यस्तै पाराले जोगिन्छ सिमसार क्षेत्र ?

यस्तै पाराले जोगिन्छ सिमसार क्षेत्र ?

-गणेश लम्साल

— गत माघ ३ गते महोत्सवको बहानामा हेभी साउण्ड सिस्टमसहित भारतीय डिजे कलाकार बोलाएर मनोरञ्जन गर्न खोज्दा सुनसरीको बर्जुगाउँपलिका ६ चिमडीस्थित बर्जु सीमसार क्षेत्रमा हिंसात्मक घटना भयो । चार वटा भारतीय जीपमा आगजनी गरिए । साउण्ड सिस्टम र स्टेज तोडफोड हुँदा तीन करोड बढीको क्षति भएको आयोजकको आरोप छ ।

— हरेक वर्ष हिउँद लागेसँगै देशभरका अनेकौं सीमसार क्षेत्रमा वनभोज खाने बहानामा मदिरापान,होहल्ला र चर्को ध्वनी प्रदुषण फैलाउने गरिन्छ । यो क्रम वर्षेनी बढ्दो छ ।

— हरेक वर्ष विभिन्न टापु,पोखरी, वन क्षेत्र र नदी किनारमा तडकभडकसहित वनभोज खानेहरुको लर्को लाग्ने गर्छ । कसैले पनि पर्यावरणीय क्षेत्रमा फोहोर र होहल्ला गर्नुहुँदैन भन्ने हेक्का राख्दैनन् । बरु जति धेरै वनभोज टोली आए त्यति धेरै ठाउँ प्रसिद्ध भएको र विकास हुन थालेको ठान्ने गरिएको छ ।

माथिका केही घटना र उदाहरणले प्रष्ट पार्छ कि हिजोआज सिमसार र पर्यावरणीय क्षेत्रहरु ‘दिन दुई गुणा रात चौगुणा’ ले मनोरन्जनस्थलका रुपमा प्रयोग हुने क्रम बढिरहेको छ ।

संरक्षणको महत्वलाई बेवास्ता गर्दै स्थानीय पालिकाहरुले सीमित आम्दानी र प्रचारप्रसारको लोभमा सिमसार क्षेत्रलाई तडकभडकसहित होहल्ला गरेर रमाइलो गर्ने ठाउँका रुपमा मात्रै प्रयोग गर्दैै आइरहेका हुन् । यद्यपि स्थानीय जैविक विविधता र पर्यावरण संरक्षणका लागि भनेर करोडौं खर्चेर स्थानीय सिमसार क्षेत्र संरक्षण गरिएको हुन्छ ।

राष्ट्रिय सिमसार संरक्षण नीति २०५९ अनुसार स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सिमसारको पर्यावरणीय महत्वलाई असर पुरयाउने गरि ध्वनी प्रदुषण गर्न, फोहोर फ्याँक्न, जमिन अतिक्रमण गर्न पाईंदैन । र, सिमसार क्षेत्रभित्र कंक्रिटका संरचनाहरु कुनै हालतमा बनाउन पार्इंदैन ।

तर हिजोआज पालिकाहरुले संरक्षण गरेका भनिएका सबै सिमसार क्षेत्रमा ठूला साउण्ड बक्स बजाएर नाचगान, होहल्ला गरेर पिकनिकस्थलका रुपमा प्रयोग भइरहेका छन् । मनोरञ्जनस्थलको बहानामा सिमसार क्षेत्रको जमिन पनि अतिक्रमण हुने गरेका छन् । होटल, पसल र मनोरञ्जनस्थलका लागि भन्दै तँछाडमछाड गर्दै सिमसार क्षेत्रभित्र क्रंक्रिटका संरनाहरु बनाउन थालिएको छ ।

यसोगर्दा पालिकाहरुलाई सीमित आम्दानी हुने र मानिसको आवतजावत बाक्लिँदा स्थानीयलाई व्यपारबाट केही फाइदासमेत हुने गर्दछ । सँगै सीममारमा चहलपहल बढ्न थालेपछि जग्गा किनेबेच गर्नेहरुले ‘विकास’ आएको बहाना बनाउँदै आसपासका जमिनहरु ‘घडेरी प्लटिंङग’ मा बिक्री गर्ने गरेका छन् ।

विज्ञहरुका अनुसार पानी भएको दलदले, धापिलो वा ओसिलो ठाउँलाई सिमसार भनिन्छ । सिमसारको परिभाषाभित्र ताल–तलैया, नदी किनार र धानखेत आदि पर्छन् । नेपालमा मानवको अव्यवस्थित बसोवास र विकासको गलत बुझाइले सिमसार क्षेत्रहरु दिनप्रतिदिन नासिँदै गइरहेका छन् ।

