भैरहवा भन्सारमा लक्ष्यभन्दा कम राजश्व संकलन

भैरहवा भन्सारमा लक्ष्यभन्दा कम राजश्व संकलन

मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पुस महिनामा भन्सार विभागले दिएको लक्ष्य पूरा गर्न सकेन । विभागले पुस महिनाका लागि ११ अर्ब तीन करोड १५ लाख रुपैयाँको लक्ष्य दिएकोमा कार्यालयले जम्मा नौ अर्ब ६१ करोड २२ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको हो ।

आर्थिक वर्ष २०७८÷७९को सुरुदेखि हरेक महिना लक्ष्यभन्दा बढी राजश्व संकलन गरिरहेको कार्यालयले पुस महिनामा ८७ दशमलव १३ प्रतिशत मात्र संकलन गरेको भन्सार कार्यालयले दिएको जानकारीमा उल्लेख छ ।

‘साउनदेखि हरेक महिना १० अर्बको हराहारीमा लक्ष्य थियो, कार्यालयले पनि त्यो पूरा गरिरहेको थियो । पुस महिनामा राजश्व संकलनमा कमी आएको छ । यसको एक प्रमुख कारण राष्ट्र बैकले लागु गरेको नयाँ प्रावधान नै हो,’ कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले बताए ।

पुस ५ गतेबाट लागु हुने गरी नेपाल राष्ट्र बैकले १८ वटा शीर्षकका विलासीका वस्तुहरूको आयातमा अनिवार्य प्रतितपत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुईवटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै लक्ष्यमा असर परेको उनको दाबी छ ।विलासी वस्तुहरूको आयातमा राष्ट्र बैंकले नयाँ प्रावधान ल्याएसँगै आयातमा कमी आएको छ । दैनिक ६ देखि ७ सय मालबाहक गाडी जाँच पास हुँदै आएको भैरहवा भन्सारमा पुस ५ गतेदेखि उक्त संख्या घटेर २ सय ५० हाराहारीमा झरेको छ ।

कार्यालयले साउन महिनामा १ सय ५ दशमलव ५८ प्रतिशत, भदौमा १ सय ९ दशमलव ५९ प्रतिशत, असोजमा १ सय १२ दशमलव ८० प्रतिशत, कात्तिकमा १ सय ३ दशमलव ६९ प्रतिशत र मंसिरमा १ सय १ दशमलव ०८ प्रतिशत राजश्व संकलन गरेको थियो । तर पुसमा लक्ष्यभन्दा १२ दशमलव ८७ प्रतिशत कम राजश्व संकलन भएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण समग्र व्यापारमा कमी आए पनि भैरहवा नाकामा खासै असर परेको थिएन । राष्ट्र बैकको नयाँ नियमले भने राजश्व संकलनमा असर गरेको सरकारी अधिकारीहरुको दाबी छ । कार्यालयलाई आर्थिक वर्ष २०७८÷७९का लागि विभागले एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख रुपैयाँको वार्षिक लक्ष्य दिएको छ । कार्यालयले ६ महिनामा कुल लक्ष्यको ५२ दशमलव ७२ प्रतिशत राजश्व संकलन गरिसकेको छ ।

टिप्पणीहरू