ट्याटु खोपाउन गएका युवकको मृत्यु
भक्तपुरमा ट्याटु खोपाउन गएका एक युवकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका १, लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको गएराति मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार उनी राति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पतालस्थित आरूष मल्लले सञ्चालन गरेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए । उनी त्यहाँ पुग्दा अरू ग्राहकहरूलेसमेत ट्याटु खोपिरहेका थिए । अरूले नै ट्याटु खोपिरहेको हुँदा उनी त्यहाँ पालो कुरेर बसेका थिए ।
राति ट्याटु खोपाउन पुगेका उनी आफ्नो पालो कुर्दाकुर्दै बेहोस भएको प्रवक्ता पाण्डेले जानकारी दिए । त्यसलगतै केएमसी अस्पताल सिनामंगलमा लगिएको थियो । उनको उपचारको क्रममा मध्यराति सवा १२ बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।
खड्काको शव पोष्टमार्टमको लागि केएमसी अस्पतालमा राखिएको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू