सनक हैन सुविचारित सिकेको संघर्ष
मधेस राजनीतिमा विकसित नयाँ–नयाँ तरंगले भन्दैछ, पहिलाजस्तो सजिलो अब कसैलाई छैन । खुला राजनीतिमा सिके राउतको उदय, विरोधका नाममा उपेन्द्र यादवलक्ष्यित नयाँ–नयाँ विषयको उठानसँगै महन्थ ठाकुर–राजेन्द्र महतोबीच उत्पन्न विमतिका कारण अबको मधेस राजनीतिले कुन शक्ति र एजेण्डासँग आफूलाई ढाल्छ भनेर अनुमान लगाउन मुस्किल पर्दै गएको छ ।
०७४ का विभिन्न निर्वाचनको शक्ति सन्तुलनका आधारमा मूल्यांकन गर्दा मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपाको वर्चस्व देखिन्छ । तर, पछिल्ला समयमा सिके राउतले कृषि केन्द्रित भएर पूर्व–पश्चिमसम्म विरोधका गतिविधि चलाइरहेका छन् । त्यसमा भ्रष्टाचारको विषय जोडदारसँग उठ्ने गरेको छ । नेपालगञ्जमा कृषि मन्त्री महेन्द्र राय यादवको विरोध भयो । उनी कार्यक्रम गर्न नसकेर त्यहाँबाट हिँडे ।
पछि भौतिक योजना मन्त्री रेणु यादवले गौर हत्याकाण्डको स्मरण गर्दै केही अभिव्यक्ति दिइन्, जुन राजनीतिकबृत्तमा विवादास्पद बनेको छ । रेणुले त्यो कुरा नबोलेको भए पनि हुन्थ्यो । तर, नबोल्दा पनि निरीहता देखिने कारण उनले बोलिन् । यद्यपि, जे बोलिन्, त्यो आपत्तिजनक भयो ।
यो घटनापछि मधेसमा लुकेर रहेको सिके राउत र उपेन्द्र यादवबीचको द्वन्द्व सतहमा प्रकट भएको छ । यसको सन्देश हो, अब मधेसमा उपेन्द्र र महन्थबीच हैन, उपेन्द्रसँग सिकेको टक्कर चल्ने भयो । यसप्रकारको द्वन्द्व अलिक पहिलादेखि नै थियो । केपी ओलीले सिकेलाई मूलधारमा ल्याए । विखण्डनकारीलाई ओलीले मूलधारमा ल्याए भनेर मधेसमा आलोचना पनि भएको हो ।
यसका पछाडि लुकेको पक्ष हो मधेसवादी पार्टीहरुलाई कमजोर बनाउन उनलाई शिखण्डी बनाउने । पहिला सिकेलाई मूलधारमा ल्याउनुका पछाडि अरु मधेसवादीलाई कमजोर बनाउने ओलीको मनशाय हो भन्ने कुरा मान्छेहरुले ख्याल गरेनन् । ओलीले चाहेको भए सिकेलाई जेलभित्रै थुनेर सोत्तर पार्न सक्थे । तर, उनले प्रधानन्यायाधीश चोलेन्द्र समशेरसँग सेटिङ मिलाएर आजको भोलि नै छुटाई सिकेलाई प्रतिस्पर्धामा ल्याइदिए ।
केटाकेटीले पनि बुझ्ने कुरा के हो भने जसपाको वर्चस्व नखोसी सिकेले आफ्नो प्रभाव बढाउन सक्दैनन् । उनले वर्चस्व स्थापित गर्नकै लागि मधेस प्रदेशको सरकार र स्थानीय सरकारको भ्रष्टाचार जोडदार रुपमा उठाएका हुन् । यसअघिका वक्तव्यमा सरकारमाथि आरोप लगाए, जुन ९९ प्रतिशत भ्रष्टाचारसँग सम्बन्धित थियो । त्यसतर्फ कसैको ध्यान गएन । किनभने, त्यो ‘चोरको बस्तीमा चोर खोज्ने’ कामजस्तो थियो । तर, उनले कुरा उठाइरहे ।
एकजना कर्मचारीलाई भाटा हान्ने काम पनि भयो । जनकपुरमा त जुलुस नै निकाले । तर, त्यो कुरालाई कसैले पनि ध्यानमा राखेनन् । अहिले कृषिको कुरा उठाएका छन् । मुद्दाकै हिसाबले यो बिकाउ छ । उनले लक्ष्यित गरेका तीनै निकाय जसपाको हातमा छ । मधेसमा मलखाद र वीउबिजनमा केही स्थानीय समस्या छन् । सरकारले थोरै मल दियो भने पनि नगरपालिकाहरुले वितरण गर्छन् । कृषिमा अनुदान नगर र गाउँपालिकाहरुले दिने हुन् । र, यी तीनै निकायमा जसपा हावी छ ।
त्यसमाथि संघीय सरकारका कृषिमन्त्री महेन्द्रराय यादव जसपाकै भए । प्रदेश सरकारका मुख्यमन्त्री र कृषिमन्त्री पनि उनकै । बहुसंख्यक स्थानीय तह जसपाकै । त्यसै सोची–विचारिकन सिके उपेन्द्र यादवविरुद्धमा गएको देखिन्छ । अहिले विरोध खतिवडाको विरोध गर्दा शेरबहादुर देउवाको विरोध गरेको हुन्छ भनेजस्तो मधेस प्रदेश सरकार वा त्यहाँ स्थानीय सरकारका अनियमितताको विरोध गर्नु भनेको उपेन्द्र यादवकै विरोध हो ।
तर, उपेन्द्र यादवका हातमा पनि सयवटा भाटा छन् । गुण्डागर्दी गराउनेदेखि अनेकन अस्त्र छन् । । त्यहाँ कसैले भ्रष्टाचार ग¥यो भने बोल्न पाउँदैनन् । कसैले बोल्यो भने स्थानीय तहले पालेका गुण्डाले ठीक पार्छन् । यस्तो चलन पहिला–पहिला पश्चिम बंगालमा ज्योति बसु मुख्यमन्त्री हुँदा थियो । अहिले ममता बनर्जीको तृणमूल कांग्रेसले त्यो बिँडो थामेको छ । बिहारी राजनीतिमा स्थापित हुन लालु यादवले पनि त्यसै गरे । आफ्नो विरोध नसहने शैलीको अनुशरण केही वर्षयता उपेन्द्र यादवले गरिरहेको आरोप छ ।
अर्कातिर, ‘बेटी बचाऊ’ अभियानका नाममा भएको अनियमिततालाई लिएर अख्तियारले मधेस प्रदेशका मुख्यमन्त्रीमाथि निशाना लगाएको छ । त्यसबारे अख्तियारको बर्दिबास कार्यालयले वक्तव्य नै निकालेको हो । तर, शेरबहादुर प्रधानमन्त्री भएपछि त्यो कामबाट अख्तियारलाई रोक्नुभएको छ ।
टिप्पणीहरू