थप अरुले छाडे एमाले
आगामी निर्वाचनमा एक्लै दुई तिहाइ ल्याउने दाबी गरिरहेको नेकपा एमालेलाई एकपछि अर्को झट्का लागिरहेको छ । चितवन महाधिवेशन हुँदै जिल्ला अधिवेशनसम्म आइपुग्दा माओवादीबाट प्रवेशसङ्गै पार्टी छाड्ने नेता–कार्यकर्ता बढ्न थालेपछि एमालेलाई झट्का लागेको हो ।
महाधिवेशनपछि केन्द्रीय जिम्मेवारीबाट पन्छाइएका सुनसरीका धर्मराज निरौलादेखि सिन्धुपाल्चोकका सुवास कर्माचार्यसम्मले एमाले छाडिसकेका छन् । झापा विद्रोहका योध्दा नरेश खरेल,मनकुमार गौतम,सुरेन्द्र मानन्धर,रविन कोइराला,पवित्रा खरेल निरौला,कृष्णभक्त पोख्रेल,श्रीमाया थकालीलगायतलाई पनि जिम्मेवारीबाट पाखा लगाइएको छ । औपचारिक रुपमा एमालेमै रहे पनि भूमिकाविहीन बनाइएकाले उनीहरुले पनि पार्टी छाडेसरह नै हो ।
केन्द्रबाट शुरु भएको पार्टी परित्यागको सिलसिला जिल्ला अधिवेशनका दौरान अझै बढेको छ । हिजो मात्रै दाङका एकजना पुराना नेताले एमाले छाडेको घोषणा गरेका थिए । त्यसको २४ घण्टा नपुग्दै बाजुराका २६ जना सक्रिय कार्यकर्ता एकीकृत समाजवादीतिर लागेका छन् ।
बाजुराको हिमाली गाउँपालिका कमिटी सचिवालय सदस्य अर्जुन बुढथापाको नेतृत्वमा पालिकास्तरीय २६ जना कार्यकर्ताले एमालेबाट विद्रोह गरेर समाजवादी रोज्ने निर्णय गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै एमालेमा व्यक्तिवादी सोच,गुटगत स्वार्थ तथा अवसरवादी चिन्तन,व्यक्ति चाकडीजस्ता गैरकम्युनिष्ट चरित्र विकास हुँदै गएकाले अबउप्रान्त सो पार्टीको साधारण सदस्यसमेत नरहने प्रष्ट पारेका छन् ।
एमाले कम्युनिष्ट धारबाट विचलित हुँदै गएको र उसका गतिविधि मुलुकको समृद्धि र जनताको जीविकोपार्जनभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित रहेकाले पार्टी छाड्नु परेको उनीहरुको भनाइ छ । एमालेबाट देश जनताको पक्षमा काम हुन नसक्ने ठहर गर्दै उनीहरुले हिजैका मितिदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन् ।
एमाले परित्याग गरेका थापा २०४६ सालदेखि पार्टीमा आवद्ध भई त्यतिबेलै इलाका कमिटी सचिव भएर काम गरेका पुराना नेता हुन् । उनले २०५४ सालको स्थानीय चुनावमा एमालेबाट रुगिन गाविसको उपाध्यक्ष जितेका थिए । पार्टी छाड्नेमध्ये हिमाली गाउँपालिका–५ का २३ र वडा नम्बर ३ का तीन जना छन् ।
यसअघि जिल्ला अधिवेशनकै दौरान अर्घाखाँचीका इञ्चार्ज तथा राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय कमिटी सचिव गोविन्द भुसालले पनि एमाले छाडेका थिए । पार्टी छाड्दै उनले एमालेमा चरम गुटबन्दी, व्यक्तिवादी मनोमानी, चरम अवसरवाद, नातावाद, कृपावाद र नेतृत्वमा देखिएको निरंकुशताजस्ता प्रवृत्तिबाट इमान्दार र निष्ठावान नेता तथा कार्यकर्ताहरुलाई काम गर्ने वातावरण नभएको उनले बताएका थिए ।
हिजो एमाले दाङका निवर्तमान अध्यक्ष टिकाराम खड्काले पनि राजनीतिक यात्राबाट आफूले विश्राम लिएको घोषणा गरेका थिए । सार्वजनिक रुपमा कुनै असन्तुष्टि नजनाएका खड्का जिल्ला अधिवेशनका क्रममा नेतृत्व चयन प्रक्रियामा भएका अस्वस्थ प्रतिस्पर्धा र अस्वाभाविक चलखेलका कारण पार्टी छाड्ने निर्णयमा पुगेको बताइएको छ ।
एमाले छाड्नेमा पाल्पाका पूर्वसांसद यादवबहादुर रायमाझी पनि छन् । उनले पनि एमालेमा व्यक्तिवादी चिन्तन हावी भएकाले विद्रोह गर्नुपरेको बताएका छन् । उनी पनि एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । डडेल्धुराबाट ताराप्रसाद जोशीलगायत उसैगरी विद्रोह गरी एकीकृत समाजवादीमा समाहित भइसकेका छन् ।
टिप्पणीहरू