माओवादी पत्रकारहरुद्वारा बैठक बहिष्कार

माओवादी पत्रकारहरुद्वारा बैठक बहिष्कार

कपिलवस्तुको तिलौराकोटमा आज बिहानबाट सुरु भएको पत्रकार महासंघको बैठक माओवादी केन्द्र निकट पत्रकारहरुले बहिष्कार गरेका छन् । बहिष्कारपछि बैठक रोकिएको छ ।

मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल मात्रै सहभागी भएकाले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनाबमोजिम प्रेस सेन्टर सम्बद्ध सदस्यहरू बैठक छाडेर बाहिरिएको उनीहरुको आरोप छ ।

महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टर निकट सदस्यहरू बाहिरिएका थिए । तर कुनै रुलिङ नगरी पुरीले उनीहरूप्रति सद्भाव देखाएको महासंघका एक जना केन्द्रीय सदस्यले बताएका छन् ।

बैठकको प्रक्रिया सुरु नहुँदै महासचिवको योजनामा सेन्टर निकट सदस्यहरू आफ्ना धारणा राखेर बाहिरिएका थिए ।

महासचिवले बहिष्कारका नाममा बैठकअघि नै सेन्टर निकट सदस्यहरूलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागमा बार्गेनिङ गर्ने रणनीति बनाएको काँग्रेसीहरुको आरोप छ ।

असन्तुष्टीका कुरा बैठकमा राख्नुको सट्टा बैठक सुरु नहुँदै बाहिरिनु अमर्यादित भएको लेखा समिति सदस्य मुकुन्द भण्डारीले बताएका छन् ।

केन्द्रीय सदस्य रमेश खतिवडाले भने बैठक विधानसम्मत चल्नुपर्ने धारणा राखेका छन् । अवरुद्ध बैठक सुचारु गर्न पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

टिप्पणीहरू