आधाभन्दा बढी डाक्टर फेल

आधाभन्दा बढी डाक्टर फेल

नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक अनुमतिपत्रको परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएकामध्ये आधा परीक्षार्थीले मात्र अनुमतिपत्रको परीक्षा पास गरेका छन् ।

एमबीबीएस र बीडीएस गरी दुई हजार एक सय ५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका हुन् । एक हजार एक सय छ जना अनुत्तीर्ण भएका छन् ।

काउन्सिलका अनुसार बीडीएसतर्फ एक सय ७७ जना (४० दशमलव ९७ प्रतिशत) र एमबीबीएसतर्फ आठ सय ७१ जना (५० दशमलव ५८ प्रतिशत) उत्तीर्ण भएका छन् । परीक्षामा एमबीबीएसतर्फका १२ जना अनुपस्थित थिए । त्यसैगरी बीडीएसतर्फका तीन जनाले परीक्षा दिएनन् ।

काउन्सिलले परीक्षाको नतिजा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सकिने जनाएको छ । पुनर्योगका लागि एक हजार पाँच सय रुपैयाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखेर काउन्सिलको इमेलमार्फत् आवेदन गर्न सक्ने उल्लेख छ ।

पुनर्योगका लागि नेपाल एसबीआई बैंक र राष्ट्रिय वाणिज्य बैंकमध्ये कुनै एउटा बैंकमा रहेको काउन्सिलको खातामा जुनसुकै माध्यमबाट दस्तुर बुझाउन सकिने व्यवस्था छ ।

टिप्पणीहरू