चढ्ने कार, लगाउने टाइ, सागमै स्याइँस्याइँ
– अधिवक्ता प्रेमराज सिलवाल
गुम्म हुस्सु लागेको चिसो राजधानी काठमाडौँका गल्लीमा बिहानै खर्पन वा डोकोमा भक्तपुर, ललितपुर तथा आसपासका स्थानबाट रायो र अन्य प्रकारको सागसब्जी बोकेर शहरबजार डुलाउने मिहिनेती श्रमजीवी बिक्रेताहरूलाई नवधनाढ्यले गर्ने व्यवहार हेर्दा हामी कस्तो खाले खरिद तथा सामाजिक संस्कृतिको विकास गर्दैछौं भन्ने सवाल उठ्छ ।
आफूलाई घरमा काजीसाहेव, साहेबनी, रानीसाहेब, घरधनी आमा तथा बाबुसाहेव आदि भनाउने शहरियाहरू रायोको साग रु. २० को दुई मुठा कि एक मुठा भनी मोलमोलाइ गर्दै गरेको देख्दा निमुखा गरिबको मन कुँडिने गरेको छ । विभिन्न पेशा गरेका र पढेका मान्छेको त्यो खाले खरिद संस्कृति उराठलाग्दो छ ।
मुख्यतः काठमाडौं उपत्यका तथा देशका ठूला शहर समेतमा जाडो मौसमबीच रायो तथा चमसुर पालुङ्गोको ठूलो बजार तथा माग रहेको पाइन्छ । स्वास्थ्यका हिसाबले पनि साग सबै उमेर समूहका मानिसको लागि लाभप्रद हुने गर्छ । सामान्यतयाः साग सबै खालका बिरामीका लागि उत्तम तथा उपयोगी मानिएको छ । माछामासु नखानेहरूका लागि त साग सब्जी अरु प्रिय हुने नै भयो ।
युरोप–अमेरिकातिर त मासुभन्दा सागसब्जी नै महँगो छ । बजारमा धनी वर्गले सोखले वा भेराइटीको हिसाबले साग खान्छन् भने मध्यम वा शहरिया गरिब वर्गले खर्च व्यवस्थापन एवं स्वास्थ्यका दृष्टिले लाभकारी हुने भएका कारण बढी साग खाने गरेको पाइन्छ ।
शहरका गरिब, मजदुर, श्रमिक, पढ्न गाउँबाट आएर बसेका विद्यार्थीले भने महँगीको बाध्यताका कारण ‘सस्तो’ खाने हिसाबले पनि सागसब्जी खरिद गर्ने गरेको पाइन्छ । यसरी सवै हिसाबले सागको माग र आपूर्ति शहरमा अधिक छ । शहरमा साग बिक्री गर्ने मूलतः त्यसआसपास कांँठ भेगका तथा भित्रका किसान हुने गरेका छन् । काँठका महिला बिहानै ‘ल आयो साग, साग !’ भन्दै चिसो हुस्सु लागेको शहरका गल्ली घुमिरहेका देखिन्छन् ।
उता शहरकै किसानसमेत खर्पन आदिमा साग सब्जी राखेर ‘ल, हजुर साग’ भन्दै पेटीपेटी घुमिरहेका पाइन्छन् । बजारमा ‘साग सब्जीको मोलमोलाइ’ गरिरहेको भने हेर्नलायक हुन्छ । सागको मोल गरेर नथाक्ने ठूला साहेब र साहेबनीहरूले महँगा तथा घरायसी उपभोग्य वस्तुमा भने व्यापारी वा पसले वा सुपरमार्केटले तीन चार सय गुणासम्म बढी मूल्य लिए पनि चुपचाप लुरुक्क पर्दै खरिद गर्ने गरेको देखिन्छ ।
त्यस्ताहरूलाई ठूला पसलमा मोलमलाई गर्दा इज्जत जान्छ । त्यसैले कतै बोल्नै चाहँदैनन् । साहेब्नीहरू कारबाट खत्रक्क ओर्लेर मोलमोलाइ गर्दै भन्ने गर्छन्, ‘यो साग बीसको कति मुठा हो ?’ ‘दुई मुठा देऊ न ।’ ‘ह्या ! के भनेको धेरै महँगो भयो ? बीसको दुई मुठा देऊ न !’ ‘घाटा पर्छ हजुर दुई मुठा त आएन नि !’ यसरी मोलमोलाइ गर्दै ठूला मान्छेले खर्पने, डोके वा साधारण विक्रेतालाई कसिरहेको देख्न सकिन्छ ।
यद्यपि, त्यस्ता महाशयहरूलाई सुपरमार्केटको सपिङमा कतै बार्गेनिङ गर्ने तागत पुग्दैन । बोल्दै बोल्दैनन्, बोल्नै सक्दैनन् वा बोल्नै चाहँदैनन् । लुरूलुरू ट्याग लगाएकै मूल्यमा सामान किनेर ल्याएका हुन्छन् । बजारमा सजाइएका ज्याकेट, प्यान्ट, स्वेटर, नयाँ हेल्मेट, जुत्ता, विदेशी प्याकिङ फुड, खेलौना, चकलेटदेखि होटेल–रेष्टुरेण्टको बर्गरदेखि ‘पिज्जा’ सम्म कतै पनि मोलमोलाइ गर्न सक्दैनन् ।
