पिउने बानी भएका अध्यक्षद्वारा दुर्व्यवहार

पिउने बानी भएका अध्यक्षद्वारा दुर्व्यवहार

खोटाङको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीमा उजुरी हालेको छ ।

मानवअधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवम् अल्पसंख्यकको मानवअधिकारको अवस्थाको विषयमा अनुगमनका लागि बराहपोखरी गाउँपालिका पुगेको बेला दुर्व्यवहार गरेको भन्दै अध्यक्ष बञ्जाराविरुद्ध आयोगको प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले प्रहरीमा उजुरी दिएको हो ।

शनिवार बिहान गाउँपालिका अध्यक्षको घरमा पुग्दा मादक पदार्थ सेवन गरेको अवस्थामा रहेका बञ्जाराले आयोगको टोलीलाई गालीगलौज,दुर्व्यवहार गर्दै अश्लील शब्द प्रयोग गरेपछि प्रहरी चौकी हुक्नाजोर,फाक्टाङमा उजुरी गरिएको हो ।

आयोग शाखा कार्यालयका प्रमुख श्यामबाबु काफ्लेलाई अश्लील शब्द प्रयोग गरी कठालोमा समाएर दुर्व्यवहार गरेको भन्दै आयोगले गाउँपालिका अध्यक्षमाथि आवश्यक कारबाही गरी यस्ता घटना दोहोरिन नदिन प्रहरीसमक्ष अनुरोध गरेको छ ।

“मादक पदार्थ सेवन गरेको अवस्थामा रहेका बञ्जाराले आयोगको टोलीलाई गालीगलौज,दुर्व्यवहार गर्दै अश्लील शब्द प्रयोग गरेपछि प्रहरी चौकी हुक्नाजोर,फाक्टाङमा उजुरी गरिएको हो । “

खोटाङ प्रहरीका डीएसपी उमेश लम्सालका अनुसार गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीचौकीमा निवेदन परेको छ । उहाँका अनुसार घटनाको विस्तृत जानकारी लिने काम भइरहेको छ ।

यता घटनाबारे जानकारी दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले आफूहरुलाई उक्त घटना सुन्नमा आएको बताएका छन् । जनआस्थासँगको संक्षिप्त कुराकानीमा प्रशासकीय अधिकृतले हिजो बिदाको दिन भएकाले घटनाबारे खासै जानकारी नभएको बताए ।

घटना कार्यालयमा नभई वडाध्यक्षको घरमा भएको र प्रहरी प्रशासनले जानकारी नदिएकाले आफूहरु बेखबर रहेको वनको भनाइ छ । प्रशासकीय अधिकृतले भने, ‘वडाध्यक्षज्यूको पिउने बानी छ, घरमा बस्दा पनि पिउनुहुन्छ । हिजो के गर्नुभयो त्यो त थाहा भएन । साँचो कुरा किन ढाट्नुपर्यो र !’

टिप्पणीहरू