स्याउ–ओखर विकास बोर्ड गठन गर्न माग

स्याउ–ओखर विकास बोर्ड गठन गर्न माग

कर्णालीमा उत्पादित स्याउ र ओखरको बजारीकरणका लागि त्यहाँका कृषकले स्याउ–ओखर विकास बोर्ड गठनको माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीसमक्ष माग पत्र पेस गर्दै किसानहरुले स्याउ–ओखर विकास बोर्ड गठनको माग गरेका हुन् । तिला गाउँपालिका–८ का वडाध्यक्ष सन्तविर रावतका अनुसार उत्पादित कृषि उपजको व्यवस्थित बजारीकरणका लागि बोर्ड गठन गर्न माग गरिएको हो ।

कर्णालीमा उत्पादित स्याउ–ओखर बजारीकरणको निम्ति बोर्ड गठन गर्न आवश्यक रहेको कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले बताउनुभएको छ । कृषिवस्तुको व्यवस्थापन र बजारीकरण नहुँदा सिजनमा समेत भाउ नपाउने अवस्था अन्त्य गर्न पनि बोर्ड गठनको आवश्यकता रहेको मन्त्रीको भनाइ छ ।

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, डोल्पा, हुम्ला, मुगु र कालिकोटमा स्याउ र ओखर प्रशस्त उत्पादन हुन्छ । तर,उचित मूल्य नपाउँदा किसानले गरेको उत्पादन त्यसै खेर जाने अवस्था छ ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार २०७६ सालमा जिल्लामा १२ हजार टन स्याउ उत्पादन भएको थियो । २०७७ मा भने घटेर ६ हजार २ सय १० टनमात्रै उत्पादन भयो । यो वर्ष ६ हजार १ सय ६० टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

टिप्पणीहरू