बाघको खोल ओढेको बिरालोले मृग मार्छ ?
बाघको खोल ओढाएर बिरालोलाई मृग मार्न पठाउनेजस्तो सोच र तरिका नेपाली राजनीतिमा भित्र्याइएका कारण आज त्यसले खोल ओढाउनेहरूलाई नै समस्या पार्दै छ । दलको केन्द्रीय सदस्य बनाएर आफूलाई मन लागेको जस्तोसुकै व्यक्तिलाई बाघ बनाउने प्रवृत्तिले ठूला दलमा अनेक प्रकारका विकृति र समस्या निम्तिँदै छन् ।
केही वर्षअघि नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ३ हजार ९ सय ९९ लाई ‘केन्द्रीय नेता’ घोषित गरेका थिए । वर्ष दिनअघि एमाले अध्यक्ष केपी ओलीले पनि १५०१ जनाको जम्बो जेट बनाएको भए पनि त्यसलाई उनले छिट्टै ३ सयभन्दा कममा झारेका थिए । हाल एमालेमा ३ सय १ जनाको केन्द्रीय समिति छ । यद्यपि, अहिले पनि केन्द्रीय सदस्यमा आफू नपरेको भन्दै विभिन्न भूगोल र क्षेत्रबाट असन्तुष्टि पोख्नेहरू छन् ।
केन्द्रीय सदस्य बन्न अनेकथरी तिक्डम, हानथाप र घुमाउरो बाटो प्रयोग गर्ने प्रचलन बढेको छ । अर्काेतर्फ दलका अध्यक्षलाई नेता पद आफूखुशी बाँड्ने विषय हो भन्ने परेको छ । माथिबाट कसैलाई पद दिएपछि जादुको मान्छेजस्तो उसलाई एकाएक सबै विषयमा ज्ञान र क्षमता भइहाल्छ भन्ने सोच, भाष्य र संस्कृति विकास गरिएको कारण केन्द्रीय सदस्य ‘घोषित हुन’ हानथाप चलेको हो ।
केही वर्ष साना दल वा समूहको ठूलो पदमा बस्ने, कराउने, चिच्याउने, नेतालाई गालीगलौज गर्ने, लोकतान्त्रिक प्रणाली र गणतन्त्रको विरोध पनि गर्ने अनि एउटा बिङ्गा लगाएर ठूलो दलको केन्द्र र पछि संसदीय फाँटमा गई ‘नेता’ बन्ने प्रचलन संस्कृतिजस्तै बनेको छ ।
अर्काेतर्फ एउटा नारा, उद्देश्य र अभियानको नाममा राजनीतिक दल खोल्ने र केही हल्ला गरी अर्कै विचार र मान्यताको दलमा पस्ने प्रचलन मौलाएको छ । यसै क्रममा साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र कुनै दिन एमालेको, कांग्रेस, राप्रपा वा त्यो नपाए प्रचण्डको केन्द्रीय सदस्य बन्न पुगे भने अचम्म नमाने हुने भएको छ । विकृतिको भूमरीमा स्वयं ठूला पार्टी पनि पर्दै छन्, फस्दै छन् । बाहिर बसेर तथानाम लाली गर्ने, मानिसमा केही होला भन्ने भ्रम पाल्ने र भिœयाउने प्रचलनसमेत बढेको देखिन्छ ।
मान्छेले आफूमा भएका क्षमता, ज्ञान, सीप र दक्षतालाई तिखार्दै नेतृत्वको विकास गर्ने कि कुनै ठूलो दलको अध्यक्षबाट नेता घोषित हुने ? के नेता भटाभट घोषणा गर्ने कुरा उचित हो ? यस्तो सोचले उहिलेको राणा शासनको जस्तो झझल्को दिँदैछ ।
उहिले शाह र राणा कालमा श्री ३ वा राजाले जो–कोहीलाई पनि सिधै सेनाको ‘जर्नेल भइस्’ भनिदियो भने ऊ तत्कालै जर्नेल हुन्थ्यो । कसैलाई मुखिया भइस् भन्यो भने ऊ मुखिया (नेता) बन्थ्यो । सोही प्रकारको सोच र चिन्तन अहिले पनि जान सकेको देखिएन ।
