साल्ट ट्रेडिङका कर्मचारी भ्रष्टाचार मुद्दामा डामिए

साल्ट ट्रेडिङका कर्मचारी भ्रष्टाचार मुद्दामा डामिए

सल्यानस्थित साल्ट ट्रेडिङ कर्पोरेशनका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर भएको छ । कर्पोरेशनको मल बिक्री केन्द्रका तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासवानविरुद्ध १८ लाख ७६ हजार ६ सय ६४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो । पासवानले सल्यान मल बिक्री केन्द्रमा इन्चार्जको रुपमा कार्यरत रहँदा आफू खुशी व्यक्तिगत खातामा रकम जम्मा गरेर हिनामिना गरेको अभियोग लगाइएको छ । उक्त रकम पासवानबाटै असुल उपरको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पासवानमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ अनुसार मुद्दा दायर भएको हो । उनले नियमानुसार हिसाब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दा रकम हिनामिना गरेको खुलेको अख्तियारको भनाइ छ ।

टिप्पणीहरू