​सप्तरंगी सामेलीलाई दिलको खाँचो

  • दयालबहादुर शाही

अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एक कठोर अग्निपरीक्षामा छ । त्यसै पनि मातृत्व र नेतृत्व चानचुने साधना होइन । त्यसमाथि आस, त्रास, भ्रम, जाल, निन्दा र प्रशंसाबाट अप्रभावित रहेर युग नेतृत्वको आपूर्ति गर्नु सहज कुरा होइन । जनआन्दोलनका उपलब्धिले फहराएको झण्डाको रूपमा रहेको नेपालको संविधान २०७२ को प्रमुख संवाहक शक्ति नेकपाले भीरको डिलमा पु¥याउने षड्यन्त्र बाक्लिँदै गएको छ । षड्यन्त्रलाई विफल पार्दै जनताको दिलमा रहिरहन उसले केही जल्दाबल्दा सवालको सकारात्मक उत्तर दिन सक्नुपर्ने हुन्छ । नेकपाको भविष्यसँग जोडिएका केही महŒवपूर्ण प्रश्न यसप्रकार छन् :

१. जहाँ कम्युनिष्ट त्यहीँ अनिष्टको विश्वव्यापी प्रलयबाट नेपालको वामपन्थी आन्दोलनलाई सुरक्षित राख्दै ओढारमा रमाउने कम्युनिष्टलाई राजकीय भण्डार प्रदान गर्ने जनताको बहुदलीय जनवादलाई पार्टीको संक्रमणकालीन संवेदनशीलता हेरेर केही समयका लागि मात्र स्थगन गरिएको हो वा असार आयो बाबा गोरु बेचौं शैलीमा सान्दर्भिकता पुष्टि हुँदाहुँदै पनि सदाका लागि प्वाँख पखेटा काटेर रद्दीको टोकरीमा मिल्काइएको हो ? 

२. कांग्रेसको रखैल हुन्छ वा माओवादीको चखैल के हुन्छ भन्ने सन्देहका बाक्लै घेरामा रहेको एमालेलाई स्वाभिमानको मेरुदण्ड दिनु अध्यक्ष केपी ओलीले दिएको महŒवपूर्ण देन हो । अस्वस्थताले सताउन छोड्नासाथ ओलीलाई सहकर्मीले सताइहाल्ने अनौठो संयोगलाई नेकपाले आगामी दिनमा कसरी समाधान र सम्बोधन गर्न सक्ला ?

३. गिरिजाप्रसाद कोइरालासँग गरेको बृहत् शान्ति सम्झौता र केपी ओलीसँग गरेको नेकपा एकीकरणको घोषणा प्रचण्डको नेतृत्व र व्यक्तित्व दुवैको महत्ता र उच्चताको मापन हो । चौडा छात्तीले मात्र परिचालन हुने युगिन महŒवका महान् कामलाई ब्ल्याकमेलको राजनीतिले गोलमाल र बर्बबाद पारेको विगत सम्झाउँदै नेकपाले आगामी दिनमा प्रचण्डलाई कार्यकर्ता र जनताको दिलको डक्टरको अवतारमा अवतरित गराउन सक्ला वा समीकरणको खेती र महŒवाकांक्षाको व्यापारसामु आफैं बाटोको बाबियोको जुनी ग्रहण गर्ला ?

४. जनयुद्धको नेतृत्व र महान् योद्धाको टहल र सम्मानमा नेकपा कतिको काबिल रहन सक्ला ?

५.विचार भिन्न भए पनि मनमोहन अधिकारी बहुदलीय जनवादीको आँखाको नानी बन्न सक्नुभयो र आजीवन शीर्ष एमाले रहिरहनुभयो । तर, जबज, मदन र जबज रक्षक बटालियनसँगको बदला र दुस्मनीको राजनीतिले बुटवल महाधिवेशनमा महाशेर बनेर पनि काठमाडौं महाधिवेशनमा वरिष्ठ नेता झलनाथ खनालले मुसो बनेर मैदानबाट भाग्नुपरेको इतिहास छ । अबका दिनमा नेकपाले भिन्न विचारको अस्तित्व र प्रतिस्पर्धाको सवाललाई कसरी हल गर्ला ?

