भोल्टेज तलमाथि हुँदा अक्सिजन प्लाण्ट ठप्प
स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जडान गरिएको अक्सिजन प्लाण्टमा विद्युत भोल्टेज नपुग्दा सञ्चालनमा समस्या भएको छ । ३ सय केभिएको विद्युत आवश्यकता पर्ने भएकाले कार्यालयको प्लाण्ट सञ्चालनमा समस्या आएको हो ।
नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रमा विद्युतको क्षमता बढाउन पत्राचार गरिसकेको कार्यालय प्रमुख टिकाराम जैसीले जानकारी दिएका छन् । क्षमता विस्तारका लागि १० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ ।
प्राधिकरणले भने ५० शैयाको अस्पताल निर्माण भइरहेकाले पटकपटक क्षमता विस्तार गर्नुभन्दा पछि एकै पटक काम गर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा कार्यालयमा जेनेरेटर भए पनि त्यसलेसमेत प्लाण्ट संचालनमा आउन सकेको छैन ।
थप समस्या निम्तिने डरले जेनेरेटर प्रयोग नगरिएको प्रमुख जैसीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाका अनुसार कोभिड महामारीको समयमा प्लाण्ट सञ्चालनलाई प्रभावकारी बनाउन पहल भइरहेको छ ।
टिप्पणीहरू