राष्ट्रियसभामा ओलीको हार स्वीकार

राष्ट्रियसभामा ओलीको हार स्वीकार

एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचेअनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गर्नुभएको छ । जिल्ला अधिवेशनको आज भर्चुअल माध्यममार्फत संयुक्त रुपमा उद्घाटन गर्दै ओलीले प्रतिकूल परिणाम आएपनि आत्तिन भने जरुरी नरहेको बताउनुभयो ।

ओलीले राष्ट्रियसभाको सम्भावित परिणाम आंकलन गर्दै त्यसले आजको जनमत र यथार्थलाई प्रतिविम्बित नगर्ने पनि बताउनुभयो । पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरुले प्रतिस्पर्धा गरिरहेको ओलीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘साढे चार वर्षअघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर,विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सीट बाँडेका थियौं । अहिले त्यसैलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनाइएको छ ।’

संयुक्त रुपमा राष्ट्रियसभा निर्वाचन लड्ने सत्ता गठवन्धनको तयारीलाई ओलीले एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ताको संज्ञासमेत दिनुभयो । उहाँले सबै निर्वाचनमा एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार रहेको भन्दै पाँचदलीय गठवन्धनलाई चुनौती पनि दिनुभयो ।

राष्ट्रिय सभाका रिक्त १९ सीटका लागि आगामी माघ ६ गते निर्वाचन हुँदैछ । निर्वाचनमा पाँच दलीय गठवन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ ।

टिप्पणीहरू