प्रचण्ड र विप्लव एकै हुन्, मिल्न सकिँदैन : वैद्य
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अवसरवादीको आरोप लगाएका छन् ।
विभिन्न घटकमा विभाजित पूर्वमाओवादीहरुबीच एकता हुनुपर्ने आवाज उठिरहेका बेला वैद्यले प्रचण्ड र विप्लवलाई अवसरवादी भन्दै उनीहरुसँग कुनै हालतमा मिल्न नसकिने पनि बताए ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा वैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग आफनो पार्टी एकीकरण नहुने प्रष्ट पारे ।
प्रचण्डले पूर्वमाओवादीहरुबीच पार्टी एकता हुनुपर्ने बताउँदै आएका छन् भने विप्लव पनि एकताको पक्षमा छन् । प्रचण्डका राजनीतिक गुरुसमेत रहेका वैद्यले भने आफूले कहिल्यै पनि पार्टी एकताबारे नसोचेको बताए ।
विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको उनको भनाइ छ । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरूले पार्टी फुटाएर गए पनि अहिले शान्तिपूर्ण राजनीति गर्ने भनेर तीन बुँदेमा आएको उनले स्मरण गरे ।
‘प्रचण्डले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक छ ?’ वैद्यको प्रश्न छ ।
टिप्पणीहरू