अर्कोतिर सिमसार भनेको एक रसिलो भूमि हो जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । यसैले सिमसारको विशेषता भनेकै पानी र जमिन हो । जसले पर्यावरण सन्तुलनका लागि महत्वपूर्ण भूमिका खेल्छ । विश्व संरक्षण संघ नेपालद्वारा प्रकाशित तथ्यांकअनुसार नेपालको तराईमा १ सय ६३ सिमसारस्थल छन् । ७९ वटा सिमसार हिमाली र पहाडी क्षेत्रमा छन् । यी सिमसारमा सयौं प्रकारका पंक्षीहरुसँगै ८० प्रजातिका घस्रने वन्यजन्तुहरू बसोवास गर्दछन् ।

अध्यनअनुसार सिमसारलाई सबैभन्दा बढी उत्पादनशील परिस्थितिकीय प्रणाली मानिन्छ । यसले भू–क्षय न्यूनीकरण, पानी शुद्धीकरण एवं भण्डारण, बाढीको पानी संकलन एवं रोकथाम र खोलाको पानीको बहाव नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका खेल्दछ । सिमसारले वातावरण सन्तुलनको काममा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

सिमसार क्षेत्रको लोपसँगै वन्यजन्तुहरू संकटमा पर्न थालेका छन् । यसैले वन्यजन्तु संरक्षणमा सिमसार क्षेत्रको भूमिका महत्वपूर्ण भएको हो । तर वातावरण विनाशको कारण तराईको सिमसार क्षेत्रको संख्या दिन प्रतिदिन घटिरहेको छ । यसैले ती क्षेत्रका संरक्षण वर्तमान अवस्थामा विशेष महत्वपूर्ण मानिन्छ ।

मानव सभ्यताको विकास नै पानीबाट भएको मानिएको छ । अर्कोतर्फ, सिमसार जैविक विविधताको घर पनि हो । जहाँ चराचुरुङ्गीदेखि विभिन्न प्रजातिका जलचरको बासस्थान हुन्छ । सिमसार नासिँदा जैविक विविधताको घर पनि नष्ट हुन्छ । वातावरणमा खलल पुग्छ ।

र, त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्दछ । सिमसारलाई सही ढंगले संरक्षण गर्न सके वातावरण संरक्षण मात्र नभई पर्यावरणीय पर्यटनको विकास गरेर आर्थिक फाइदा समेत लिन सकिन्छ ।

पर्यावरण सन्तुलन र जैविक विविधताको संरक्षणका लागि सिमसारको महत्व धेरै हुने भएपछि तराईमा संरक्षित सिमसार क्षेत्रलाई कुनै खेत, कतै घडेरी र कतै माछापालनमा प्रयोग गर्ने गरिएको छ । अर्कोतर्फ सिमसारलाई बनभोज खाने र नाचगान गर्ने स्थानका रुपमा प्रयोग गर्ने गरिएको छ ।

यसबाट दिन प्रतिदिन बढ्दै गएको प्रदूषणले त्यस्ता सिमसार क्षेत्र नासिँदै गएका हुन् । नीति विपरितको प्रयोगले सिमसारको जैविक विविधतामा ह्रास आउन थालेको छ । मानव श्रृजित कोलाहलले चराहरूको मनोरम आवाज र कोकिल कण्ठबोली सिमसारबाट हराउन थालेका छन् ।

वतावरण विज्ञहरुका अनुसार गाउँ र नगरपालिकाहरुले सिमसारलाई राजश्व संकलन र विकासको बहानामा पर्यावरणीय विनासको माध्यम बनाउनु हुँदैन । मनोरञ्जनस्थल पनि सिमासार बाहिरै बनाएर प्रकृतिलाई होहल्लारहित ढंगले अध्ययन र अवलोकन गर्दे घुमफिर गर्ने स्थलका रुपमा मात्र विकास गरिनुपर्दछ ।

यसैले सिमसार र पर्यावरणीय क्षेत्रको दीगो संरक्षणका लागि संघ, प्रदेश र पालिका तीनै तहका सरकारले दण्ड व्यवस्था सहितको विशेष नीति नै बनाएर कार्यान्वयन गराउन आवश्यक देखिएको हो । सिमसार र पर्यावरणीय क्षेत्रको संरक्षणमा करोडौ खर्चिए पनि उपयोगमा भने माल पाएर चाल नपाए जस्तो भइरहेको छ । सिमासार र पर्यावरणीय क्षेत्रको उचित संरक्षणका लागि सरकारले हस्ताक्षर गरेको अभिसन्धि पालना गर्न गराउनेतर्फ सम्बन्धित निकायको चासो नदेखिनु दुःखद् पक्ष हो ।

टिप्पणीहरू