यी संवेदनशील सवालका अतिरिक्त एकातिर नेकपा आफैंमा जोखिमपूूर्ण छ र अर्कोतिर विशाल सम्भावनाको भु्रण बोकिरहेको पनि छ । पढ्दा तीन अक्षरको नेकपा जति सरल छ तर अर्थ र संवेदनशीलताको दृष्टिले अति नै जटिल छ । सशस्त्र संघर्ष लडेको विगत र आवधिक निर्वाचन तथा संसदीय प्रतिस्पार्धाको राजनीतिको वास्तविकताको धरातलबीच, भिन्नाभिन्नै विचार, पृष्ठभूमि, स्वभाव र कार्यशैलीको अन्तरबीच, कम्युनिष्ट आचरण र व्यक्तिवादको हुरीबीच, राजकीय भूमिका र पार्टी कामको क्षेत्रबीचको द्वन्द्वले संक्रमणकालीन पार्टीलाई झन् जटिल बनाउँदै गएको छ । नेकपाले जहिले पनि लिनुपर्ने उत्पादक शक्तिको पक्षधरता र पुँजीपति वर्गले आफ्नो मात्र बपौती ठान्दै आएको शक्ति पृथकीकरणको सिद्धान्तको अवलम्बनले गर्दा अब नेकपा जीव र वनस्पत दुवैको गुण भएको बहुमूल्य यार्चागुम्बाजस्तो बन्न गएको छ । राजनीतिक पृष्ठभूमिका हिसाबले नेकपासँग पुष्पलाल स्कुलिङको धीर, वीर, गम्भीरताको विरासत छ, झापा विद्रोहको राप, ताप र जोश छ, एमालेकालीन संसदीय संग्रामको अनुभव र राजकीय सुझबुझ छ र जनयुद्धले बालेको चेतनाको दियो छ ।

नेकपाको यो सप्तरंगी सामेलीलाई बचाइराख्न र निखार ल्याउन महान् दिलको खाँचो छ । दिल, शील र मेलको त्रिवेणीको आपूर्ति नगरी युगीन महŒवका कार्यभार सम्पन्न गर्न सकिँदैन । एक राज्य, राजनेता वा राजकीय भूमिकामा रहेको शक्तिका लागि दिलको कति महŒव रहन्छ भन्ने तथ्यमाथि एसएस राजामौलीनिर्देशित फिल्म बाहुवलीमा प्रकाश पारिएको छ । एक प्रसंगमा देवसेनाले भन्छिन्, ‘एक महान् साम्राज्य बडा–बडा प्रतिमा र उचा–उचा सिंहासनले बन्दैन, दिलले बन्छ ।’ नेकपाले पनि आफ्नो उत्कर्षकालको दीर्घायुका लागि भागबन्डा होइन दिल, शील र मेलको उपासना गर्नुपर्ने हुन्छ । आदर र सम्मानको हकदार नेकपाको पाको पुस्ता, जसको रगत, पसिना र आँसुले यो पार्टी बनेको छ, त्यो पुस्ताले अपमान महसुस नगरोस्, नवप्रतिभाहरूले कुण्ठित हुनु नपरोस् । गल्ती हुन सक्छन् तर नियत नै गल्ती गर्ने नहोस् । व्यक्तिबाट भएका गल्ती पार्टीले सच्याउने वा हटाउने सामथ्र्य नगुमाओस् । जाली तमसुक च्यातेर जनताको मन जित्न सुरु गरेको कम्युनिस्ट पार्टीमा जाली तमसुक शैलीको करकापमा पारेर नेतृत्व हस्तान्तरण र अवसरको वितरण गर्ने अपसंस्कृतिले टाउको नउठाओस् । नेतृत्वको आगमन, उत्कर्षकाल र हस्तान्तरण तीनवटै चरण लोकतान्त्रिक भएको देख्ने जनअपेक्षामा चोट नपुगोस् ।

