धादिङमा पनि ओलीकै शैलीमा नयाँ कमिटी

धादिङमा पनि ओलीकै शैलीमा नयाँ कमिटी

नेकपा एमाले धादिङको ८ औं अधिवेशनमा पनि सौराहाकै छायाँ देखिएको छ । केपी ओलीले सौराहामा केन्द्रीय कमिटी घोषणा गरेकै शैलीमा एमाले धादिङले जिल्ला कमिटी बनाएको छ ।

२ दिनदेखिको रस्साकस्सीपछि केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय सदस्य खेम लोहनीले ओलीकै शैलीमा कमिटी घोषणा गरेका हुन् । घोषित कमिटीको अध्यक्षमा भूमि त्रिपाठी, उपाध्यक्षमा धनबहादुर घले, सचिवमा अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’,उपसचिवमा हरिराम लोहनी र राधिका सापकोटा छन् ।

त्रिपाठी निर्विकल्प अध्यक्ष चुनिए । उनी निवर्तमान अध्यक्ष पनि हुन् । अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यहरुले आफ्ना दावेदार उम्मेदवारसँग भेटेर छलफलसमेत गर्न पाएनन् ।

उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशकुमार थापालाई सदस्यमा एड्जस्ट गराइएको छ भने उपाध्यक्षका अर्का उम्मेदवार गंगादेवी श्रेष्ठ कमिटीमै परेकी छैनन् । उपसचिवमा नाम परेका लोहनीले सचिवमा उम्मेदवारी दिएका थिए ।

जिल्ला कमिटीमा पुग्न धेरैले आशा देखाएपनि निर्वाचन नहुँदा उनीहरुको आशा निराशामा परिणत भएको छ । लोकतान्त्रिक पध्दतिबाट नेतृत्व चयनको माग गर्दागर्दै जबरजस्त नाम घोषणा गरिएको असन्तुष्ट उम्मेदवारहरुले गुनासो गरेका छन् ।

निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएकाहरुसँग सल्लाह समेत नगरी नेतृत्वले एकतर्फी रुपमा कमिटी घोषणा गरेको आरोप लगाएका छन् । निर्वाचन भएको भए आफूहरु विजयी हुने उम्मेदवारी दिनेहरुको दावी छ ।

५ जना पदाधिकारीसहित नयाँ जिल्ला कमिटीमा एक सयजना सदस्य छन् । अध्यक्ष पदमा निर्विकल्प त्रिपाठीको एकल उम्मेदवारी परेपनि बाँकी पदका लागि १२ जनासम्म उम्मेदवार थिए । उम्मेदवारले आफ्नो नाम के आधारमा काटियोसमेत पत्तो पाएका छैनन् ।

ओली शैलीकै कारण उम्मेदवारी दर्ता भएको दिन शनिबार मतदानका कुनै कारवाही अगाडि बढेनन् । उम्मेदवारी परेकाहरुबाट आइतबार अपरान्ह नाम घोषणा गर्दै अधिवेशन सम्पन्न भएको घोषणा भयो ।

टिप्पणीहरू