गिट्टी बिक्री नहुँदा हलियालाई छाक टार्न सकस

गिट्टी बिक्री नहुँदा हलियालाई छाक टार्न सकस

बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलिया समुदायले वर्षौदेखि ढुङ्गा फुटाएर जीविकोपार्जन गर्दै आएका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष वित्दापनि उनीहरुको उचित व्यवस्थापन नहुँदा कष्टपूर्ण जीवन बिताउन विवश हलियाहरूको अवस्था झन् नाजुक बन्दै गएको छ ।

सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा ढुङ्गा फटाएर पेट पाल्दै आएको उनीहरुको गुनासो छ । स्थानीय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउँने सेवासुविधासमेत पाएका छैनन् ।

बुढीनन्दा नगरपालिका–६ दैया घर भएकी खड्के विककी आमा शारीरिक अपाङ्ग छिन् । आमाबुवालगायत १४ जना परिवार पाल्न खड्के विकलाई निकै समस्या छ । थोरै जमिन थियो, त्यही जमिनसमेत बड्डीगाड खोलाले बगाएर लगेपछि अहिले ढुङ्गा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको विकले बताए ।

स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट वञ्चित हुँदै आएको उनको गुनासो छ । हलियाले पाउने भनेको राहतसमेत पाउन नसकेको अर्को हलिया सगुने विकले बताए । परिवारको पेट पाल्नका लागि बड्डीगाड खोलामा दिनभरी ढुङ्गा फुटाउने र त्यही बेचेर परिवार पाल्दै आएको विकको भनाइ छ ।

पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुङ्गा फुटाएपनि बिक्री नहुँदा हलिया समुदाय मारमा परेको छन् । उनीहरु मात्र हैन दैयाका हलियाहरू दिनभरी कामको लागि विभिन्न ठाउँमा भौँतारी रहेका हुन्छन् । तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्किन्छन् ।

टिप्पणीहरू