आज पनि संक्रमण उस्तै, राजधानीमा सबैभन्दा धेरै
केही सातायता उपत्यकामा कोरोना संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो समय उपत्यका कोरोनाको हटस्पट बनेको छ । भेटिएका संक्रमितको आधा संख्या उपत्यकामै देखिन्छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा चार हजार छ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा तीन हजार तीन सय ३४ जना संक्रमित थपिएका छन् । भक्तपुरमा चार सय ५५ र ललितपुरमा पाँच सय ८७ जना भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा मुलुकभर १० हजार तीन सय १९ जना संक्रमित भेटिएका छन् । २१ हजार दुई सय एक जनामा परीक्षण गर्दा उक्त संख्या भेटिएको हो ।
यो अवधिमा दुई हजार पाँच सय ४० जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ८९ दशमलव ७ प्रतिशत रहेको छ । मुलुकभर अझै ८२ हजार पाँच सय ५० जना सक्रिय संक्रमित छन् ।
कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार छ सय ५९ पुगेको छ । आज कोरोनाको कारण चार जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये दुई हजार आठ सय १४ जना युवायुवती छन् भने तीन सय ८४ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका एक सय २३ जना संक्रमित थपिएका छन् । तीन सय ७२ जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३८ हजार पाँच सय ८१ पुगेको छ । भक्तपुरमा पाँच हजार दुई सय १० र ललितपुरमा नौ हजार ९१ जना संक्रमित छन् ।
टिप्पणीहरू