उपकुलपतिकै डिग्रीमा गडबडी ?

उपकुलपतिकै डिग्रीमा गडबडी ?

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानका उपकुलपति प्राध्यापक डा. ज्ञानेन्द्र गिरीको शैक्षिक प्रमाणपत्र छानविनका लागि अख्तियारमा फेरि उजुरी परेको छ । शशिविक्रम कार्की र आशिष राईले सर्टिफिकेट छानविनको माग गर्दै उजुर हालेका हुन् ।

अख्तियारलाई बुझाइएको निवेदनमा डा. गिरीले डिग्रीको अध्ययन नै नगरी नामको अगाडि प्राध्यापक राखेको निवेदकको जिकीर छ । डिग्री नै नलिई आफ्नो नामको अगाडि प्राध्यापक राखेकाले उनको प्रमाणपत्र छानविन गरी आवश्यक कारवाही गर्न माग गरिएको छ ।

यसअघि गत असार ११ गते पनि डा. गिरीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर अख्तियारमा निवेदन परेको थियो । तर,सोसम्बन्धमा आयोगले कुनै कारवाही प्रकृया अगाडि नबढाएको भन्दै हिजो कार्की र राईले अर्को निवेदन दिएका हुन् ।

उनीहरुले अघिल्लो निवेदनबारे स्मरण गराउँदै अहिले गिरीले समेत नामको अगाडि प्राध्यापक लेख्न छोडेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भाद्र २७ गते जारी गरेको विज्ञप्तिको बुँदा नम्बर ६ मा गिरी प्राध्यापक नभएकाले कारवाही गर्न भनिएको छ ।

स्वास्थ्य मन्त्रालयको गत भाद्रको विज्ञप्ति र यसअघि दिएको निवेदनको एक–एक प्रति निवेदनमा संलग्न गराइएको छ ।

टिप्पणीहरू