अनलाइन जुवा खेल्ने ७४ जना समातिए
अनलाइन जुवा खेलमा संलग्न रहेका ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई हिजो बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् ।
दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापामारी उनीहरूलाई समातेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले बताएका छन् ।
प्रवक्ता मैनालीका अनुसार उनीहरूको साथबाट खेलमा प्रयोग गर्ने सामाग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र प्लास्टिकको बट्टाभित्र रहेको ७० हजार नगदसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरिएको छ ।
उनीहरुमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसूर अन्तर्गत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू