डढेलोमा मारिएकी वृद्धाको परिवारलाई बीमा रकम
खोटाङको सामुदायिक वन उपभोक्ता महासंघले आगोमा जलेर ज्यान गुमाएकी एक वृद्धाको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको छ ।
तारेभीर सामुदायिक वनमा लागेको डढेलोमा जलेर गत चैत २५ गते ज्यान गुमाएकी बराहपोखरी गाउँपालिका–२, सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरका परिवारलाई महासंघले बीमा वापत एक लाख रुपैयाँ उपलब्ध गराएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले डम्बरकुमारीका छोरा कृष्णबहादुर आलेमगरलाई आज भगवती सामुदायिक वनको कार्यालयमा एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरेका हुन् ।
मगर परिवार भगवती सामुदायिक वनलगायत स्थानीय सामुदायिक वनका उपभोक्ता हुन् । जंगलमा लागेको डढेलोको लप्काले भेट्दा डम्बरकुमारीको घट्नास्थलमै मृत्यु भएको थियो । बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा उनको जलेर मृत्यु भएको थियो ।
टिप्पणीहरू