‘एमालेले एमसीसीलाई सत्ता हत्याउने माध्यम बनायो’

‘एमालेले एमसीसीलाई सत्ता हत्याउने माध्यम बनायो’

-लेखनाथ शिकारु

नेपाली काँग्रेसका सह–महामन्त्री भीष्मराज आङ्देम्बेले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई सत्ता हत्याउने माध्यम बनाइएको बताएका छन् । काँग्रेसको याङवरक १ वडा समितिले च्याङथापुमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले एमालेले एमसीसीलाई सत्ता हत्याउने माध्यम बनाएको आरोप लागाएका हुन् ।’

‘एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले एमसीसी अघि बढाएको थियो,’ आङ्देम्बेले भने ‘एमाले सत्ता बाहिर हुँदा एमसीसीको बिरोध गरेर पानीमाथिको ओभानो बन्न खोजिरहेको छ ।’

सत्ता गठबन्धन भत्काए एमसीसी पास गर्न सहयोग गर्ने ओलीको प्रस्तावलाई उद्धृत गर्दै आङ्देम्बेले भने, ‘गठबन्धन भत्काउँदा एमसीसी ठीक हुने, नभत्काए बेठीक हुने एमालेको यो कस्तो चरित्र हो ? देशमा अस्थिरता ल्याउने एमाले लाज पचाएर अघि बढेको उनको आरोप छ । एमालेको द्वैध चरित्रलाई सबैले बुझ्नुपर्ने आङ्देम्बेको भनाइ थियो ।

सत्तामा हुँदा एउटा कुरा र सत्ता बाहिर हुँदा अर्को कुरा गर्ने एमालेको नीतिले गर्दा देशमा समस्या आएको उनको ठहर थियो । ‘सबै दलको सहमतिबाट एमसीसीको विषलाई टुंगो लगाइन्छ,’ उनले भने ‘एमसीसी पास गराउन एमाले पनि तयार छ । तर, संसदलाई बन्धक बनाएर एमालेले जनतामा भ्रम फैलाइरहेको छ ।’

सभालाई सम्बोधन गर्दै आङ्देम्बेले पूर्व प्रधानमन्त्री ओलीको बोलीले गर्दा कोरोना महामारीका बेला हजारौँ नेपालीले ज्यान गुमाएको आरोप लगाए ।

सम्बोधनको क्रममा आङ्देम्बेले नेपाली काँग्रेसभित्र पनि केही विसंगतिहरु भएको स्वीकार्दै पार्टीलाई शुद्धिकरण गर्ने अभियान चलाउने अठोट गरे ।

टिप्पणीहरू