एमसीसीलाई लिएर सत्ता गठबन्धनका दुई नेताको चर्काचर्की
एमसीसी सम्झौतालाई लिएर सत्ता गठवन्धनमा मैतयक्यता हुन नसकिरहेका बेला गठबन्धनका दुई प्रभावशाली नेता सामाजिक सञ्जालमा चर्किएका छन् । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठबीच एमसीसीको पक्ष-विपक्षमा सामाजिक सञ्जालमा अप्रत्यक्ष चर्काचर्की परेको हो । यी दुबै नेता यौटै जिल्ला गोर्खाका र यौटै पार्टी माओवादीका पूर्व उपाध्यक्ष पनि हुन् ।
शुरुदेखि नै एमसीसी अनुमोदनको लाइनमा उभिएका डा.भट्टराईले हिजो सामाजिक सञ्जालमा एमसीसी पास गर्न गठबन्धनमा सहमति जुटेको आशयसहितको भनाइ राखेका थिए । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले बिना आलटाल तुरुन्त एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं, सबै एकमुख भएर जनतालाई बुझाऊँ,यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस्,देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्,शक्ति केन्द्रहरूको चलखेलबाट देश बर्वाद नहोस् ।’
“उनले आफ्नो पार्टी यथास्थितिमा एमसीसीको पक्षमा नरहेको समेत प्रष्ट पारे ।”
लगत्तै माओवादी नेता श्रेष्ठले एमसीसीबारे सत्ता गठवन्धनमा सहमति नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पारित नगरे गठबन्धन तोड्ने भनेर बाहिर आएको कुरा गलत रहेको बताउँदै उनले आफ्नो पार्टी यथास्थितिमा एमसीसीको पक्षमा नरहेको समेत प्रष्ट पारे ।
‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन । कम से कम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन’, आफ्नो फेसबुकमा उनले लेखेका छन् ।
नेता श्रेष्ठले माओवादीका लागि गठबन्धनभन्दा राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको सवाल महत्वपूर्ण हुने भन्दै गठबन्धन जोगाउनका लागि एमसीसी पास गर्न तयार नहुने संकेत पनि गरेका छन् । ‘हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहन्छ,साथै राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसको निम्ति दृढ रुपमा प्रतिबध्द छ’, उनले लेखेका छन्, ‘अन्य सबै बिषय त्यस मातहत रहनेछन् ।’
यसअघि प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरुसँगको छलफलमा एमसीसी पास गर्न सरकारलाई नसघाए गठबन्धन टुट्ने चेतावनी दिएको समाचार बाहिरिएको थियो । त्यसैलाई लिएर बाहिर अनेक चर्चापरिचर्चा भैरहेका बेला भट्टराई र श्रेष्ठको परस्पर विरोधी धारणा आएको हो।
टिप्पणीहरू