टान भएको मारुती सिमेन्ट ह्यामरले फुटाएर मसला बनाउने काम भइरहेको छ । फ्रेस सिमेन्ट प्रयोग नभएकाले लगाइएको पर्खाल अत्यन्तै कमसल छ ।
सोमबार स्थानीय र जनप्रतिनिधि निर्माणस्थल पुग्दा कक्रिएर चट्टान भएको सिमेट ढुट्याएर मसला बनाई पर्खालमा प्रयोग भइरहेको भेटिएको थियो । यसरी बिग्रिएर फालिएको सिमेन्ट प्रयोग गरिएकाले पर्खाल अहिले नै भत्कने अवस्थामा पुगेको स्थानीय झम्कबहादुर श्रेष्ठ बताउँछन् । ठेकेदारले पचासौं बोरा बिग्रिएको सिमेन्ट लगाएर पुल निर्माण गरिरहेको उनले बताए ।
बिग्रिएको सिमेन्ट प्रयोग गरेर पुल निर्माण गरिरहेको पाइएपछि स्थानीयले पर्खालको केही भागसमेत भत्काएका थिए । कामदारको अनुरोधमा स्थानीयले पर्खाल पूरै भत्काएनन् । विगतमा पनि यसरी नै गुणस्तरहीन काम गरेकाले वर्षामा एक पटक निर्माणाधीन पुल बगाएको श्रेष्ठले बताए । पर्खाल लगाइरहेका कामदारले पनि ठेकेदारले बिग्रिएको सिमेन्ट मिसाउनू भनेकाले सिमेन्ट प्रयोग गरेको बताए ।
इलाम नगरपालिकाका प्रवक्ता एवं इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले पनि बिग्रिएको सिमेन्ट ढुट्याएर पर्खाल जोड्न प्रयोग भइरहेको पाइएको बताए । उनले मुख्य ठेकेदारको फिल्ड हेर्ने व्यक्ति पूर्ण गिरीलाई समेत फोन गरेर बिग्रिएको सिमेन्ट प्रयोग गरी निर्माण गरिएको पर्खाल भत्काएर बनाउनू भनेको बताए ।
पुल निर्माणको तालुक अड्डा सडक डिभिजन कार्यालय इलामका इञ्जिनियरलाई साइट हेर्न बोलाउँदासमेत नआउने गरेको स्थानीयको गुनासो छ । ‘पटक पटक फोन गरेर साइट हेर्न बोलाउँदा पनि कार्यालयका इञ्जिनियर अहिलेसम्म आएका छैनन्,’ एक स्थानीयले भने, ‘पुलको गुणस्तरीयतामा कार्यालयले ध्यानै दिएको छैन ।’
यसअघि लगाइएको पुलको बेसको पर्खाल पनि भत्कन शुरु भएको छ । ०७१ साल असार २७ गते ठेक्का सम्झौता भएको पुनर्निर्माणको अवधि ०७३ असार २६ गतेसम्म थियो । तर, त्यसपछि दुई पटकसम्म म्याद थप गर्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । माइजोगमाईको केन्द्र नयाँबजार र इलाम सदरमुकामको दूरी २२ किमि मात्र रहे पनि पुल नबनेका कारण बर्खामा फिक्कल हुँदै ६० किमि दूरी पार गरेर सदरमुकाम आउनुपर्ने बाध्यता छ । नेशनल निलगिरी जेभीले ६ करोड १२ लाख ९२ हजारमा पुल निर्माणको ठेक्का लिएको हो ।
श्राेत : सटेन्द्र जवेगुबाट
टिप्पणीहरू