आफूलाई मन लागेको मानिसलाई ‘फलानो पद’ दिएको भन्दै तुरून्तै नेता घोषित गर्ने कार्यले नेतृत्वको क्रमिक विकास गर्ने दृष्टिकोण र सामाजिक विकासको आधारभूत नियम नै मर्दै जान थालेको छ । अर्काेतर्फ कोही पनि किन आफूलाई विकसित, परिस्कृत र दक्ष बनाउनतर्फ लाग्दछ ? नेताले चाहँदैमा तत्कालै कसैलाई दलको केन्द्रीय सदस्य बनाइदिने, संसदीय फाँटमार्फत मन्त्री नै घोषित गर्ने भएपछि साना पार्टीमा क्रियाशील ‘ठूला पदका’ मान्छेले केही समय गर्ने गाली अर्काे दलको केन्द्रीय सदस्य बन्न मात्र हो भन्ने कुरा अब छर्लंगै हुँदै छ ।
पूरै मुलुकको नेतृत्व गर्छु भन्ने नेता र दलले आफ्ना कार्यकर्ताको समग्र कार्यक्षमता विस्तारतर्फ प्रेरित गर्नुपर्नेमा यहाँ सिधै ‘नेता घोषित’ गरी बाँड्ने संस्कृति बसालियो । त्यसको परिणाम पढेका र आफैँ केही गर्न सक्षम युवा पनि नेताको ढोकामा ढुकेर बस्ने ‘परजीवी संस्कृति’ हुर्कियो, हुर्किंदै छ । ठूला नेता अरूलाई नेता बनाइदिएको भन्दै पद बाँड्ने ‘वितरक’ जस्ता भैदिए ।
खासमा आफूले बनाएको बाघले आफँैलाई आक्रमण गरेजस्तो भएको छ केन्द्रीय सदस्यको पद । विगतमा अरु दलका मानिस तान्न मनलाग्दी केन्द्रीय सदस्य बाँड्ने प्रचण्ड नै थिए । जसकारण अहिले प्रचण्डलाई केन्द्रीय सदस्य वितरण खाऊँ कि नखाऊँ र निलुँ कि ननिलुँजस्तो भएको छ ।
कथित नेतालाई ‘सर्वगुण सम्पन्न’ ठान्ने आमनागरिकका सामाजिक सोच, संस्कार, मनोविज्ञान, चिन्तन र सस्कृतिसमेत बदल्नैपर्ने भएको छ । बाघको खोल ओढेपछि बिरालो बाघ बन्न सक्छ ? त्यस्तो खोल ओढेको बाघले मृग मार्न सक्छ ? ठूला दलको अध्यक्षले घोषित वा मनोनीत गर्दैमा कोही कसरी सक्षम व्यक्ति र नेता बनिहाल्न सक्छ ? नेता हुन ज्ञान, सीप, क्षमता, कला केही चाहिन्न ?
अमेरिकी लेखक म्याक्सवेलले नेताको व्याख्या गरेका छन् । उनले ‘हु नोज द वे, सोज द वे एण्ड गोज द वे इज द लिडर’ (जसलाई बाटो थाहा छ, जसले बाटो देखाउँछ र जो त्यो बाटोमा हिँड्छ त्यो नेता हो) भनेका थिए । समाजका यत्रतत्र विषयमा नेता (लिडर) हुन्छ, छ र चाहिन्छ । हाम्रोमा चाहिँ नेता राजनीतिक दलका नेता जसलाई बाटो थाहा छैन, अरूलाई बाटो देखाउँदैन र आफू पनि त्यो बाटोमा हिँड्दैन त्यो नेता हो भन्नुपर्ने विडम्बडनापूर्ण अवस्था छ ।
जो पनि केन्द्रमा पुगेपछि सबै कुराबाट सक्षम हुन्छ भन्नेजस्तो सोचको विकास भएका कारण ठूला दललाई बढी समस्या परेको हो । जहाँतहीँबाट जे गरेर भए पनि ठूला दलको केन्द्रीय सदस्यचाहिँ बन्नेपर्ने खाले सोचले नेपाली राजनीति यति धेरै विकृत बन्दै छ कि त्यसको असरले समाज पनि पूरै भ्रमपूर्ण र अन्योलग्रस्त बन्ने खतरा देखिन्छ । आफूले अरूलाई तर्साउन बिरालोलाई बाघको खोल लगाइदिने प्रवृत्तिले ठूला दललाई चिथोर्दै छ ।
टिप्पणीहरू