 एउटा राजनीतिक दलका लागि नेतत्व, संगठन र विचार ओदानका तीन खुट्टाजत्तिकै एकआपसमा परिपूरक र अपरिहार्य विषय हुन् । नेतत्व, संगठन र विचारको पोषण पाएर मात्र पुग्दैन । किनकि एक राजनीतिक शक्तिलाई आफूतिर तेर्सिएका संगीन प्रश्नबाट भाग्ने छुट हुँदैन । गोर्खाका राजा न्याय गर्थे तर काठमाडांै आइपुग्दा न अरूलाई न्याय गर्न समर्थ भए न आफू सुरक्षित रहे । दामोदर पाण्डेको हत्यादेखि दरबार हत्याकाण्ड यसका उदाहरण हुन् । तालीको अगस्ती भोक र गालीप्रतिको अरुचिले संसारबाट राजतन्त्र उखेलिएका हुन् । किनकि गाली र तालीभन्दा आफूलाई माथि राख्ने शक्तिलाई जनताले रुचाउँदैनन् र बाँकी राख्दैनन् । कांग्रेसमा रहेको गाली सहन सक्ने लोकतान्त्रिक चरित्र र संस्कारबाट नेकपाले आफूलाई विमुख पार्नु र उससँग प्रतियोगी नबन्नु दुवै उत्युत्पादक हुनेछ । गाली समन गर्न सके पनि कांगे्रसले ताली खानलायकका काम नगरेर समय बर्बाद भने पारेकै हो । नेकपाले भने ताली खानयोग्य काम गर्नु तर गालीबाट नआत्तिनुको सन्तुलनमा रहेर महानायकीय भूमिका खेल्नुपर्ने छ । इमान र तर्कले आफूलाई सत्य र सान्दर्भिक पुष्टि गर्नु जनपक्षीय राजनीति हो । यसको उल्टो बलमिच्याइँ र निषेधको बाटो रोज्नु कम्युनिष्ट पार्टी अधिनायकवादी भइदेओस् र आफ्नो पुनरुत्थान सम्भव होस् ठान्ने प्रतिपक्षलाई सघाउनु हो । 

निरन्तरको राजनीतिक अस्थिरता, भ्रष्टाचार, कटुता र गरिबीले थलिएको मुलुकलाई समृद्ध पार्न नेकपाले जनताको भावनात्मक एकताको नेतृत्व गर्नुपर्ने छ । बस्नेतको तरबार पाण्डेको ढालले बनेको मुलुकमा पछि बस्नेतको तरबार पाण्डेको घाँटी भएको यो वा त्यो प्रकारको सिलसिला रोक्नु अपरिहार्य भएको छ । बल्लतल्ल देश संविधानको लिकमा उभिएको छ । यो मुलुक एकै दिनमा सिंगापुर किन बनेन र नेपालमा विकास किन भएन भनेर अफवाह फैलाउनेलाई नेकपाले मिहिनेत, धैर्य र इमान्दारीले जवाफ दिनु छ ।

कांग्रेसलाई मियो मानेर उसको खटनमा ५÷६ वटा मन्त्रालय पाउँदा गद्गद् हुने तर मुलुकको बागडोर वामपन्थीको हात पर्दा आफूलाई कम्युनिष्ट भन्न लाज लाग्यो भन्ने उदासीनतामा दम छैन । अर्कोतर्फ भएका कमीकमजोरी थाह पाउने, कामको अनुगमन र मूल्यांकन गर्ने र गल्ती समयमै सच्याउने सामथ्र्य पार्टीले गुमाउनुको मूल्य पनि महँगो पर्ने देखिन्छ । अख्तियार र अदालत सबल नपार्ने हो भने नेकपा साना–ठूला स्वास्नी सिँगार्ने देश बिगार्ने भ्रष्टहरूको संरक्षक बन्ने खतरा बढ्नेछ । लोभीपापीको ऐजेरुबाट थिचिएको राजनीतिलाई नेकपाको पौरख र जनताको अनुकम्पाले सम्भव भएको स्थायित्वबाट सङ्लो पार्न नसकिएको खण्डमा भने देश भयावहपूूर्ण अराजकता र अनिश्चिततातिर जानेछ । निरन्तर कमजोर र अस्तव्यस्त पारेर मातृभूमिलाई हरतरहले नामेट पार्न कम्मर कसेका शक्तिजति नेकपालाई जनताबाट अलगथलग पार्ने दाउ हेरिरहेका छन् । यस्तो बेला नेकपाले न वैचारिक बहसमा फस्नु छ, न विचार शून्य नै हुनु छ । कुनै पनि आन्तरिक संकट र बाहिरी षड्यन्त्रबाट जोगिन सकेमा मात्र नेकपाले जनताको विश्वासलाई जोगाइराख्न सक्नेछ र देशको सही नेतृत्व प्रदान गर्न सक्नेछ । 

 

टिप्पणीहरू