फरार अभियुक्तलाई साउदी अरेबियाबाट उदयपुर पुर्याइयो
उदयपुरका एक युवकको हत्या गरी फरार अभियुक्तलाई १७ वर्षपछि प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुर बेलका नगरपालिका ६ घर भएका ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले २०६१ मंसिर १३ गते मानबहादुर तामाङको हत्या गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा जिल्ला अदालत उदयपुरले इलाका प्रहरी कार्यालय उदयपुरलाई पक्राउको अनुमति दिएको थियो ।
उक्त प्रहरी कार्यालयको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउको लागि गत वर्ष माघ २६ गते उनी विरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।
प्रहरीका अनुसार मगरलाई साउदी अरेबियाबाट हिजो नेपाल ल्याइएको हो । आवश्यक कानुनी कारबाहीका लागि हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।
टिप्पणीहरू