तर, तिनै साहेब–साहेब्नीहरू खर्पनवालाकोमा वा डोकोवालाकहाँ आएर बीसको कति मुठा साग हो ? भन्दै भयंकर मोलमोलाई गर्दै गरेको देख्न सकिन्छ । यो खालको तरिका वा संस्कृतिलाई के भन्ने ? पश्चिमीकरण तथा आधुनिकीकरणको असर तथा प्रभावबाट पूरै प्रभावित मानिसले आधारभूत तहका मानिस वा पेशाकर्मीप्रति किन यस्तो व्यवहार गर्छन् ? जहिल्यै देखिन्छ–कार वा ठाँटसँग बजारमा अन्य वस्तु खरिद गर्दै हिँड्छन् ।
सामान्य उदाहरण हेरौं–होलसेलमा १ हजारको हाराहारीमा पाइने जुत्तालाई ठूला पसल वा सुपरमार्केटमा चार हजारमा खुशीले किन्छन् । उनीहरूलाई लाग्छ–त्यस्तो बजारमा घटाउँदा इज्जत जान्छ ! अर्थात् बिक्रेताले धेरै नाफा लिएर पनि बेचेको हुन सक्छ ।
त्यहाँ घटाउने हिम्मत कसैको छैन । यस हिसाबले शहरका धनी उपभोक्ताले सपिङ मल तथा बजारबाट खरिद गरी ल्याएका सामानको थोक मूल्य एवं बजार मूल्यमा कति अन्तर रहेको होला अनुमान लगाउन सकिन्छ । यहाँ बार्गेनिङ गरी मूल्य घटायो भने सानो पो भइन्छ कि ? अथवा कसैले के भन्ला कि ? भन्ने खालको लघुताभाष शहरियामा रहेको अनुभूति गरिँदै आएको छ ।
टाइसुटवालादेखि कारवाला र मोटरसाइकलवालासम्म तथा चप्पलवालासम्मले साग खरिदमा गर्ने तथा अन्यत्र ‘सपिङ मल तथा मार्केट’ मा गएर गर्ने खरिदको तरिका प्रायः यस्तै प्रकारको पाइन्छ । धनी, मध्यम एवं गरिब सबै वर्गले खाने साग जुन किसानले उत्पादन गरेका हुन्छन् त्यो खरिद गर्दा यसरी ‘होचाको मुखमा घोचो !’ भन्ने जस्तो व्यवहार गरिन्छ ।
शहर बजारका ठूला धनी मान्छे, वा बुझेका साहेब–साहेब्नीहरूले देखाएको यसप्रकारको व्यवहारले सागसब्जी बिक्रेतालाई त धनी बनाउन सक्दैन नै तर खरिदकर्तालाई पनि यसप्रकारको संस्कृतिबाट पैसा बचत गरी थप धनी बनाउन सक्दैन ।
ठूला बजार तथा सपिङ मलवाला जहिल्यै मोटाउने, गरिब र सामान्य बिक्रेताले भने पेट पाल्न नसक्ने यसप्रकारको हाम्रो खरिदको संस्कार र संस्कृति कति ठीक होला ? गम्भीर प्रश्न खडा भएको छ । यस्तो संस्कार र संस्कृति स्वयं धनीकै लागि पनि नसुहाउने खालको देखिन्छ । पढेलेखेका, धनी, शहरिया वर्गले आफ्नो खरिद प्रचलन तथा सोचमा व्यापक परिवर्तन ल्याउनु आवश्यक छ ।
गरिब किसानले उत्पादन गरेको सागमा मोलमोलाइ गर्नुको सट्टा बजारका अन्य घरायसी एवं उपभोग्य सामान सचेत भई गुणस्तर र दररेट हेरेर मात्र खरिद गरे उपभोक्ता अत्यधिक ठगिनबाट जोगिने थिए । स्वास्थ्यका लागि अति नै महत्वपूर्ण मानिएको सागसब्जीमा मोलमोलाइ गर्नुको कुनै अर्थ र औचित्य देखिँदैन ।
बरु त्यस्तो सागसब्जी कति गुणस्तरको छ ? त्यो हेर्ने र छान्ने गर्नुचाहिँ आवश्यक र उचित नै हो । कस्तो प्रविधिले उत्पादन गरेको हो जान्नु, बुझ्नु स्वास्थ्य तथा धनका हिसाबले पनि सबैका लागि उपयुक्त हुन सक्छ । खानेकुराको गुणस्तर हेर्ने कुरालाई भने राम्रो संस्कृति मान्नुपर्छ ।
१० हजारदेखि लाखौंको खरिदमा चुपचाप लागेर बिनाकुनै मोलमोलाइ खरिद गर्ने मान्छे नै सडकमा बिक्रीका लागि राखिएको सागसब्जी बीस रूपैयाँको कति मुठा दिने हो भनी बार्गेनिङ गर्दै छन् । लेखको आशय बार्गेनिङ गर्नुहुन्न भन्ने होइन । चिसो हुस्सु लागेको बेला खेतबाट वा काँठ वा टाढाबाट खर्पन वा डोकोमा साग बोकेर धनीका ढोकामा ल्याउने मिहिनेती र श्रमजीवीको श्रमको अपहेलना नगरौं । बरू सम्मान गर्ने संस्कृति बसालौं ।
अर्कालाई होच्याएर सागसब्जीमा मोलमोलाइ गर्ने संस्कृतिले शहरबजारका ठूला साहुजी र पैसा कमाउने वर्गलाई कहिल्यै धनी तथा सम्पन्न बनाउनचाहिँ सक्दैन ।
टिप्पणीहरू